आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । प्राचीन हिन्दु ग्रन्थ वेद र पुराणहरूका अनुसार समस्त विद्याकी अधिष्ठात्री सरस्वती हुन् । सरस्वतीको कृपा विना कुनै पनि मानिस विद्वान् हुन सक्दैन भन्ने पनि पुराणहरूको मान्यता रहेको छ । आजको दिन सरस्वतीको विशेष पूजा र आराधना गर्ने गरिन्छ । हिन्दू सनातनीहरू तीन देवीलाई बडो महŒव दिएर आराधना गर्ने गर्दछन् । शक्तिका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वती । यिनीहरूको आराधना सधैँ गर्नु पर्दछ र गरिन्छ पनि । तथापि उनीहरूको विशेष आराधना र अर्चना गर्नका लागि वर्षमा एक दिन विशेष पर्वको रूपमा मनाइन्छ । महाकालीको विशेष आराधना नवरात्रीे कालरात्री (दशैंको अष्टमी)का दिन गरिन्छ । त्यस्तै महालक्ष्मीको विशेष आराधना सुखरात्री (तिहारको आंैशी) को दिन र महासरस्वतीको विशेष आराधना माघ शुक्ल पञ्चमी (सरस्वती पूजाको दिन) का दिन गरिन्छ । हिन्दू मात्र होइन, आम नेपालीहरूले नै सरस्वती पूजालाई विशेष उत्साह र भव्यताका साथ मनाउने गर्दछन् । नवरात्रीमा घरघरमा र मन्दिरमा देवी काली÷दुर्गाको विशेष पूजा अर्चना गरिन्छ । महालक्ष्मीको पूजा घरघरमा उल्लासका साथ गरिन्छ । त्यस्तै सरस्वतीको पूजा विद्यालयमा र सरस्वतीको पौराणिक मन्दिर आदिमा गर्ने गरिन्छ । अधिकांश विद्यालयहरूले आफ्नै प्राङ्गणमा स्थायी प्रकृतिको सरस्वतीको मन्दिर निर्माण गरेका हुन्छन् र दैनिक पूजासहित विशेष पूजा त्यही मन्दिरमा गर्ने गर्दछन् । स्थायी मन्दिर नहुने विद्यालयले पनि मूर्ती ल्याएर पूजा आराधना गरी भव्यताकासाथ सरस्वती पूजा मनाउने गरेका छन् ।
राजधानी (काठमाडौं) पूर्व सरस्वतीको प्रमुख आराधनास्थल श्रीपिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती सरोवर हो । यो पोखरीको निर्माण सरस्वती स्वयम्ले गराएको हो । यसको वर्णन रुद्राक्षारण्य महात्म्यमा भएको कुरा यो क्षेत्रका सबैभन्दा पुराना अन्वेषक पथिक कवि स्व. लक्ष्मीप्रसाद आचार्यले उल्लेख गर्नुभएको छ । रुद्राक्षारण्य महात्म्यका अनुसार देवता र दानवहरूको सधैँको द्वन्द्व अन्त्य गर्नका लागि दुवै पक्ष मिलेर समुद्र मन्थन गरेछन् । समुद्र मन्थनबाट हलाहल विषसहित ऐरावत हात्ती, विभिन्न रत्नहरू सँगै अन्तिममा अमृत उत्पन्न भयो । अमृत छानेर देवताहरूले पान गर्ने भए । छानेर अमृतमा रहेको अंशलाई देवताहरूले पिण्डको स्वरूपमा रुद्राक्षारण्यको यो क्षेत्रमा ल्याएर श्रीपिण्डेश्वरका रूपमा स्थापना गरे । श्रीपिण्डेश्वरको स्थापनापश्चात् देवताहरू शिवजीको आराधना गर्न यहाँ आए । समुद्र मन्थनमा असिन पसिन र धुस्रै र फुस्रै भएका देवताहरू स्नान गर्न नजिकैको शिवगङ्गा (शिवजट्टा)मा गए । सरस्वतीलाई पुरुष देवताहरूसँग त्यहाँ गएर स्नान गर्न असहज लाग्यो । तत्पश्चात् सरस्वतीले त्यही श्रीपिण्डेश्वरका समिपमा मानसद्वारा पोखरीको निर्माण गरिन् र त्यहीँ स्नान गरेर सोही पोखरीको जल भगवान् शिवलाई अर्पण गरिन् । पुराणमा वर्णित कथाका आधारमा विजयपुरको श्रीपिण्डेश्वर समिपमा रहेको यो कुण्ड सरस्वतीद्वारा निर्माण भएको मानिन्छ । यो सरोवर सरस्वतीको आराधनाका लागि अत्यन्त उत्तम स्थान मानिएको छ । स्कन्ध पुराणको हिमवत् खण्ड र रुद्राक्षारण्यमा यसको महŒव बताइएको छ । यहाँको पोखरीमा स्नान गराएर साना नानीहरूलाई अक्षर आरम्भ गराइयो भने ती नानीहरूमा सरस्वतीको कृपा हुने र उनीहरू भविष्यमा गएर विद्वान् हुने जनश्रुति रहेको छ । सरस्वती पूजाका दिन त्यहाँको जल सिञ्चन गरेर बालबालिकालाई अक्षर आरम्भ गराउने परम्परा विगतदेखि नै रहेको छ । यो पोखरीमा स्नान गरी सरस्वतीको भक्ति गर्ने व्यक्ति विद्वान् हुने गरेको विजयपुरका स्थानीयको भनाइ छ ।
विद्याकी अधिष्ठात्री सरस्वती भए पनि विद्याका स्रोत भगवान् शिव हुन् । सबै विद्या र भाषाको स्रोत संस्कृत हो । संस्कृत भाषाको स्रोत व्याकरणका १४ सूत्र हुन् । संस्कृतको जननी ती १४ सूत्रहरू पाणिनीको कठिन तपश्यामा शिवजीका डमरुबाट उत्पन्न भएका हुन् । ती सूत्रहरूलाई शिवसूत्र पनि भनिन्छ । पाणिनीले ती सूत्रहरूका माध्यमबाट संस्कृत व्याकरणको निर्माण गरेका हुन् । त्यसैले विद्याको स्रोत शिवजी हुन् भने विद्या प्रदायक सरस्वती हुन् । विद्या प्राप्तिका लागि सरस्वतीसँगै शिवजीको पनि कृपा आवश्यक पर्दछ । सरस्वती सरोवर भएको स्थानमा शिवजीको पनि मन्दिर भएकोले श्रीपिण्डेश्वरमा रहेको सरस्वती सरोवर सरस्वती पूजाको यो अवसरमा आराधना गर्नका लागि उत्तम स्थान मानिएको हो । पिण्डेश्वर मन्दिर प्रदक्षिणा परिसरमा सरस्वतीको अत्यन्त पुरानो मूर्ति पनि रहेको छ । प्राचीनकालमा ऋषि मुनीहरू यहाँ आएर विद्या आर्जन गर्न तपश्या गर्ने गर्दथे भन्ने मान्यता रहेको छ । त्यही मान्यतालाई समर्थन गर्दै पूर्वका व्यास स्व. पं. छविलाल पोखरेलले यहाँ पिण्डेश्वर संस्कृत विद्यापीठको स्थापनासमेत गराएर उसलाई शिक्षाको केन्द्रका रूपमा परिचय दिलाउने प्रयास पनि गर्नुभएको थियो ।
अतः विद्याका स्रोत भगवान् शिवको सान्निध्यमा रहेको विद्याकी अधिष्ठात्री सरस्वती आफैले निर्माण गरेको सरस्वती सरोवरमा आजको दिन आफ्ना नानी बाबुहरूलाई त्यहाँको जल सिञ्चन गरी अक्षर आरम्भ गराउनु उपयुक्त हुन्छ । वसन्त पञ्चमीका दिन अक्षर आरम्भ गराउँदा त्यो बालक या बालिकालाई सरस्वतीको कृपा प्राप्त हुने विश्वास गरिन्छ । अझ श्रीपिण्डेश्वरमा गएर सरस्वती सरोवरको जल सिञ्चन गरेर सरस्वतीको पूजा गर्दै भगवान् पिण्डेश्वरको आराधना गर्नाले त्यो बालक या बालिका भविष्यमा पक्कै विद्वान् बन्ने र सधैँ सरस्वतीको कृपा प्राप्त भइरहने विश्वास गर्न सकिन्छ ।