दशैँताकादेखि पूर्वेली स्रष्टा तथा लेखक प्रकाश थाम्सुहाङ आफ्ना निबन्ध कृति शब्दथुम लिएर पाठकहरूको सामुन्द्रिक यात्रमा दौडिरहेका छन् । लाग्छ लेखकको दौडाइ महान् योद्धा चँगेज खाँको घोडाचढीको चम्काइभन्दा कम छैन । शब्दथुम भन्ने शब्द पाठकहरूलाई निश्चय नै यहाँ दुई वटा भाषाको संयोजन छ भन्ने आभास हुन्छ । र, हो पनि । लेखक स्वयम् पनि यही शब्दथुम कृति लिएर देश तथा विदेशको साहित्यक दौडाहमा निस्किएका छन् । महिना दिनको हङकङ यात्रापछि हाल दमक, धरानको साहित्यिक यात्राको दौरान लेखकलाई पाठकहरूले थुम भन्ने शब्द अर्थको जिज्ञासा पोखिरहेका छन् । वास्तवमा थुम भन्ने शब्द थोरैले सुनेका धेरैले नबुझेको शब्द पनि हो । यसै क्रममा लेखकले दमकको एक कार्यक्रममा पाठकको जिज्ञासामाथि आफ्ना धारणा राखे । थुम भन्ने शब्द मेरो मातृभाषामा रहेको शब्दकोशको हो । थुम शब्दको उच्चारण वाक्यअनुसार अनेक अर्थ राख्दछ । जस्तो थुम भनेको लिम्बू भाषामा पहाड पनि हुन्छ । त्यसै गरी थुम भन्ने अर्थले जिल्ला वा मुकाम भन्ने अर्थ पनि राख्छ । थुमले प्रशासनिक क्षेत्र भन्ने अर्थ पनि दर्शाउँछ । विगतमा पूर्वको नेपाली भूगोललाई दश लिम्बूवान सत्रथुम भनिएको दस्तावेजहरू छन् । त्यसै गरी थुम भन्ने अर्थ शक्ति भन्ने अर्थ पनि राख्दछ । शब्दथुम भनेको शब्दको शक्ति पनि हो त्यसैले यो कृतिको नाम शब्दथुम राखे अर्थात् शब्दको शक्ति ।
लेखकले भने जस्तै शब्दहरूको शक्ति लिएर साहित्यिक मैदानमा शब्दथुम दौडिरहेको छ । लेखकको सौन्दर्यचेत बहुआयामिक देख्छु । लेखक अध्ययनशील भएर हुनु पर्छ शब्दथुम कृति विभिन्न सूचनाहरूको स्रोतको रूपमा लिन सक्छौँ जुन कुरा अन्य कृतिहरूमा विरलै पाउन सक्छौँ । ‘लुङ्माहिम साइँलाको मेटाफोर्मिस’ शीर्षकमा स्वयम् लेखक बाल्यकालमा बुबाको पछि पछि चकलेटको लोभमा दौडिन्थे हाल आफै बुबा भएकोले आफ्नो पछि छोरो दौडिरहेको छ । उसबेला लुङ्माहिम साइँलाको मातृभाषाप्रतिको चेत, शिक्षाप्रतिको जागरण, राजनैतिक र धार्मिक विचलन वर्तमानमा स्वयम् लेखकले वोध गरिरहेका छन् । वि.सं. २०१३ सालमा लुङ्माहिम साइँला अर्थात् लेखकका बुबा स्व. गणेशबहादुर थाम्सुहाङ (वि.सं. १९९४–२०६५) मा लिम्वुवानको किपट भूमी कायम गराउन श्री ५ महेन्द्रकहाँ लिम्बुवानी टोलीको सदस्यको रूपमा सहभागी थिए । राजनैतिक तथा प्रशासनिक शक्तिको कारण किपट (किनबेच नहुने भूमि) भूमिहरू रैकर (किनबेच) कायम भई किपट गुमेको गोप्य झलक निबन्धको यो शीर्षकमा पाउँछौ । ‘भुइँकुहिरो भित्रको एक साधक’ शीर्षकमा स्रष्टा गणेश रसिकले साहित्य र सङ्गीतमा विभिन्न आरोह–अवरोहको सामु जीवनको लामो कालखण्ड बिताएको पाउँछौ । जुन एउटा जीवन जिउने प्रेरणाको