मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
एक महिलामाथि कुटपिट गर्दै मलमूत्र खुवाएको आरोपमा बूढीगङ्गा–७ की ५० वर्षीय पारो माझीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी माझीले ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । घटना बिहीबार दिउँसो २ बजेतिरको भए पनि प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो । पक्राउ परेकी माझीले गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएको उनको भनाइ छ । प्रहरीका अनुसार धामीझाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टमपूजामा प्रयोग गरिएको दियो हराएको थियो ।
दियो हराएको घटनामा अमानवीय व्यवहार
पूजाको दियो हराएको विषयलाई लिएर अमानवीय व्यवहार गरिएको पाइएको छ । पीडितालाई चोरीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको डिएसपी दाहालको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए । उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । ‘यस्तो काम बोक्सीबाहेक अरूले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो भन्दै कुटपिट गरेको पनि देखियो’ डिएसपी दाहालले भने । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको डिएसपी दाहालले जानकारी दिए ।
त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गर्दा पनि जबर्जस्ती खुवाएको प्रहरीलाई जानकारी गराएकी छन् । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेको प्रहरी बताउँछ । आरोपित माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी दाहालको भनाइ छ ।
पाँचदेखि ८ वर्षसम्म हुन सक्छ कैद
बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको आरोपमा पक्राउ परेकी पारो माझीलाई प्रहरीले बोक्सी आरोपको कसुरमा मोरङ अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार उनको कसुर पुष्टि भए पाँच वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।