बिर्तामोड । झापामा जङ्गली हात्तीको त्रासका कारण बसाइँ सर्ने क्रम बढ्न थालेको छ । जङ्गली हात्ती बस्तीमा बसेर धनजनको क्षति गर्ने क्रम बढेपछि सुरक्षित स्थानमा बसाइँ सर्ने क्रम बढेको हो ।

जङ्गली हात्तीले लगातार जनधनको क्षति गर्दै आएपछि चारकोसे जङ्गल आसपासका कतिपय बासिन्दाहरू बसाइँ सर्न बाध्य भएका छन् । केही समय अघिसम्म मेचीनगरको बाहुनडाँगी क्षेत्रका बासिन्दा मात्र झापामा हात्तीको उपद्रोबाट पीडित थिए । अहिले यो क्रम कचनकवल, हल्दीबारी, भद्रपुर, शिवसताक्षी र बिर्तामोड नगरपालिकासम्म बढेको छ ।

केही समयअघि कचनकवल–१ फूलभासीका सुवेदी परिवारले हात्तीकै कारण पुरानो थातथलो छोड्नु परेको छ । करिब चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएका किशोरप्रसाद सुवेदीको घर हात्तीले भत्काई तहसनहस गरेपछि उनीहरू बसाइँ सरेर कमल गाउँपालिकाको मङ्गलबारे गएका छन् । उनीहरू अहिले अर्काको घरमा भाडामा बस्छन् ।

‘गत जेठ महिनामा हात्ती आई हाम्रो घर लगातार तीन दिनसम्म भत्काइरह्यो’ किशोप्रसाद सुवेदीकी श्रीमती सीता सुवेदीले भनिन्, ‘बस्नै नसकेर हामी बसाइँ सरेका हौँ ।’ सुवेदी परिवारको काठको टाँडे घर थियो । रातको समयमा हात्ती आएर लगातार घर भत्काउनुका साथै घरभित्रको धान खाएर नष्ट पार्ने गरेको थियो । तीन बिघा खेतीमा अन्न उत्पादन गर्दै आएका सुवेदी परिवारले थातथलो छोडेर बसाइँ हिँड्नु परेको होे । हात्तीका त्रासका कारण कचनकवल–१ को फूलभासी गाउँ पातलिँदै गएको छ ।

सीताजस्तै फूलभासीका गोविन्द सुवेदी, युवराज भण्डारी, चन्द्रबहादुर तामाङले यतिबेला गाउँ छाडेका छन् । विस्थापित भएका उनीहरू बिर्तामोडमा कोठा भाडामा लिएर बसिरहेको बताउँछन् । हात्तीको त्रासका कारण गाउँमा बसाइँ हिँड्ने क्रम जारी रहेको सो स्थानका रुद्र सुवेदीले बताए । उनी पनि गाउँ छाड्ने तरखरमा रहेको बताउँछन् ।

चारकोसे झाडीसँगै जोडिएको हल्दीबारी गाउँपालिकाको जलथलमा पनि हात्तीको त्रासका कारणले पनि धेरै परिवार बजार क्षेत्रमा बसाइँ सरेका छन् । पारिवारिक गुजारा राम्रो भए पनि उनीहरू हात्तीको त्रासका कारण बसाइँ सर्न बाध्य भएका हुन् ।

हात्तीका कारण झै–झगडा
जङ्गली हात्तीका कारण आर्थिक क्षतिसँगै मानवीय क्षति हुने क्रम झापामा बढेको हुनाले चारकोसे आसपास बसोबास गर्ने बासिन्दाको सामाजिक जीवनमा असर पुगेको हो । बसाइँ सराइसँगै हात्तीकै कारण समाजमा झै–झगडा हुने गरेको छ । खेदिएको हात्तीले कसैको घर र बालीमा क्षति पु¥याएको खण्डमा अरूले धपाएर आफ्नो क्षति गराएको भन्दै समाजमा झै–झगडासमेत हुने गरेको छ ।

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने गरेको छ । पक्की घर भएका घरधनीहरू हात्तीबाट सुरक्षित देखिन्छन् भने सानो झुप्रो घर भएकाहरू हात्तीको निशानामा पर्दै आएका छन् । भौतिक क्षतिसँगै हात्तीको आक्रमणबाट मृत्यु हुनेहरू विपन्न समुदायकाहरू नै बढी छन् ।

घरमा बस्दा होस् वा घाँस–दाउरा गर्न जङ्गल जानु पर्दा या मजदुरी गर्न पैदल हिँडेर जानुपर्दा होस तिनै निम्नवर्गका मानिसहरू हात्तीको आक्रमणमा परेका छन् ।

जङ्गलका कारण कोही लाभान्वित कोही दुःखी
दक्षिणी झापाको हल्दीबारी, भद्रपुर र कचनकवलमा फैलिएको चारकोसे जङ्गलका कारण यहाँका बासिन्दा लाभान्वित र दुःखी दुवै भएका छन् । यस जङ्गलको आसपासमा राजवंशी, क्षेत्री, ब्राह्मण, मेचे, सन्थाल, राई, लिम्बू, तामाङ आदि जातिहरूको बढी बसोबास छ । जङ्गलबाट प्रत्यक्षरूपमा घाँस, दाउरा, काठ, कन्दमूल, सागपात र जडिबुटीबाट लाभान्वित छन् भने अप्रत्यक्षरूपमा स्वच्छ वातावरण, हावापानी र अक्सिजनको उपयोग गरेको पाइन्छ ।

२० मान्छे र ६ हात्तीको मृत्यु
करिब २०६८ सालदेखि भारतबाट नेपालको मेचीनगर नगरपालिका हुँदै र मेची खोलाबाट यस जलथल जङ्गलमा हात्ती आएको पाइन्छ । जब जलथल जङ्गलमा हात्तीको आगमन भयो, तबदेखि जलथलवरपरको जनजीवन कष्टकर बनेको हो । हातीको कारण घर, बालीसँगै मानिसको ज्यान पनि जोखिममा परेको छ । यस क्षेत्रमा करिब ५ सय घरगोठ भत्काएको छ । २०६८ पुस २१ देखि यस क्षेत्रमा २० जनाको हात्ती आक्रमणमा परी मृत्यु भइसकेको छ । करिब एक दर्जन घाइते भएका छन् भने यस क्षेत्रमा ६ वटा हात्तीको समेत मृत्यु भएको छ ।

जङ्गली हात्तीको उपद्रोका कारण यस क्षेत्रमा साना बालबालिकालाई समेत मानसिक र शारीरिक असर परेको छ । साँझ बिहान विद्यालय आवत–जावतमा परेको असर र राति जाग्राम बस्नुपर्ने बाध्यता छ । बालकदेखि वृद्धसम्मले हात्तीबाट कुनै घटना नघटोस् भनेर घर छेउछाउ आइपुग्दा टिन, बाजा, शङ्ख, साइरन बजाएर, पराल बालेर आ–आफ्नो सुरक्षा गर्दै दिनरात बिताइरहेका छन् । साँझ जङ्गलबाट बाहिर आउने र बिहानीपख जङ्गलभित्र जाने हात्तीको दैनिक कार्यतालिका जस्तै बनेको छ ।