भद्रपुर । नदी तथा खोला क्षेत्रआसपास नदीजन्य पदार्थ घाटगद्दी गर्न नपाइने प्रावधान भए पनि झापाको हल्दीबारी गाउँपालिकामा खोलानजिकै खाटगद्दी गरिएको छ । व्यवसायीले आफूखुसी घाटगद्दी गरी अवैधरूपमा थुपारेको गाउँपालिकाले दाबी गरेको छ ।

गाउँपालिकाले माघ २५ गते देउनिया खोला किनारमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ अवैध भएको भन्दै लिलाम बिक्रीको सूचना प्रकाशित गरेको छ । गाउँपालिकाले बिक्रीको सूचना जारी गरेपछि निर्माण व्यवसायी आक्रोसित भएका छन् । भद्रपुर र हल्दीबारीको सिमानामा रहेको देउनिया खोलाको पश्चिमतर्फ वडा नम्बर २ मा कुमार कार्की, निलम राई, रामकुमार गिरी, ताराप्रकाश डाँगीलगायतले नदीजन्य पदार्थ भण्डारण गरेका छन् । केही वर्ष यताबाट घाटगद्दी गरी उनीहरूले बिक्रीवितरण गर्दै आएका थिए ।

सादा कागजमा कर काटेर ठगी
ठेकेदारका कर्मचारीले सादा कागजमा कर काटेर ठगी गरेको उनले दाबी गरिन् ।  ट्याक्टर नम्बर मे.१ त ५०९०, मे.१ त ८१०९ लगायतलाई सादा कागजमा बिल काटेर पछिल्लो समय करबापत एक लाख ५ हजार रूपैयाँ तिरेको उनले बताइन् । बिल काट्ने कर्मचारीलाई ठगीमा जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको उनले बताइन् । 

नदी किनारमै निजी जमिन हुँदाहुँदै भण्डारण गर्न कहाँ लैजानु भन्दै भण्डारण गरेको अर्का व्यवसायी रामकुमार गिरी बताउँछन् । नरेश धमलाको निजी जमिन उत्खनन् गरेर थुपारेको नदीजन्य पदार्थ हाल आएर अवैध भन्नु गाउँपालिकाको गल्ती भएको उनले बताए । गाउँपालिकालाई पटक–पटक निवेदनसहित जानकारी गराउँदासमेत वास्ता नगरेको उनले आरोप लगाए । जिल्ला समन्वय समितिको कात्तिक १७ गतेको बैठकले स्टक प्रमाणितलगायत सङ्कलन, उत्खनन् र बिक्री वितरण गर्न पालिकालाई पत्र पठाएपछि घाटगद्दी गरेका व्यवसायीले मङ्सिर १९ गते छलफलका लागि वडा नम्बर २ को कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । विना जानकारी लिलाम बिक्रीको सूचना प्रकाशित फिर्ता लिएर बिक्री वितरणको वातावरण बनाउन उनले माग गरेका छन् । ठेकेदार मदन राना मगरले अह्राएको काम गरेको ती कर्मचारी बताउँछन् । बिल नभएपछि सादा कागजमा विवरण लेखेर रकम लिएको उनले बताए ।

‘वैधानिक भए प्रमाण लिएर आउनू’
अवैधरुपमा थुपारेको नदीजन्य पदार्थ स्थानीय सरकारले जफत गरेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । वैधानिक भए प्रमाण लिएर आउन सम्बन्धित पक्षलाई आग्रह गरेको उनले जानकारी दिए । नदीजन्य पदार्थ चोरेर भण्डारण गर्न नपाइने उनको भनाइ छ । अनुगमनका क्रममा अवैध देखिएपछि प्रक्रिया अगाडि बढाएको उनले बताए । उनका अनुसार पालिकाले माघ २५ गते देउनिया नदी किनारमा अवैधरुपमा घाटगद्दी गरी राखिएको छ सय ७७ घनमिटरको लिलाम बिक्रीको सूचना प्रकाशित गरेको छ ।

‘पालिकाले व्यवसायीलाई अन्याय गर्यो’  
पालिकाले नियमविपरीत काम गरेर व्यवसायीमाथि अन्याय गरेको व्यवसायी ताराप्रकाश डाँगीले आरोप लगाए । राज्यलाई कर तिरेर वर्षौं यतादेखि भण्डारण गरेर बिक्री वितरण गर्दै आइरहेको अवस्थामा विना जानकारी लिलाम बिक्रीको सूचना प्रकाशित गर्नु व्यवसायीमाथि प्रतिशोध साधेको उनको भनाइ छ । यो विषयलाई लिएर हुनसक्ने कुनै पनि घटनाको जिम्मा गाउँपालिकाले लिनुपर्नेसमेत उनले बताए । यो विषयलाई लिएर कानूनी प्रक्रिया अघि बढाएको उनको भनाइ छ । गाउँपालिकाले व्यवसायीलाई अन्याय गरेको जानुका डाँगीले बताइन् । कर तिरेर घाटगद्दी गरेको सामग्री अवैध भनेर जफत गर्ने सूचना जारी गरेकोमा उनले आपत्ति जनाइन् ।

‘प्रमाण पुगे मुद्दा दर्ता हुन्छ’
उजुरी आएपछि दुवैपक्ष राखेर छलफल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका मुद्दा फाँटका इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए । पहिलो चरणको छलफलपछि दुवै पक्षलाई फिर्ता पठाई अनुसन्धान सुरू गरिएको उनले बताए । अनुसन्धानका क्रममा प्रमाण पुगेमा मुद्दा दर्ता गराएर कारबाही अगाडि बढाइने उनले जानकारी दिए ।