विषय प्रवेशः
नेपालकै नाम चलेको सुविधा सम्पन्न अस्पतालहरूमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एक हो । त्यसमध्ये पनि यो पूर्वी नेपालको सर्वाधिक बढी बिरामीहरूलाई उपचार सेवा प्रदान गर्दै आएको सुविधा सम्पन्न अस्पताल हो । ‘न्याय नपाए गोर्खा जानू’ भनेजस्तै ‘उपचार नपाए बीपी जानू’ भन्ने उक्तिलाई व्यवहारमा राम्रैसँग लागू गर्न सफल यो अस्पताल पछिल्लो समयमा भने एकपछि अर्को विवादमा फस्दै आइरहेको छ । नागरिकहरूको प्रत्यक्ष जीवनसँग जोडिएको अस्पतालजस्तो संवेदनशील ठाउँ विवादको शृङ्खलामा फस्नु सुखद् कुरा होइन ।

पछिल्लो एक दशकमा बीपीलाई नजिकबाट नियाल्ने हो भने बारम्बार आन्दोलन र हड्ताल भइरहेको देखिन्छ । कहिले उपकुलपति नियुक्ति विवाद, कहिले भ्रष्टाचार काण्ड, कहिले बेथिति र विसङ्गति काण्ड, कहिले सेवा सुविधा काण्ड, कहिले कर्मचारी नियुक्ति र बर्खास्ती काण्ड अनि कहिले सरुवा, घटुवा, बढुवाजस्ता काण्डैकाण्डहरूमा बीपी प्रतिष्ठान फसिरहेको छ । यसैबीच विगत तीन हप्तादेखि यसका डाक्टर, शिक्षक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले का.मु. उपकुलपति प्रह्लाद कार्कीको राजीनामा, नियमित तीन–तीन वर्षमा गरिने बढुवा प्रक्रियाको अन्तरवार्ता सुचारु गर्नुपर्ने अनि बीपीभित्र भइरहेको सबैखाले अनियमितताहरूको अन्त्यलगायतका माग राखेर अनिश्चितकालीन आन्दोलनमा छन् । परिणामतः बिरामीहरू समयमा उपचार नपाएर छट्पटाइरहेका छन् । यो संवेदनशीलतालाई आत्मसात गर्दै तपाईं हामी सबैले सानातिना तिक्ततालाई बिर्सेर मानवीय आधारमा तत्काल समस्याको समाधानमा पहल लिनुपर्ने देखिन्छ । हामी गम्भीर भएर लाग्ने हो भने समाधानको बाटाहरू धेरै छन् ।

अर्को भिसी नियुक्ति गर्नेः
बीपीमा भिसी नियुक्ति सर्वाधिक चासोको विषय बन्दै आएको छ । यसमा विगतदेखि नै कि त दलीय आधारमा कसले कसलाई नियुक्ति गर्यो भन्ने कि त कसले कसलाई कति पैसा खुुवाएर नियुक्ति गर्यो भन्ने सन्दर्भमा व्यापक खुल्दुली र चर्चाको विषय बन्दै आएको छ । यसै सिलसिलामा हाल कार्यरत भिसी प्रह्लाद कार्की पनि छ महिनाअघि नियुक्ति भएका थिए । भिसी कार्की नियुक्ति भएयता बीपी पूरै अशान्त भइरहेको छ । उनले बीपीको समग्र उपचार जीवनलाई सामान्य अवस्थामा फर्काउन सकेका छैनन् । बरू उल्टै तीन–तीन वर्षमा गरिने बढुवा प्रक्रियालाई रोकेर यसमाथि झनै आगो झोस्ने काम गरेका छन् । अस्पतालजस्तो ठाउँमा यस्तो निहीत स्वार्थगत खेलवाड हुनु दुःखद् कुरा हो । अर्कोतिर, का.मु. भिसी कार्कीको पदावधि पनि गत मङ्सिरमै सकिसकेको छ । यसले पनि बीपीको भिसीमा अभैm उनै कार्की रहिरहनु कानूनसम्मत पनि देखिँदैन ।

