धरान । धरानका उद्योगी व्यवसायीहरूले करको नाममा लगाइएको ‘पार्किङ शुल्क कर’ को अवज्ञा गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घले सोमबार धरानमा आयोजना गरेको ‘धरानका उद्योग व्यवसायको हालको अवस्था, समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा अधिकांश व्यवसायी वक्ताले पार्किङ शुल्क करको नाममा अर्को आतङ्क सिर्जना गरिएको निष्कर्ष निकालेका हुन् । ‘पार्किङ शुल्कलाई सबै व्यवसायी मिलेर अवज्ञा गरौँ भन्ने निष्कर्ष आयो’–कार्यक्रम संयोजक विष्णु बरालले भने । धरानका होटल व्यवसायी हरि श्रेष्ठले पार्किङ शुल्कका कारण ग्राहकहरू नआउने अर्कोतिर सुरक्षा नहुने अवस्था रहेको बताए । ‘मेरो स्कुटर पार्किङ गरेर सपिङ गरेर फर्किदा लुकिङ ग्लास फुटेको थियो । अब त्यसको जिम्मा कसले लिने ?’ उनले भने, ‘शुल्क लिएपछि त्यसको जिम्मेवारी पनि लिनुप¥यो ?’ उनले घरबहाल कर, दक्ष कामदारको अभाव, राति १० नबज्दै व्यवसाय बन्द गर्नुपर्ने अवस्थाका कारण पनि व्यवसाय थप चौपट बन्दै गएको बताए । रेडिमेड व्यवसायी भूवन ढकालले पार्किङको समस्या ९० प्रतिशत धराने जनताले उठाइसक्दा पनि सुनुवाइ नभएको बताए ।

‘पार्किङको समस्या ९० प्रतिशतले उठाइसक्यौँ’ उनले भने, ‘मेयर, उपमेयर झगडा गर्नुहुन्छ । हाम्रो समस्या कसले सुन्ने !’ अर्का व्यवसायी सुमन पौडेलले उद्योग वाणिज्य सङ्घले पार्किङ शुल्कको विषयमा अलग तरिकाले दबाव दिनुपर्ने बताए । उनले भने, ‘पार्किङ शुल्कको अलग तरिकाले दबाव दिनुपर्यो, आम्दानी घटेको घटेकै छ । सरकारले चाहिँ करैकर लगाइरहेको छ । कर चाहिँ बढेको बढेकै । कसरी चल्ने ?’

उवासङ्घका सल्लाहकार राजकुमार राईले स्थानीय सरकारले आफ्नो मुद्दालाई नै प्राथमिकीकरण गर्न नसकेको आरोप लगाए । ‘स्थानीय सरकारको पहिलो मुद्दा के हो, दोस्रो के हो ? तेस्रो के हो ? त्यो त फाइन्डिङ गर्नुप¥यो नि’ उनले भने, ‘खालि पानी पानी भनेर मात्रै हुन्छ, मेरै घरमा १ महिनादेखि पानी आएको छैन । समस्या समाधान भएछ त ?’ उनले नगरप्रमुख हर्कराज राईले कानूनबारे नबुझिदिँदा थप समस्या भएको बताए । ‘मेयरजस्तो मान्छेले कानून पढ्नुपर्छ पर्दैन ?’ उनले भने, ‘व्यवसायका समस्या जटिल छन्, बैङ्कको समस्या त्यस्तै जटिल छ । तर, केही वास्ता छैन ।’ शिक्षासेवी लोकेन्द्र श्रेष्ठले धरानबाट दिनानु दिन व्यवसायीहरू पलायन भइरहेको बताए । ‘धरानमा सम्भावना देखिएको छैन, छलफल गरेर मात्रै हुँदैन । रिजल्ट पनि निकाल्नु पर्छ’–उनले भने । औषधि व्यवसायी उमा ढकालले सङ्घले महिला व्यवसायीलाई उत्साहित गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गरिन् । उनले अनुगमनको नाममा आतङ्क सिर्जना भएको बताइन् । ‘अनुगमन गर्नुपर्छ, सबैले जानेको हुँदैन तर, सञ्चारकर्मीहरूले बदनाम गरिदिनुहुन्छ’–उनले भनिन् ।

ग्रिल व्यवसायी उदयकुमार राईले विना दर्ता अवैधानिक तरिकाले ग्रिलको काम गरिदिने केही व्यवसायीले गर्दा आफूहरूको व्यवसाय चौपट भएको बताए । उनले त्यस्ता समस्याका लागि स्थानीय सरकारलाई पटक–पटक भन्दा पनि सुनुवाइ नभएकोले सङ्घले पुलको भूमिका खेलिदेओस् भनी आग्रह गरे । यस्तै रामकुमार रावतले सोमबारे हटिया अवैधानिक रहेकाले त्यस्तालाई स्थानीय सरकारले नियन्त्रण गर्नुपर्ने बताए । होटल व्यवसायी नवीन राईले पानीको समस्या, बत्तीको समस्यालगायतका समस्यैसमस्या रहेको बताए । उनले होटल व्यवसायीलाई गरिखाने वातावरण नभएको बताए । ‘म बगरकोटमा व्यवसाय गर्छु, राति ९–१० बजे नै प्रहरी आएर सिठ्ठी फुक्न थाल्छ, अनि कसरी व्यवसाय गर्ने ? यो समस्या लिएर कहाँ जाने ?’–उनले भने ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठले व्यवसायीहरू एकजुट नभएसम्म समस्याको समाधान हुन नसक्ने बताए । त्यसका लागि पनि सबै एकजुट भएर आवाज बुलन्द बनाउनुपर्ने बताए । उनले व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण नै गलत भएको बताए । ‘सरकार सञ्चालनको प्रमुख स्रोत नै उद्योगी व्यवसायीहरू हुन्, तर हामीलाई मुनाफाखोर भनी परिभाषित गरिएको छ’ उनले भने, ‘हाम्रो लडाइँ भनेको सरकारसँग नै हो ।’ उनले सङ्घले यावत् समस्यालाई सम्बोधन गर्नका लागि एउटा समिति गठन गरेर अगाडि बढ्ने गरी निर्णय भएको पनि बताए ।