वराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता भूपू लाहुरे र पीडितसम्मीलित वराह व्यवस्थापन समन्वय तथा अनुगमन समिति र वराहपीडित बचतकर्ताबीच जग्गालेनदेनका विषयमा मतान्तर भएपछि चर्काचर्की परेको छ ।

समिति र अन्य बचतकर्ता र सेयर सदस्यबीच लगानी गरेको रकमवापत जग्गा लिने विषयमा मत बाझिएपछि बिहीबार धनकुटे रोडस्थित वराह कम्प्लेक्समा बोलाइएको छलफलमा विवाद उत्पन्न भएको हो । विवादमा केही पीडितले आफ्नो रकम बराबरको जग्गा लिने तर थप रकम तिर्ने विषयमा असहमति जनाएका थिए । 


वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिलाई समर्थन गरेका पीडितहरुले भने आफ्नो लगानी फिर्ता गर्न समितिको सर्तअनुसार नै जग्गा लिने बताएका थिए। पीडितबीच नै मत बाझिएपछि केहीबेर माहोल तनावग्रस्त बन्यो। छलफलमा उपस्थित प्रहरी प्रशासनले स्थिति साम्य बनाएको थियो ।


समन्वय समितिले पीडितले लिएको जग्गा पाँच वर्षभित्रमा बिक्री नभएमा जेसिका नामक रियल स्टेट कम्पनीले खरिद गर्ने गरी समझदारी भएको बताएको छ। सहकारीका सन्चालक मानबहादुर विश्वकर्माले पीडितले रकम नै लिन चाहे सात वर्षभित्रमा रकम तिरिसक्ने बताए।

उनले वराहले स्थानीय सरकार  र मन्त्रालयमा समेत वराह सन्चालन गर्ने र तिर्नुपर्ने दायित्व सात वर्षभित्रमा पूरा गर्ने कार्ययोजना निर्माण गरेर पेश गरेको बताए। उनले पीडितहरुलाई धैर्य गरिदिनसमेत आग्रह गरे।

सन्चालक विश्वकर्माले रियल स्टेट व्यवसायीको सहयोगमा दायित्व फिर्ता गर्ने काम अघि बढाएकाले इच्छुकलाई सो प्रक्रियामा सहभागी हुन अनुरोध गरे। उनले स्थानीय सरकारलाई ५ अर्ब रुपैयाँको डिटेल बुझाएको बताए ।

सन्चालक र पीडित पक्षबीचको समझदारीमा धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई ५ करोड बराबरको जग्गा वितरण गरिएको बताइएको छ । 


कानेपोखरी, उर्लाबारी, गछिया, इटहरी, इनरुवा, झुम्का, धरान, पानबारी, सतिसाले, केराबारीलगायतका जग्गा बचतकर्ता र लगानीकर्ताको इच्छाअनुसार  लगानीकर्ताहरुको रकम बराबरको जग्गा फिर्ता गरेको सहकारी संचालक बिकले जानकारी दिए । उनले साना बचतकर्ता ५ हजार जनालाई नगदै भुक्तानी गरिरहेको बताए । 

वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिको समन्वयमा सन्चालक र पीडित पक्षबीचको समझदारीमा लगानीबापत जग्गा प्रदान गरिएको उनले बताए ।

रेस्क्यु फण्डमा थप लगानी बचत भू.पू. सैनिक आबद्ध संस्थाको संयुक्त खाता हिमालय बैंकमा खोलेर २ सय २७ जनाबाट ६१ लाख रुपैयाँ जम्मा गरिएको सन्चालक बिकले बताए । 

सन्चालक बिकले आफ्नो खातामा १ हजार भन्दा कम मौज्दात रहेका ४ हजार ७ सय ९२ जनालाई  पूर्ण भुक्तानी गर्न सुरु गरिएको बताए ।

बराह सहकारीमा २०८० असार मसान्तसम्म ४ हजार ९ सय ७२ जनाको शेयर रकम १० करोड ९ लाख ५ हजार ४ सय रुपैयाँ रहेको तथ्यांक छ । बचत रकम ६५ करोड ५१ लाख ४६ हजार ७ सय ४३ रुपैयाँ ४३ पैसा रहेको छ भने मौज्दात देखिएको ऋण लगानी ७१ करोड ८५ लाख ६२ हजार ९९ रुपैयाँ ९७ पैसा देखिएको छ । 


जग्गा लिन थप रकम तिर्ने सर्त पीडितका लागि अमान्य 

वराह सहकारीमा बचत र लगानी गरेका सेयर सदस्यले जग्गा लिन थप रकम तिर्ने सर्त अमान्य हुने आवाज उठाएका छन् । 

छलफलमा पीडितले आफ्नो रकमै माग गरेका छन् भने कतिपय पीडितले रकम बराबरको जग्गा उपलब्ध गराउन र आफूहरुले थप रकम नतिर्ने स्पष्ट पारेका छन् । 

उनीहरुले सस्तोमा जग्गा ’डिल’ गरेर पीडितबाट थप रकम लिई महँगो मूल्यमा पीडितलाई बोकाउने गरेको बताएका छन् । केही पीडित भने वराह सहकारीविरुद्ध कानुनी कारबाहीमा जानुपर्ने बताउँदै आएका छन् । अधिकांश लगानीकर्ता भने कानुनी कारबाहीमा जाँदा लगानी डुब्ने भएकाले लगानी उठाउन समन्वय समितिको शर्त मान्ने पक्षमा देखिएका छन् ।

छलफलमा एकमत नभएपछि छलफल सकिएको भन्दै प्रहरी प्रशासनले पीडितलाई छलफल स्थलबाट बाहिर जान अनुरोध गरेको थियो । 

सर्तानुसार अब वराह पीडितले समन्वय तथा अनुगमन समितिको समन्वयअनुसार इच्छाएको जग्गा रकम थप गरेर लिनुपर्ने छ, अन्यथा सात वर्षसम्म पर्खेर लगानी फरफारक गर्नुपर्ने छ ।