त्यसैले बीपीको समस्या समाधान गर्ने र पुरानै सामान्य उपचार पद्दतिमा फर्किने हो भने भिसीले तत्काल राजीनामा दिनु पर्दछ । हाल आन्दोलनरत कर्मचारी तथा शिक्षकहरूको एउटा मुख्य माग भनेको भिसीको बर्खास्ती पनि रहेको छ । तर, अर्को भिसी नियुक्ति गर्दा विगतमाजस्तो निरपेक्ष दलीय भागबण्डा र पैसाको कारोबारमा आधारित भएर गर्नु हुँदैन । यसमा वरिष्ठता, क्षमता र गुणको आधारमा नियुक्ति गर्ने संस्कृति बसाल्नु पर्दछ, जुन भावी दिनहरूमा अरूले पनि अनुसरण गर्ने दृष्टान्त बन्न सकोस् । यदि फेरि पनि पुरानै परम्परामा गइयो भने दोस्रो पात्रले नियुक्ति र जागिर त पाउला तर, समस्याको वस्तुवादी र दीर्घकालीन समाधान भने हुँदैन । यो अनन्त समस्याको दलदलमा फसिरहनेछ । बीपीको भिसीमा कसलाई नियुक्ति गर्दा कति निहीत नाफा घाटा हुन्छ भनेर स्वार्थगत कोणबाट मूल्याङ्कन गर्नु पटक्कै सही होइन । यसमा कसलाई नियुक्ति गर्दा समग्र बीपीको प्रशासन, व्यवस्थापन र गुणस्तर स्वास्थ्य सेवा सहज ढङ्गले प्रदान गर्न सकिन्छ भनेर मात्र चिन्ता र चासो राख्नु उपयुक्त हुन्छ । यसकारण प्रह्लाद कार्कीको राजनीनामासँगै वरिष्ठता, क्षमता र गुणहरूको सूचकाङ्कको आधारमा नयाँ भिसी नियुक्ति गर्नु नै तत्कालको सबैभन्दा वस्तुवादी समाधानको उपाय हुनेछ ।

माग सम्बोधन गर्नेः
बीपीमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले विगतदेखि नै पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि आन्दोलन, वार्ता र सहमतिपछि उपचार सेवा सुचारु भएको जगजाहेरै छ । यसकारण आन्दोलनरत कर्मचारीहरूको जायज मागहरूलाई वार्ता, सहमति र सहकार्यको विधि अवलम्बन गर्दै पूरा गर्नु पर्दछ । बीपीका शिक्षक कर्मचारीहरूलाई बाहिर पेशा व्यवसाय गर्ने छुट छैन । उनीहरूलाई विशिष्ट दायरामा बाँधिएको छ । यस्तो अवस्थामा आन्तरिकरूपमा केही विशिष्ट किसिमका थप सेवा सुविधाहरू तय गर्नु सही नै हुन्छ । यही प्रावधान अनुरूप यसका कर्मचारीहरूको हरेक तीन–तीन वर्षमा बढुवा प्रक्रिया अघि बढाउने गरिएको थियो । यो वास्तविकतालाई तथ्यगत ढङ्गले नियाल्दा उनीहरूको माग जायज देखिन्छ ।

विगत झण्डै डेढ दशकदेखि यहाँका कर्मचारी र शिक्षकहरूको बढुवा भएको छैन । यो उनीहरूमाथिको ठाडो अन्याय हो । यसकारण यो बढुवा प्रक्रिया तत्काल सुरु गर्नु पर्दछ । अस्पतालजस्तो संवेदनशील ठाउँमा यो वा त्यो स्वार्थ, ईगो र ईश्र्या राखेर कसैले पनि बालहठ, घमण्ड र जिद्दीपना प्रदर्शन गर्नु हुँदैन । बरू सानातिना स्वार्थ र नमिलेको कुराहरूलाई सम्झौतामा हल गर्दै अस्पतालको दैनिक उपचार प्रक्रियालाई सुचारु गर्नु पर्दछ । यसको लागि आन्दोलनरत पक्षहरूसँग वार्ता र संवादमा बसेर छलफल गरी निष्कर्षमा पुग्नु पर्दछ । लाखौं बिरामीहरूको समस्या र पूर्वको प्रतिष्ठाको रूपमा रहेको बीपीको प्रसिद्धि वा साखलाई कायम राख्न पनि उनीहरूको माग पूरा गर्नुको अर्को विकल्प छैन ।

