धरान । नेपालमा रोजगारी नपाएको भन्दै विदेशिनेहरू युवायुवतीको सङ्ख्या दैनिक बढिरहेको छ । स्वदेशमै बसेर पनि काम पाइएन भन्दै भौंतारिनेहरू पनि उत्तिकै छन् । तर, धरानकी मनिता घिमिरे इच्छाशक्ति भए घरमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हुन् ।
घर वरिपरि र जङ्गलमा समेत पाइने तीतेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट घिमिरे घरमै नुहाउने र मुख धुने साबुन बनाउँछिन् । आफूले उत्पादन गरेका साबुन मेला, महोत्सवहरूमा प्रदर्शन र बिक्री गर्दै आउनुभएको उनी अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको बताउँछिन् । त्यसबाहेक बजारका अग्र्यानिक सामान पाइने पसलहरूमा पनि घिमिरेले उत्पादन गरेका साबुन पाइन्छन् ।
नेपाली विषयमा स्नातकोत्तर गरेकी घिमिरेले पहिल्यैदेखि अन्यत्र रोजगारी खोज्नुभन्दा आफै केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीहरूले प्राकृतिक साबुन खोजी गरेपछि त्यसको महŒव बुझिन् । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिएपछि सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थालिन् ।
विगत ६ वर्षअघिबाट उनले समृद्धि प्राकृतिक साबुन उद्योग सञ्चालन गरिरहेकी छन् । अहिले धरान–१५ स्थित घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी घिमिरे ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउँछिन् । आफैले मिहिनेत गर्दा साबुनबाट लगानीको दोब्बर आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘मैले त ६ वर्षअघि २५–३० हजार लगानीबाट सुरु गरेकी थिएँ । यसबाट सोचेभन्दा राम्रै फाइदा भयो’ घिमिरे भन्छिन्, ‘अहिले सामाजिक सञ्जालबाटै धेरै अर्डर आउँछ । पसलहरूबाट पनि माग्नुहुन्छ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।’
धरानमा एक वर्षयता उपमहानगरपालिकाले नै साबुन उद्योग खोल्ने चर्चा भइरहेको छ । नगरप्रमुख हर्क साम्पाङले ‘माया धराने’ नामको साबुन उद्योग खोल्न अभियान नै सञ्चालन गरिरहेका छन् । साबुन उद्योगका विषयमा कहिले वन कार्यालयसँग विवाद उत्पन्न भयो त कहिले मुद्दा मामिला प¥यो । धेरैले श्रमदान गरे पनि साबुन उद्योग खुल्न सकेको छैन । तर, घिमिरेले सानो लगानीमा घरमै साबुन उत्पादन गरेर बिक्री गरिरहेकी छन् । उनी भन्छिन्, ‘मैले प्राकृतिक वनस्पति प्रयोग गरेर सानो मात्रामा बनाउँछु । धेरै उत्पादन गर्ने हो भने ठूलो उद्योग आवश्यक पर्छ तर, महिला दिदीबहिनीहरूलाई स्वरोजगार बनाउन घरमै पनि मेरोजस्तो सानो उद्योग खोल्न सकिन्छ ।’ घरमै साबुन उद्योग खोलेर स्वरोजगार बनेकी घिमिरे पछिल्लो समय महिलाहरूलाई साबुन बनाउने तालिम पनि दिँदै आएकी छन् । उनले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत धेरै ठाउँमा तालिम दिइसकेकी छन् । तालिम, साबुन उत्पादन, बिक्रीजस्ता काममै उनको समय बित्छ ।
उनको अनुभवमा पछिल्लो समय मानिसहरू खानेकुरामा विषादीरहित अग्र्यानिक कुरा खोजेजस्तै सौन्दर्य प्रशाधनका सामान र साबुनजस्ता सामग्री पनि केमिकलरहित खोज्ने क्रम बढ्दो छ । ‘केमिकलले मानव स्वास्थ्यमा समस्या ल्याइरहेकाले पनि स्वास्थ्यप्रति सचेत मान्छेहरू प्राकृतिक वस्तुबाट बनेका साबुन खोज्छन्’ उनी भन्छिन्, ‘आफ्नै गाउँघरमा र आफ्नै देशमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।’
आफ्नै बारी र वरिपरि प्राप्त हुने वस्तु प्रयोग गरेर अग्र्यानिकरूपमा साबुन बनाउँदा त्यसबाट बजारमा पाइने साबुनको जस्तो बास्ना नआउने उनको भनाइ छ । तर, उपभोक्तामा साबुन भन्ने बित्तिकै बास्ना खोज्ने प्रचलन भएकाले समस्या हुने उनी बताउँछिन् । पछिल्लो समय महबाट पनि साबुन बनाइरहेकी घिमिरे हाम्रा घर र वरपर पाइने धेरै कुराबाट साबुन बनाउन सकिने बताउँछिन् ।
घिमिरे आफू त घरमै साबुन बनाएर स्वरोजगार बनेकै छिन् । अरू पनि बेरोजगार, गरिब तर केही गर्न चाहने मान्छे आए साबुन बनाउने तालिम दिने गरेको बताउँछिन् । उनी अब यही उद्योगलाई अझै विस्तार गर्ने योजनामा समेत छिन् । घरायसी काममा व्यस्त हुने महिलाहरूले पनि फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उनको बुझाइ छ । त्यसका लागि घरपरिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उनको धारणा छ । ‘थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयहरूले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्’ उनी भन्छिन्, ‘हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगारी पाउँछन्, स्वास्थ्यका लागि पनि फाइदाजनक छ भने अर्कातिर साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।’