माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहयात्रा उपलब्धीमूलक नभएको टिप्पणी गरिरहँदा कांग्रेसभित्रसमेत यसको समीक्षा भएको छ  । 

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि देखाएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको आधारमा कार्य गर्न नसकिए गठबन्धनको भविष्य सङ्कटमा पर्ने शर्माको निष्कर्ष छ ।

कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी गर्दै शर्माले प्रतिवेदनमा लेखेका छन्, ‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ ।’ 

केन्द्रीय समिति बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । उनले कोशी प्रदेशमा सरकार गठन गर्दा देखिएका घटनाक्रमले पार्टीभित्र द्वन्द्व सिर्जना गरेको ठहर गरेका छन् ।

‘माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वास कायम हुने पर्छ ।’

अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न ।’ शर्माले भनेका छन् ।

गठबन्धनबाट १८ जना देशभर निर्वाचित हुँदा माओवादी केन्द्रको उम्मेदवार चम्पादेवी कार्की मात्रै कोशीमा पराजित भएकी थिइन् । 

नेता डा.शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर कोशीमा सरकार बनाएपछि कांग्रेसभित्र विवाद उत्पन्न भएको थियो । एमालेको समर्थनमा कोइराला निकट प्रदेश सांसद केदार कार्कीले मुख्यमन्त्री बनेका थिए । कांग्रेस र माओवादी बीच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने सहमति भएको थियो । त्यसको विरुद्धमा कोइराला पक्षका सांसद उत्रिएका थिए । सभापति शेरबहादुर देउवा र दुई महामन्त्री माओवादीलाई मुख्यमन्त्री दिन तयार रहेको भन्दै कोइराला पक्षधर रुष्ट बनेको थियो ।