काममा फर्कनेः
बीपीलाई सदा झै‌ साधारण जीवनमा फर्काउन अस्पताल प्रशासन र अन्य सरोकारवालाहरूको जति महŒवपूर्ण भूमिका रहन्छ, त्यति नै भूमिका शिक्षक कर्मचारीहरूको पनि हुन्छ । बीपी गैरसामाजिक संस्था होइन । यो तपाईं हामीलगायत ठूलो जनसङ्ख्यासँग अभिन्नरूपमा जोडिएको सार्वजनिक संस्था हो । यस्तो सार्वजनिक क्षेत्रमा कसैको कसैसँगको स्वार्थगत अन्तरविरोधमा सिङ्गो सामाजिक संस्थालाई बन्धक बनाउनु भनेको जघन्य अपराध गरेतुल्य हुन्छ । अर्थात् स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई ईगो, प्रतिशोध साध्ने र बार्गेनिङ गर्ने थलो बनाउनु हुँदैन । विजय र पराजयको खेल ठान्नु हुँदैन । मान र अपमानको विषय बनाउनु हुँदैन । स्वास्थ्य सेवालाई व्यक्तिगत स्वार्थसँग सौदाबाजी गर्नु हुँदैन । सेवा, सुविधा र स्वार्थ नमिले पनि मानवीय संवेदनालाई मध्यनजर राख्दै अनि आप्mना मागहरूलाई पनि उजागर गर्दै वार्ता र संवादमार्पmत् निकास पहिल्याउनु सबैभन्दा बुद्धिमानी हुन्छ ।

यसकारण तमाम आन्दोलनरत कर्मचारी तथा शिक्षक मित्रहरूले पनि यो विषयको गाम्भीर्यतालाई बुभ्mने प्रयास गर्नु बुद्धिमानी हुन्छ । मेरो गोरुको बाह्रै टक्का पनि भन्नु हुँदैन । यद्यपि यसको मतलव कर्मचारीहरूको माग जायज छैन भन्ने होइन । माग शतप्रतिशत सही छ । तपाईंहरूलाई अन्याय भएको छ, यसमा दुईमत छैन । तर, तपाईंहरूको आन्दोलनले निर्णायक उचाइ पनि नलिने अनि काम पनि सुचारु नहुने भएपछि निकास के हो त ? यसरी अनिर्णय र गोलचक्करको अवस्थामा लामो समय राख्नु हुँदैन । त्यसैले कि त तपाईंहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्नै पर्दछ । कि त केही लचिलो भएर तत्कालको लागि समस्याको अस्थायी समाधानको बाटो पहिल्याउनु पर्दछ । त्यो भनेको बिरामीहरूको प्रताडनालाई हृदयङ्गम गर्दै बीपीको साखलाई मनन् गर्दै आदरणीय शिक्षक कर्मचारी मित्रहरूले साङ्केतिक विरोध जनाउँदै काममा फर्किनु सही हुन्छ । यस्तो परिपक्वता वा बुद्धिमानी प्रदर्शन गर्नु भनेको हार्नु र अपमानित नभएर संवेदनशीलतालाई बुभ्mने विवेकशील नागरिक बन्नु हो ।

