सुनसरीको वराहक्षेत्र मन्दिर परिसर विकासका लागि प्रदेश सरकारबाट विनियोजित रकम कार्यान्वयनबारे सरोकारवाला पक्षसँग छलफल गरिएको छ ।
उपस्थित पक्षले मुख्य १० एजेण्डामा छ्लफल गरेका थिए । एजेण्डाहरुमा गुप्त वराह, वराह सरोवर निर्माणको पूर्णता, पृथ्वीदेवी मन्दिर निर्माण, तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण, ध्यान-योग उद्यान, पुनित कर्मस्थल निर्माण, धार्मिक सर्किट निर्माण, वराहक्षेत्र महिमा प्रचारप्रसार, गोकर्ण/ धुन्दुकारी स्थल निर्माण, राज्य पुनर्संरचना पश्चात् स्थानीय सरकारको वराहक्षेत्र विकासका एजेण्डाबारे छलफल भएको थियो ।
निश्चित र सानो आकारको बजेट विनियोजन र विकास निर्माणको बृहत् अपेक्षाका कारण सोचेअनुरुप काम हुन नसकेको उपस्थित सहभागीले धारणा राखेका थिए ।
वराहक्षेत्रको सबैभन्दा ठूलो समस्या कोसी कटानको रहे पनि कोसी कटान रोक्न बजेटको सीमितता रहेकाले मन्दिर परिसरमा आवश्यक भौतिक संरचना निर्माणमा छलफल केन्द्रित भएको वराह भगवानका सेवक योगेश भण्डारी 'वराहक्षेत्र' ले जानकारी दिए । उनले छलफलमा वराहक्षेत्रका विविध समस्या उठे पनि मूर्तरुपमा विनियोजित बजेट कार्यान्वयनका लागि छलफल भएको बताए ।
उनका अनुसार मन्दिर क्षेत्रलाई अपाङ्गतामैत्री निर्माण गर्ने, कोसी किनारसम्मै ह्वीलचेयर प्रयोगकर्ताको पहुँच पुर्याउने, वराह सरोवर निर्माण गर्ने भनिएको ठाउँमा २ हजार मान्छे अटाउन सक्ने क्षमता भएको ट्रस्ट निर्माण गरी श्राद्धस्थलका रुपमा विकास गर्ने, कोका पारी पृथ्वीदेवीको मन्दिर निर्माण गर्नेलगायतका विषयमा छलफल भएको सेवक 'वराहक्षेत्र' ले जानकारी दिए ।
वराहक्षेत्र मन्दिर क्षेत्र विकास र प्रवर्धनका लागि कोशी प्रदेश सरकारद्वारा विनियोजित २ करोड रुपैयाँ बजेट कार्यान्वयनका सन्दर्भमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीको उपस्थितिमा छलफल भएको हो ।
छलफलमा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, ममता तामाङ, प्रदेश आयोजना प्रमुख कुलदीपप्रसाद यादव, वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की, पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठलगायत वराहक्षेत्रका स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।
वराहक्षेत्रको विकासमा राज्य उदासीन
हिन्दू धर्मशास्त्रअनुसार विश्वका चार धाम/ क्षेत्रमध्येको पवित्र धार्मिक क्षेत्र, धर्तीको पहिलो धामका रुपमा शास्त्रले व्याख्या गरेको वराहक्षेत्र अझैसम्म पनि दुर्गम र सुविधाबाट वन्चित अवस्थामा रहेको छ ।
वराहक्षेत्रको सौन्दर्यीकरणमा ध्यान दिनु त परको कुरा वराहक्षेत्रसम्म पुग्ने सडक संरचनासमेत पक्की निर्माण गर्न राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
'सडक असुविधाका कारणले नै बर्सेनि तीर्थयात्रीहरु घट्दै गइरहेका छन् । एउटै धार्मिक मेला लाखौं भक्तजना आउने भए पनि दशकौंदेखि वराहक्षेत्र आउने तीर्थयात्रीको एउटै गुनासो बाटो किन नबनेको भन्ने हुन्छ', स्थानीय यातायात व्यवसायी विजय राईले भने,'वराहक्षेत्रको विकासको मुख्य बाधक नै बाटोघाटो हो, पहिरो झर्ने पाखामा रिटर्निङ बाल लगाएर सडक कालोपत्रे गर्नेतर्फ राज्यले ध्यान नदिएकै हो, सात किलोमिटर सडक निर्माण गर्न सरकार किन उदासीन छ, बुझ्न सकिएको छैन ।'
वराहक्षेत्रका समस्या बग्रेल्ती भए पनि भौतिक सुविधाको अभावमा मुलुककै ठूलो धार्मिक क्षेत्रलाई ओझेलमा पार्न नहुने उनको भनाइ छ ।
वराहक्षेत्र धार्मिक आस्थाले आउनेमात्रै छन् । धार्मिक क्षेत्र भएपछि यसको सौन्दर्यीकरण पनि हुनुपर्छ भन्नेमा सरकारकै ध्यान नगएको स्थानीय युवराज श्रेष्ठ बताउँछन् ।
बर्सेनि आधा दर्जनभन्दा बढी धार्मिक मेला वराहक्षेत्रमा लाग्ने गरेको छ । व्यवसायी श्रेष्ठका अनुसार यहाँ वर्षैपिच्छे उस्तै समस्या दोहिरिन्छ ।भीडभाड नियन्त्रण हुँदैन । तिर्थयात्रीको उचित बसोबासको प्रबन्ध मिल्दैन । पार्किङको समस्या ज्यूँका त्यूँ' रहन्छ ।
'तीर्थयात्रीलाई स्थानीय सरकारले समिति बनाएर हुन्छ वा कसरी हुन्छ, विभिन्न ठाउँ गरी कम्तीमा एक लाख मान्छे अटाउन सक्ने क्षमताका आवास स्थल निर्माण गरिनु पर्छ, न्युनतम शुल्कमा बस्ने व्यवस्था मिलाउन सकियो भने आर्थिक सहयोगसमेत मनग्गे सङ्कलन हुन्छ,' स्थानीय युवा केबी राई भन्छन्, 'वराहक्षेत्रमा सरकारले आयआर्जनका बाटाहरु पहिल्याउन सकेको छैन, करको दायरा बढाउने भनेको मात्र सुनिन्छ, भिजन भने देखिन्न ।'
उनका अनुसार धार्मिक मेलाका बेला मान्छेले एकरातको ३-४ हजार रुपैयाँ तिर्छु भन्दा पनि बस्ने व्यवस्था गर्न समस्या हुने गरेको छ । धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सरकारले योजना ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् ।