स्रोतको रूपमा लिन सकिन्छ । लेखकमा कवित्वको भावना उजागर भएर पनि होला रसिकको स्वरमा रहेको ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ’ जस्ता कालजयी शब्द सङ्गीतले भित्रैदेखि छोएको हुनु पर्छ । लेखकको अगुवाइमा २०८० सालको भानु जयन्तीमा साधक गणेश रसिकलाई इलामको अरनिको सङ्ग्राहलयको प्राङ्गणको स्टेजमा जीवनको लयहरू सुनाउन लगाउँदा भुइँकुहिरोसहितको सिमसिम पानी झरीमा इलामे दर्शकलाई मन्त्रमुग्ध बनाएको क्षण सम्झना योग्य हुनु पर्छ । शब्दथुमको दौडाहमा अधिकांश युवापुस्ताहरूको क्रेज देख्छु । हालका युवा पुस्ता पाठकहरूको लेखकप्रति पठनीय घनिष्टता बढ्नुमा लेखकको भाषिक सरलता, शिल्प र शैलीको फेरोले तानिएर पनि हुनु पर्छ । निबन्धमा सङ्गीत सिर्जना मोहदेखि खेलप्रतिको एडिक्सन पनि पाउँछौ । ‘आत्महत्याको सौन्दर्य’ शीर्षकमा लेखकले गीतसङ्गीत बारे भनेका छन्, ‘ग्रीक मिथकमा सङ्गीतलाई स्वर्ग चढ्ने लिस्नो भन्छन् । पश्चिममा क्लासिक साधकहरू निर्भाना, विटल्स, गुल्मी सन्डे समूहले जीवनको नैराशता विसङ्गति गाएको रहेछ । सायद आजभोलिका अधिकांश युवापुस्ताका पाठकहरू नजन्मेको समय हुनु पर्छ । सन् १९९४ को विश्वकप फुटबलको महासागरमा इटलीका सर्वश्रेष्ठ स्ट्राइकर रोबर्टो बाजियोको खेल कौशल र कपालको शैलीप्रति फुटबल प्रेमीहरूको क्रेजले पनि लेखक कतिसम्मको खेलप्रति झुकाव राख्दो रहेछ भन्ने महसुस हुन्छ । ‘सालिक र साहित्य विमर्श’मा नेपाली मौलिक साहित्यको विशाल तŒवमा अन्य समुदायको संस्कृति र भाषिक सिर्जनाहरू पनि अवयव हुन भन्ने विमर्श गरिएको छ । विज्ञानको भाषामा जसरी एउटा तŒवले पूर्णता पाउनलाई अन्य अवयवहरूको भूमिका हुन्छ । त्यसैले भारतीय लेखक निर्मल बर्मा भन्छन्,‘भाषा, मिथक र स्मृतिका अन्तर सम्बन्धले नै कुनै पनि समुदायको सामूहिक स्मृतिलाई एकत्रित गर्छ । निबन्धकार पठनशील भएर हुनुपर्छ सीमान्त संस्कृतिको दुःखमा सत्य तथ्यपरक सन्दर्भहरूको शब्द शक्तिको भण्डारण छ । अमेरिका कोलम्बसले पत्ता लगाए झैँ युरोपका डच नाविक तासमानले सन् १६४२ मा न्यूजिल्याण्ड पत्ता लगाए ।
सय वर्षपछि सन् १७६९ मा बेलायती नाविक जेम्स कुक पनि न्यूजिल्याण्ड पुगेको प्रसङ्ग छ । नयाँ मानिसहरू नयाँ भूगोलमा पुग्न त पुगे, तर त्यो जमिन नयाँ थिएन । त्यहाँ पहिल्यै अरू जाति, समुदायको बसोबास थियो । जसरी कोलम्बस पुग्नु अगावै अमेरिकामा रेडइन्डियनहरूको बसोबास थियो । बसोबास गर्ने क्रममा त्यहाँ पहिलादेखि बसिरहेका मूलबासीहरू विरुद्द नयाँ मानिसहरू दमनमा ओर्लिए । नयाँ मानिसहरू नयाँ प्रविधिविरुद्ध मूलबासीहरूको प्रतिरोध क्षणिक सावित भइदियो । उनीहरूले सम्झौता गरे । फलस्वरूप नयाँ मानिसहरूले क्रमशः