बरू सेवा सुविधाहरू विस्तार गर्नेः
आजभोलि बीपी भनेपछि विवाद र समस्याहरूको पर्याय बनेको छ । यो दुःखद् विडम्बनाको सवाल हो । यसले पूर्वमा बीपीले जुन छवि बनाएको थियो, त्यो सबै पखालिएको छ । बीपी भनेपछि स्वास्थ्य उपचारको ठूलो हब मानिन्थ्यो । सबैखालको रोग निको हुन्छ वा राम्रो उपचार हुन्छ भन्ने स्थापित भाष्य वा मनोविज्ञान थियो । उपचार प्रभावकारीसँगै प्रशासन, व्यवस्थापन, नियमन र अनुगमन असाध्यै राम्रो छ भन्ने सकारात्मक बुझाइ थियो । तर, आज बीपी भ्रष्टाचार, अनियमितता, बेथिति, विसङ्गति, बन्द, हड्ताल, आन्दोलन, विरोध र धर्नाको पर्याय बनेको छ । दलीय सेटिङमा लेनदेनसहित ठूलादेखि साना कर्मचारी नियुक्ति गर्ने संस्कृति मौलाएको आरोप लागि रहेको छ । अस्पतालजस्तो ठाउँमा यस्ता प्रश्नहरू उठ्नु दुःखसँगै विडम्बना र लज्जाको विषय पनि हो ।

बरू हाम्रो बीपीमा नयाँ उपचार पद्दति थप भयो रे भनेको सुन्न आतुर छ हाम्रो कान । उपचारमा नयाँ खोज अनुसन्धान र आविष्कार सफल भएको सुन्न लालायित छ हाम्रो तन, मन । चुस्त दुरुस्त, छिटोछरितो र गुणस्तरयुक्त उपचार पाउने कुरा सबैको चासोको विषय हो । एकै दिनमा रिपोर्टसहित सबै चेकजाँच हुने बीपी हाम्रो अपेक्षा हो । विना बाधा अवरोध पद्दतिमा स्वतःस्फूर्त सुचारु हुने अस्पताल हाम्रो चाहना हो । सही र पारदर्शी प्रशासन, व्यवस्थापन, नियमन र अनुगमनसहितको छिटोछरितो उपचार आजको बीपी रूपान्तरणको अहम् आवश्यकता हो । त्यसैले यसमा हामी धरानेलगायत सबै गम्भीर बन्न जरुरी छ । 

निष्कर्षः
त्यसैले बीपीको समस्यालाई साझा समस्याको रूपमा ग्रहण गर्नु पर्दछ । यसलाई कसैले कसैलाई विजय र पराजयको खेल सम्झिनु हुँदैन । यो दल, त्यो दल अनि यो व्यक्ति र त्यो व्यक्ति भनेर आग्रह पूर्वाग्रह लिनु हुँदैन । ईश्र्या, डाहा र प्रतिशोध साध्नु पनि हुँदैन । बीपीको समस्या साझा समस्या हो । यस्तो साझा समस्याको वस्तुवादी समाधान भनेको साझा प्रयासबाट मात्र सम्भव हुन्छ । यस्तो फराकिलो सोचबाट मात्रै बीपीको  समस्या समाधान गर्न सकिन्छ ।

वस्तुतः का.मु. भिसीले विषयवस्तुको गाम्भीर्यतालाई मध्यनजर गर्दै राजीनामा दिनुपर्दछ । अनि वरिष्ठता, क्षमता र गुणको आधारमा नयाँ भिसी नियुक्ति गर्नुपर्दछ । दलीय स्वार्थगत भागबण्डा र लेनदेनको संस्कृतिलाई निरुत्साहित गर्नु पर्दछ । आन्दोलनरत पक्षहरूका जायज मागहरू सम्बोधन गर्नु पर्दछ । शिक्षक तथा कर्मचारी साथीहरूले पनि अस्पतालको संवेदनशीलतालाई नजरअन्दाज गर्नुहुँदैन । साङ्केतिक विरोध जनाउँदै अनि वार्ता र संवादको ढोका खुल्ला राख्दै काममा फर्किनु हितकर हुन्छ । यस किसिमको परिपक्वता, विवेक र संवेदनशीलता प्रदर्शन गरे मात्रै बीपीको समस्या समाधान गर्न सकिन्छ । यसमा सरोकारवाला सबैको जोड र ध्यान जान जरुरी छ ।