धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी गेट डोजर लगाएर भत्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार माओवादी केन्द्रको धरान–१९ का नेता सन्तोष लिम्बूको नेतृत्वमा डोजर चलाएर गेट भत्काइएको थियो । त्यसरी गेट भत्काएको आरोपमा प्रहरीले डोजर चालक  उदिम खड्का र डोजरधनी प्रदीप क्षेत्रीलाई नियन्त्रणमा लिएको थियोे ।

आइतबार उनीहरूलाई म्याद थप गर्न अदालत लैजाने क्रममा आइतबार इलाका प्रहरी कार्यालयअगाडि प्रहरीको गाडी छेक्न माओवादीका स्थानीय कार्यकर्ता पुगेका थिए । सो क्रममा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीले अवरोधमा उत्रिएकालाई नियन्त्रणमा लिएर प्रहरीले दुवैलाई म्याद थपका लागि लगेको थियो ।

स्थानीय माओवादी नेता सन्तोष लिम्बूले प्रतिष्ठानको दक्षिणतर्फको गेट खोल्ने विषयमा पटक–पटक छलफल गर्दासमेत गेट नखोलिएकाले भत्काइएको बताए ।

लिम्बूले आफूहरूले भेट भत्काउनु गल्ती भएको स्वीकार गर्दै मुद्दा फिर्ता लिएर पक्राउ परेकालाई छाडिए गेट बनाइदिन आफूहरू तयार रहेको बताए । यो विषयमा प्रतिष्ठान प्रशासनसँग पनि छलफल भइरहेको उनले जानकारी दिए ।