धरान । शीतलहर र चिसो बढ्दै गएपछि आलुखेतीमा किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
आलुखेतीमा डढुवा किराको सङ्क्रमण बढेको केन्द्रको भनाइ छ । आलुखेतीमा किराको प्रकोप बढेपछि किसानहरू चिन्तित बनेका छन् । जिल्लाका १२ वटै स्थानीय तहमा आलु खेती गरिने भए पनि व्यावसायिकरूपमा तीनवटा स्थानीय तहमा आलुखेती गरिँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उनका अनुसार करिब १५ प्रतिशतसम्म आलुखेतीमा किराको प्रकोप देखिएको छ ।
सुनसरीको इनरुवा नगरपालिका, देवानगञ्ज गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा व्यावसायिक आलुखेती गरिँदै आएको छ । भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा लगाएको आलुखेतीमा शीतलहर र चिसोका कारण रोगको प्रकोप बढेको बताए । उनका अनुसार खेती सुरु गर्दा पाँच लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको बताए । आलुखेतीमा रोगकिराको सङ्क्रमण देखिन थालेको उनी बताउँछन् ।
आलुको बिरुवा सुक्दै जाने र पात झर्ने लगायतका समस्या देखिएको मेहताले जानकारी दिए । रोग लागेपछि आलु उत्पादन घट्ने ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको हरिनगर, देवानगञ्ज, रामनगर भुटाहा, गौतमपुर, कप्तानगञ्जलगायत क्षेत्रका किसानको आलुखेतीमा किराको प्रकोप बढेको हो । आलुखेतीमा लगानी गरेअनुसार प्रतिफल नआउने भोक्राहा नरसिंह–७ का मङ्गल महतो बताउँछन् । पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेको इनरुवा–९ बबियाका किसान सत्यनारायण यादवले बताए । केन्द्रले आलुखेती गर्ने किसानलाई प्राविधिक सहयोगका साथै रोगको प्रकोप नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी पनि उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार जिल्लामा आलुखेतीमा पछौटे डढुवा र अगौटे डढुवा रोगको सङ्क्रमण देखिन थालेको छ ।
तीन हजार हेक्टरमा आलुखेती
१२ वटा स्थानीय तह रहेको सुनसरीमा तीन हजारभन्दा बढी हेक्टरमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख निलकमल सिंहका अनुसार तीन हजार ९० हेक्टरमा खेती गरिन्छ । जसमा उत्पादनका हिसाबले १७ दशलमव ४३ मेटिूक टन हुने गरेको छ । सुनसरीको तीन वटा स्थानीय तहमा व्यावसायिक आलुखेती गरिने उनको भनाइ छ । अन्य स्थानीय तहमा खेती हुने गरेको भए पनि व्यावसायिकरूपमा भने देवानगञ्ज गाउँपालिकाको ३ र ४, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आलुखेती गरिन्छ ।
आलु खेतीमा यस्ता रोगको प्रकोप
आलु खेतीमा लाग्ने ‘कमन’ रोगहरू झण्डै पाँच प्रकारका रहेका छन् । जसमा अगौटो डढुवा, पछौटे डढुवा, एजोडी, खोस्टा, मोज्याक र बोट कुहिने रोग रहेका छन् । यी रोगका लक्षणहरू झण्डै उस्तै प्रकृतिका हुने गरेका छन् । एजोडी रोग लाग्दा दाना सानो हुने, एकै ठाउँमा झुरुप्प सानो गाँठो भएर बस्ने गरेको छ । खोस्टा रोगमा दानामा निलो दाग देखा पर्ने हुन्छ भने ब्याक्टेरियल कारणले गर्दा बोट कुहिने रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मोज्याक चाहिँ लाही किरा नियन्त्रण नगरेको अवस्थामा मोज्याक भाइरसको कारणले समस्या देखिन थाल्ने केन्द्रले जनाएको छ । ‘लाही किरा अति खतरनाक किरा हो । यसले पातको रस चाहिँ चुसिदिन्छ । लाही किरा नियन्त्रण गरिएन भने मोज्याक भाइरस लाग्छ’ उनले फोनसम्पर्कमा भने, ‘मोज्याकको संवाहकको रूपमा लाही किरा रहेको छ ।’ अगौटे, पछौटे डढुवा रोगमा चाहिँ पातहरूमा पानी छर्केजस्तो भई पात कालो हुँदै जाने र छेउछेउबाट खुम्चिँदै गएर हाँगा र बोट नै सुक्ने समस्या सुरु हुन्छ । रोग किरा नियन्त्रण नगरेमा उत्पादन पूर्णरूपमा घट्छ । ‘कतिपय अवस्थामा उत्पादन शून्य नै हुन्छ’–उनले भने । डढुवा रोग चाहिँ हरेक वर्षजस्तो देखिने गरेको छ । चिसो मौसममा हुस्सु र कुहिरो लामो समय लागिदिँदा यस्ता रोगहरूको प्रकोप बढ्ने गरेको छ ।
यस्ता विषादी प्रयोग गर्न सुझाव
डढुवालगायतका किराको प्रकोप देखिन सुरु गरेमा रासायनिक विषादी नै लगाउनुपर्ने कृषि ज्ञान केन्द्र बताउँछ । अन्य उपायबाट यसलाई नष्ट गर्न नसकिने भएकाले पनि विषादी नै छर्किनु पर्ने ज्ञान केन्द्रको भनाइ छ । प्रकोप देखिएको समयमा डाइथेम एम–४५ नामक रासायनिक विषादी प्रयोग गर्नुपर्ने प्रमुख सिंहको भनाइ छ । उनका अनुसार एक लिटर पानीमा दुई ग्राम विषादी हालेर आलुको पात र डाँठ भिज्ने गरी छर्किनु पर्छ । त्यसको एक सातापश्चात् क्रिलोक्सिल गोल्ड नामक विषादी प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार उक्त विषादी पनि एक लिटर पानीमा दुई ग्राम मिसाएर पात भिज्ने गरी छर्किनुपर्छ । अन्यथा किरालाई नष्ट गर्न नसकिने उनको भनाइ छ । यस्ता औषधिहरू कृषि ज्ञान केन्द्रबाट निःशुल्क रूपमा प्राप्त गर्न सकिने उनको भनाइ छ । स्थानीय तहमार्फत् पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ । किराको प्रकोप व्यापक भएको अवस्थामा भने आकाशे विषादी छर्किने व्यवस्था पनि रहेको ज्ञान केन्द्रले जनाएको छ ।