जमिन कब्जा गर्दै आफ्नो देशबाट मानिसहरू बोलाउँदै बस्ती बसाउन थाले । मूलबासीहरू कमजोर र अल्पसङ्ख्यकमा परे । वर्तमानमा पनि न्यूजिल्याण्डमा राष्ट्रप्रमुख बेलायतका महारानी छिन् । त्यस कारण न्यूजिल्याण्डका माओरी आदिवासीहरू टाईलाई आफ्नो जातीय दमनसँग जोडेर हेर्छन् र लगाउन अस्वीकार गर्छन् । उनीहरू पहिचान र भूमि फिर्ताको लडाइँमा छन् भन्ने तथ्यको जानकारी पाउँछौ भने ओसामा विन लादेनको आतङ्कको कारण मुस्लिमहरू आतङ्कवादी हुन्छन् भन्ने सङ्कुचित सोचको मनोविज्ञान फैलिँदै गएको छ ।
त्यसै गरी म्यानमारका भिक्षु आसिन विराथुले मुभमेन्ट ९६९ (बुद्धको ९ गुण–६ कर्म–९ स्थापत्य) को शङ्खघोष गर्दा म्यानमारी सेना र रोहिंग्या मुस्लिमबीचको द्वन्द्व सिर्जना भएको व्यहोरा उल्लेख गरिएको छ । यसको मतलब विश्वभरि प्रायः क्लायस अफ सिभिलाइजेसनको वीजारोपण भइरहेको छ । विभेद र छुवाछुतजस्ता कङ्लक अझै पनि भारत र नेपालमा जरा गाडेर बसेको छ जुन कुरा वर्तमानमा दुखदायी संस्कार हो । लेखक भन्छन्, ‘आफ्नो नश्ल मात्र महान्, आफ्नो संस्कृति मात्र उम्दा, आफ्नो धर्म मात्र उत्कृष्ट भन्ने गलत सोच नै ‘क्लायस अफ सिभिलाइजेसनको’ कारण हो । जहाँ इतर संस्कृतिलाई निषेध गरिन्छ । ह्याट उच्चवर्गको पहिचान तर हिजाब, बुर्का लगाउनु आतङ्कको निशानी सोच्नु सांस्कृतिक द्वन्द्वलाई बढवा दिनु हो । हिटलरको आर्य सुपरमेसीबाट चेत नखुलेको ट्रम्पको श्वेत सुपरमेसी, मोदीको हिन्दु हार्डलाइन, र ओलीको राम मोह, वर्णव्यवस्थाको विद्रूप अनुहारजस्ता विचार वर्तमान विश्वको मष्तिष्कमा पलाएको ट्यूमर हो । यो ट्यूमरको शल्यक्रिया गर्न मुस्किल छ मुस्किल । तर पनि सुन्दर समाजको खातिर लडाइँ निरन्तर छ । शब्दथुम निबन्ध कृतिलाई स्रष्टा प्रकाश थाम्सुहाङले ३ खण्डमा दौडाएका छन् । पहिलो व्यक्तिविम्बमा जम्मा १३ वटा शीर्षकलाई आफैले देखे भोगेका पात्रहरूको अनुभव, विचार, जीवनशैलीहरूलाई सिलसिलाबद्ध सुरुवात गरी अन्त्य गरेका छन् । जसमा हामी माटोको सुगन्ध भित्र रैथाने परिवेशहरू महसुस गर्न सक्छौ । दोस्रो खण्डमा चिन्ता र चिन्तनलाई छ वटा शीर्षक दिएका छन् । जहाँ हामी वर्तमानमा साहित्यिक विचारहरूको विमर्शदेखि पहिचानरूपी साहित्यिक आन्दोलनको आयामहरू पाउँछौ । तेस्रो खण्डमा आत्मकथन जहाँ लेखकले आफ्नै जीवनमा प्रत्यक्ष भोगेका अनुभव गरेका स्मरणलाई थप पठनीय बनाएका छन् जसको मिठास वा प्याट्रन कति मार्मिक र टची छ भन्ने स्वयम् अध्ययन गर्दा मात्र महसुस हुन्छ ।
