धरान–१४ स्थित विजयपुरमा पर्ने बूढासुब्बा मान्छेको धार्मिक आस्थाका लागि त प्रख्यात छ नै, यो ऐतिहासिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घण्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका हुन् । उनले भने, ‘बूढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।’
सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आइपुपुगेकी थिइन् । उनी पनि बूढासुब्बाप्रति अगाध आस्था रहेको बताउँछिन् । परिवारसँगै बूढासुब्बा मन्दिरको दर्शन गर्न आएकी गुरुङले भनिन्, ‘बूढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ ।’ धरानको विजयपुरस्थित बूढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बूढासुब्बा दर्शन गर्न आउने तीर्थालुहरूको सङ्ख्या बढिरहेको छ । बूढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरू पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरू उत्तिकै हुन्छन् ।
सुनसरीको इटहरीबाट दर्शनका लागि बूढासुब्बा मन्दिर आएकी सुनिता राई आफू धेरैपटक बूढासुब्बा आइसकेको बताउँछिन् । उनी भन्छिन्, ‘हामी त वर्षैपिच्छेजस्तो भाले चढाउन यहाँ आउँछौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरू पनि पूरा भएकै छन् । बूढासुब्बाप्रति गहिरो आस्था छ ।’ २०६४ सालदेखि बूढासुब्बा मन्दिरको द्वारबाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आएका प्रेमप्रसाद पराजुली भूटान र वर्मादेखिका भक्तजनसमेत बूढासुब्बा आउने गरेको बताउँछन् । बूढासुब्बामा दर्शन गर्न आउनेहरूको सङ्ख्या बर्सेनि बढिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिला बूढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर, अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन् । अहिले बूढासुब्बा सबैका साझा देउता भएका छन् ।’
एक दशकअघिसम्म बूढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ । अहिले युवापुस्तामाझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ । टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बूढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरू अनुभव सुनाउँछन् ।
बूढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ । बूढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बूढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उनको भनाइ छ । कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् । यो मन्दिरमा हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बीका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आले बताउँछन् । ‘हिन्दू धर्मावलम्बीहरू बूढासुब्बालाई किरातेश्वर महादेवका रूपमा पूजा गर्छन्’ आले भन्छन्, ‘किरात धर्मावलम्बीहरूमध्ये कसैले यलम्बरको प्रतीकका रूपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रूपमा पनि पूजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरूसमेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन् ।’
बूढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बूढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ । बूढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाडेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बूढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ । बूढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बूढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरू अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बूढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ । कवि लक्ष्मी आचार्यले बूढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाथी भनेकी छन् । महाभारतको कथामा धनुर्विद्याका गुरु द्रोणाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि द्रोणाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा द्रोणाचार्यले बूढीऔंला चढाउन लगाएको कथा पाइन्छ । तिनै द्रोणाचार्यलाई आफ्नो बूढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरूमा उल्लेख गरे ।
इतिहासकारहरूले भने बूढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ । इतिहासकारहरूले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्यापछि १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ । वि.सं. १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बूढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमानसिंह चेम्जोङले लेख्नुभएको छ । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ । मन्दिरनजिकै माला तथा फूलको व्यापार गर्दै आउनुभएका प्रेमप्रसाद पराजुली पहिला बूढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाउने गरेको तर, गाँजा प्रतिबन्ध भए पनि हाल चढाउन छाडिएको बताउँछन् । बूढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरूको विश्वास रहेको बताउँदै उनी भन्छन्, ‘अहिले भक्तजनले आफ्नो कामना पूरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात् बूढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’
उनी बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउँछन् । बूढासुब्बामा टाढाबाट आउने भक्तजनलाई बासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ । इतिहासअनुसार पनि बूढासुब्बाको इतिहास दुई सय वर्षभन्दा बढी देखिन्छ । बूढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उनीहरूले १७ औँ पुस्तादेखि मन्दिरमा पूजाआजा गर्दै आएका छन् । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् । उनी भन्छन्, ‘जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आ–आफ्नो आस्था हो ।’ मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउँछन् । पूजाका लागि दैनिक आवश्यक पर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी सङ्कलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् ।
पुजारी आले खलकका तीन परिवार छन् बूढासुब्बामा । उनीहरू बर्सेनि पालैपालो पूजा गर्छन् । जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु¥याउनु पर्ने अवस्था रहेको सचिव आले बताउँनुहुन्छ । यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन । मन्दिर क्षेत्रमा ४० हाराहारीमा फूल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाइ कर्मचारी राखेको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उनी बताउँछन् ।
केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ । बूढासुब्बाका बाँसमा जथाभावी नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ । मन्दिरको भेटी र पसलहरूको भाडाबाहेक सरकारी तवरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । उनी बूढासुब्बा मन्दिरमा दर्शनार्थीहरू बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउँछन् । मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ ।