चतरा गुठीअन्तर्गत राजगुठीमा दर्ता भएका प्रसिद्ध बराहक्षेत्र मन्दिर र औलिया बाबा मठ संरक्षण गर्ने नाममा गठन भएका संस्थालाई हटाउन र आर्थिक गतिविधिमा प्रतिबन्ध लगाउन गुठी संस्थानले वराहक्षेत्र नगरपालिकालाई पत्राचार गरेको छ ।
गुठी संस्थानअन्तर्गत रहेका मठ मन्दिरमा असम्वन्धित व्यक्ति/ संस्थालाई काम गर्न नदिन वराहक्षेत्र नगरपालिकालाई गुठी संस्थानले निर्देशनात्मक पत्राचार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीलाईसमेत बोधार्थ दिंदै गुठी संस्थानले वराहक्षेत्र नगरपालिकाको नाममा काटेको पत्रमा विभिन्न समिति खडा गरी वराहक्षेत्र मन्दिर र औलिया मठको आम्दानी उनाऊ व्यक्ति/ संस्थाले संकलन गर्नेलगायतका कार्य भएको उल्लेख छ ।
मठ, मन्दिर क्षेत्रमा दर्शनार्थीहरुले चढाउने भेटीघाटी तथा गुठी अन्तर्गतको जग्गाको परिचालनबाट प्राप्त हुने आम्दानीबाट नै जात्रापर्व, धार्मिक कार्य सञ्चालन तथा महन्त/पूजारीको पारिश्रमिकको समेत व्यवस्था हुने गरेकाले हाल उक्त क्षेत्रमा उनाऊ व्यक्तिहरुले विभिन्न समितिको नाममा मन्दिरको आम्दानी संकलन गर्ने लगायतका कार्यहरु गर्न लागेको भन्ने गुनासो प्राप्त भएको उल्लेख छ ।
गुठी संस्थान ऐन २०३३ को दफा ५३ मा 'गुठी परम्परा बमोजिम चलाउनुपर्ने काम, गुठीको चल अचल सम्पत्तिको संरक्षण गर्ने, संस्थानको घर जग्गा, देवस्थल, पाटी पौवामा संस्थानको स्वीकृति बेगर भोगचलन गर्नेलाई हटाउने जस्ता काममा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका वा नगरपालिकाले सहयोग गर्नुपर्नेछ' भन्ने कानुनी व्यवस्था भएको हुँदा संस्थानको स्वीकृति बेगर कुनै पनि व्यक्ति / समितिलाई कुनै पनि कार्य गर्न नदिई गुठीको सम्पत्ति संरक्षणमा नगरपालिकाले भूमिका खेल्नुपर्ने निर्देशानुसार अनुरोध गरिएको उल्लेख छ ।
वराहक्षेत्र मन्दिरमा 'वराहक्षेत्र संरक्षण मञ्च' नामक संस्थाले स्थानीय मेला पर्वको व्यवस्थापन गर्ने गरेको छ भने औलिया मठमा 'औलिया बाबा छिन्नमस्ता संरक्षण समिति' नामक संस्थाले संरक्षणलगयतको काम गर्दै आएको छ ।
गुठी संस्थानको पत्राचारअनुसार यी संस्था मठमन्दिरसँग असम्बन्धित रहेकाले गुठी संस्थान ऐनअन्तर्गत अवैधानिक छन् । गुठी संस्थानले त्यस्ता संस्थालाई हटाउन वराहक्षेत्र नगरपालिकालाई निर्देशन दिएको हो ।
चतरा गुठीका जग्गा सिराह, सप्तरीलगायत साविक महाभारा हाल गौरीगन्ज, सुनसरी बक्लौरी, मोरङलगायतका क्षेत्रमा रहेको तथ्याङ्क भेटिन्छ ।
इतिहासविद ज्ञानमणि नेपालले 'प्रजातन्त्रोत्तर कालमा चतरामठको सदावर्तको केही अंश झिकेर विजयपुरको पिण्डेश्वर संस्कृत महाविद्यालय सञ्चालित भएको हो ।' भन्ने विषयसमेत उल्लेख गरेको पाइन्छ ।
इतिहासविद नेपालले आफ्नो आलेखमा 'वर्षेनि कात्तिक शुक्लपक्षमा बराह क्षेत्रको मेला भर्न पहाड र तराई–मधेशदेखि भारतसम्मका मानिसको ठूलो घुइँचो हुन्थ्यो । चतरा मठमा सयौं जोगी सन्न्यासीको अखडा जम्थ्यो ।' भनेका छन् ।
सरकारी जग्गा मातहत ल्याउन नगरसरकार उदासीन
वराहक्षेत्र नगरभित्र रहेका पुरातात्त्विक भवन, संरचना, धर्मशाला अतिक्रमित भइरहँदासमेत वराहक्षेत्र नगरपालिकाको त्यसतर्फ ध्यान जान सकेको छैन । नगरभित्र रहेका संरचना स्थानीय सरकार मातहत ल्याउनुपर्नेमा स्थानीय सरकार उदासीन देखिएको छ । कतिपय सरचना जंगलभित्र पुरिएका छन् भने कतिपय स्थानीयले उपभोग गरिरहेका छन् ।
भोगाधिकार प्राप्त जग्गालाई समेत राज्यले प्रतिबन्ध गरी 'लिज' मा उपलब्ध गराउने नीति ल्याएको छ । तर स्थानीय सरकार राज्यको नीतिबाट बेखबर रहेको देखिन्छ ।
सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनिति २०७१ (दोस्रो संसोधन सहित) को दफा २१ को उपदफा २ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम भोगाधिकार दिएको जग्गा लिजमा परिणत गर्ने सम्बन्धमा भूमि सुधार तथा व्यवस्थापन विभागबाट २०७४ वैशाख २१ मै सूचना जारी गरिएको थियो । उक्त सूचनामा तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिने व्यक्ति, संस्था वा निकायले प्राप्त गरेको भोगाधिकार सोही कार्यनितीको दफा ८ बमोजिम समाप्त हुने उल्लेख थियो ।