गाउँघर विशेषगरी तराईका जिल्लामा गोबरको दाउरा वैकल्पिक इन्धन बन्ने गरेको छ । तराईमा यसको इतिहास लामो छ । यो संस्कृतिसँग पनि जोडिएको छ । तराईमा बस्ने कतिपय जातिको लागि यो इन्धन मात्रै होइन । यो एउटा संस्कार पनि हो । संस्कार यसअर्थमा कि तराईका अधिकांश नागरिकहरु विशेषगरी तराई मूलबासीहरुले यसलाई संस्कृतिको उपजको रुपमा लिने गरेका छन् । जाडो याममा गोबरको दाउरा बनाउने प्रचलन व्याप्त छ र घाम लागेको बेलामा सुकाउने र त्यसलाई दाउराका रुपमा लामो समय प्रयोग गर्ने गरिन्छ । जहाँ दाउरा सहज रुपमा उपलब्ध हुँदैन, त्यस्ता स्थानमा गोबरको दाउरा वैकल्पिक इन्धनको रुपमा रहेको हुन्छ । तराईमा सस्तो र भरपर्दो इन्धनको रुपमा यसलाई प्रयोग गरिएको पाइन्छ । हेर्दा सामान्य लागे पनि यो गाउँघरमै पाइने सामग्रीबाट निर्मित गरिन्छ । जसको खर्च पनि एकदमै न्यून हुन्छ र दाउराको विकल्पमा प्रयोग गर्दा टिकाउ पनि हुन्छ । यसलाई खाना पकाउनदेखि लिएर अन्य कार्यका लागि पनि प्रयोग गर्ने गरेका छन् ।
तराई मूलका नागरिकहरुको संस्कृतिको पर्याय बनेको गोबर इन्धन सस्तो र भरपर्दो वैकल्पिक स्रोत हो । यो रैथाने ज्ञान र परम्पराबाट आर्जित छ । यो ज्ञान सायदै अन्यसँग छैन । यो नितान्त तराईमा मात्रै बनाइन्छ र प्रयोग गरिन्छ । यसको प्रयोग पहाडतिर हुँदैन । अझ हिमालतिर त झनै हुँदैन । हाम्रोजस्तो गाउँ नै गाउँ भएको देशमा यस्ता इन्धनको प्रयोग एक हिसाबमा निकै उपयुक्त मानिन्छ । तर, स्वास्थ्यका हिसाबले भन्ने हो भने प्रतिकूल देखिन्छ । यसले वातावरण प्रदूषण गर्नमा मद्दत गर्दछ । यसका केही निश्चित अवगुणहरु छन् तर, पनि सामान्य नागरिकका लागि भने यसले आर्थिक क्षतिलाई जोगाउन मद्दत गर्दछ । यस्ता परम्परागत र रैथाने ज्ञानको संरक्षण गर्ने खालको नीतिहरु पनि स्थानीय सरकारले गर्नुपर्छ । नेपालमा अहिले पनि धेरै सङ्ख्यामा दाउरालगायतका इन्धनबाटै खाना पकाउने लगायतका कामहरु गरिँदै आएको छ । आर्थिक अवस्था न्यून भएकाहरुले गोबरको गुइँठाबाट इन्धनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । यसका लागि स्थानीय तहहरुले यस्ता परम्परागत ज्ञानलाई अगाडि बढाउनमा मद्दत गर्नुपर्छ ।
झापाको कचनकवल मात्रै हैन, तराईका अधिकांश भू–भागमा दाउराको विकल्पमा गोबरको गुइँठा बनाउने चलन छ । यो चलन आजको हैन, शदियौँदेखि चल्दै आएको छ । सामान्य खर्चमा बन्ने भएकाले पनि यो निकै नै उपयोगी हुने गरेको छ । गाउँघरमा सन्ठीमा प्रयोग गरी निर्माण गर्ने गरेका छन् । यसलाई लामो समयसम्म राख्न मिल्ने र दाउराको विकल्पको रुपमा प्रयोग गर्न मिल्ने भएकाले पनि तराईमा यसको प्रचलन व्यापक हुने गरेको छ । हिउँदको समयमा बनाउने र बर्खासम्म प्रयोग गर्ने चलन छ । जहाँ दाउराको अभाव छ, ग्याँस प्रयोग गर्न नसक्ने अवस्थाका नागरिक छन्, त्यो स्थानमा यो एकदमै भरपर्दो उपाय हो । यसलाई बढीभन्दा बढी विकल्पको रुपमा प्रयोग गर्ने वातावरण तयार गर्नका लागि तराईका स्थानीय तहहरुले ध्यान दिनुपर्छ । रूख कटान गरी वातावरण बिगार्नेभन्दा यस्ता वैकल्पिक इन्धनहरुको प्रयोगलाई बढाउन सकेमा वातावरण संरक्षण पनि हुने थियो । तराईका नागरिकमा भएको रैथाने ज्ञानलाई मलजल गरी रूख, बोटबिरूवा संरक्षणमा ध्यान दिनसके देशको पनि हित हुने थियो कि !