निबन्धमा अन्य गहकिला, पठनीय, लेखनमा पाइन चढेका शीर्षकहरू पनि उतिकै छन् । ‘जनमले मृत्युलाई हरपल जितोस्’ मा आयामेली कवि बैरागी काइँलाले एथ्निक मिथकको प्रयोग उनीबाटै भएको रहेछ । बैरागी काइँलाको मातृभाषा मोहकै कारण कुलपति भएको समयमा नेपा प्रज्ञा प्रतिष्ठानमा त्यसबेलासम्म गठन हुन नसकेको मातृभाषा विभाग गठन गरेको प्रसङ्ग प्रशंसनीय छ । ‘काइँला यो के गरेको ?’ शीर्षकमा एकेडेमीबाट स्रष्टाहरूलाई आजीवन उपलब्ध गराउने भत्ताको कटौती बैरागी काइँला कुलपति हुँदा गरेको प्रसङ्गमा ईश्वर बल्लभले दुखेसो पोखेका छन् । पछि उनै मदन पुरस्कार विजेता एउटा बागी कविको अन्तिम संस्कार कति हलुका हुँदो रहेछ । यस प्रसङ्गले सहरमा मानवस्य संवेदना हराउँदै गएको, मन विचारहरू आत्मकेन्द्रित हुँदै गएको झल्को दिन्छ । समग्रमा शब्दथुममा पढन छुटाउनै नहुने शीर्षकहरूको सङ्गालोहरू छन् । ‘बल दाइ, यात्री र काठमाडौँ’ कवि कृष्णभूषण बलले अब केन्द्रीकृत राज्य सत्ता विकेन्द्रित हुन पर्छ भन्ने आशय पञ्चायत कालमा नै साहित्यमार्फत उजागार गरेका रहेछन् । त्यसै गरी ‘एउटा सालिन मानिसको अवसान’ मा एक कुशल राजनीतिज्ञ, कवि एवम् प्रकृति प्रेमी स्व. अमर नेम्बाङको व्यक्तित्व बारेमा चर्चा छ । नेम्बाङ विश्व प्रसिद्ध कवि पाब्लो नेरुदा जस्तै प्रकृतिप्रेमी थिए । नेरुदासँग माउन्ट माच्चिपिन्चु थियो भने नेम्बाङसँग फाल्गुन्दको सिलौती डाँडा थियो । सुम्हालुङ कविमा थाम्सुहाङ पुष्प सुब्बाले लिम्बू भाषा साहित्य र किरात संवत् येलेतङ्वेको पुनः प्रचलनकर्ता मात्र होइन खस र लिम्बू साहित्यका सुम्हालुङ थिएछन् । बराल दाइको लीला(मा कृष्ण बराल, एक भाइरल कवि शीर्षकमा रङवादी कवि धर्मेन्द्र विक्रम नेम्बाङको हरियो समाजवाद, शान्त नदीमा कवि चन्द्रवीर तुम्बापोको बेजोड चरित्र भेट्छौ । रिफ्युजी कथामा जीवित पात्र याम थुलुङको मातृभूमिप्रतिको मोह, रुचाल दाइमा सामाजिक विभदेको दृष्टि र उनको दिनचर्या कम घतलाग्दो छैन । यस कृतिमा कुनै एक शीर्षकमा मात्र डिस्कोर्स गर्न पनि समय र शब्दहरू कमै हुन्छ । शब्दथुम आफैमा शब्दहरूको शक्ति बोकेर अविरल यात्रामा दौडिरहेको छ । यस निबन्ध सङ्ग्रहमा काव्यिक चेत बेजोड छ । प्रायः शीर्षकहरू बितेर जानु भएका अग्रजहरूको जीवन दर्शनसँग केन्द्रित छ । जुन भावी पुस्ताहरूलाई मार्ग दर्शन हुनेछ । निबन्धकारलाई एक अध्ययनशील, वैचारिक, शालिन शैली र शिल्पका सतिसाल ठान्छु । निबन्धमा सत्यतथ्यपरक सूचनाहरू भेटिन्छ । धेरै लेखरचना र स्रष्टाहरूसँग परिचित भएको कारण पनि शब्दथुममा शक्ति सञ्चित रहेको छ । समाजभित्र रहेका राजनीति, विद्रोह, सांस्कृतिक अपनत्व, सङ्गीत, खेल, विकास आदिको सकारात्मक चेत हुनुले नै शब्दथुमको शक्ति अङ्ग्रेजी लेखक ड्यानियल डिफोको सन् १७१९ को आख्यान् ‘रविन्सन क्रुसोको समुन्द्री यात्राको दौड’ भन्दा कम छैन । सफल यात्राको कामना ।