शुक्रबार राति वराहक्षेत्र-२ पुनरबास पारुहाङ चोककी रसु श्रेष्ठले गाउँ प्रवेश गरेका २३ वटा हात्ती गन्न भ्याइन् ।  वराहक्षेत्र २ रमाइलो चोकका नवराज राईले २२ वटा हात्ती गाउँ पसेको बताए । दुई दिनदेखि गाउँ प्रवेश गरेका हात्ती दिउँसो जङ्गलतिर, रात परेपछि गाउँतिर आउने गरेका छन् । हात्ती कोठेबारी पसेर बिझाइँ गर्न थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् ।

शुक्रबार राति २ बजे पुनर्बास पसेका हात्ती साढे ३ बजेसम्म गाउँमा बिझाइँ  गरेर रमाइलो चोक हुँदै नडाहा प्रवेश गरेको स्थानीय मणिराज राईले बताए ।

गाउँका आलु, लसुन, केरालगायतका अन्नपात खाइदिने र घेराबेरा भत्काइदिएकाले स्थानीयले आफ्नो अन्नबालीमा क्षति भएको गुनासो गरेका छन् । 'रातभर बिझाइँ गर्दै जाँड खाँदै जङ्गल पसेका छन् । 'स्थानीय राईले भने ।

स्थानीय निरु राईको भान्छा घर भत्काएर चार ड्रम जाँड खाएको स्थानीयले बताएका छन् । त्यस्तै पुनर्बास क्षेत्रमा घरलौरी हात्ती पसेर बिझाइ गरेका छन् ।

वराहक्षेत्र- २ का बुद्ध चोक, शान्ति चोक, कौशिका सामुदायिक वन र आदर्श सामुदायिक वन, रेल्वेलाइन हुँदै  पुनर्बासका बस्तीमा हात्ती प्रवेश गरेका हुन् । ४० को सङ्ख्यामा जङ्गली हात्ती गाउँ प्रवेश गरेको स्थानीयले बताएका छन्  ।  हात्ती धपाउन आगो बाल्ने र साइरन बजाउने जुक्ति लगाइएको प्रहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट यस वर्षमात्रै वराहक्षेत्रमा दुई जना स्थानीयले ज्यान गुमाइसकेका छन् । हात्तीको बिझाइँबाट भएको क्षतिको यकिन तथ्यांक भने स्थानीय सरकारसँग छैन ।

हात्ती नियन्त्रणका लागि भोलि (आइतबार) वराहक्षेत्रको २ नम्बर वडा कार्यालयमा प्रमुख जिल्ला अधिकारी, डिभिजन वन अधिकृत, हात्तीपीडित पालिकाका प्रमुखसहित स्थानीयको भेला डाकिएको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।