धरान । ई–रिक्सा महिलाहरूको लागि जीविकोपार्जनको माध्यम बन्दै गएको छ। धरान उपमहानगरपालिका –१५ की धनकुमारी लिम्बूले विगत सात वर्षदेखि ई–रिक्सा चलाउँदै आएकी छन् ।
‘पढाइलेखाइ छैन, अरू काम गर्न पढाइलेखाइ चाहिन्छ, पढ्न नसकेपछि यही पेसा सजिलो भएको छ’ उनी भन्छिन्, ‘पहिला घरधन्दा सकेर घरमै बसिन्थ्यो। अहिले ई–रिक्सा कुदाएर दिन बिताउँछु ।’ ई–रिक्सा धेरै महिलाका लागि आर्थिक उपार्जनको मेलो बनेको छ।‘ई–रिक्सा आएदेखि हामीजस्ता महिलाले रोजगारी पाएका छौँ’–उनले भनिन्। उनको श्रीमान् वैदेशिक रोजगारीमा छन्।
आफूले कमाएको पैसा घरखर्च चलाउने र श्रीमान्को पैसा बचत गर्ने गरेको सुनाउँछिन्। ‘महिलाका लागि यो पेसा सजिलो छ’ उनले भनिन्, ‘घरखर्च चलाउन दुःख हुँदैन ।’ उनले एक लाख ९० हजार रुपैयाँमा सफारी किनेर चलाउन सुरु गरेको बताइन् । उनका अनुसार राम्रो कमाइ हुँदा मासिक २५ देखि ३० हजार रुपैयाँसम्म हुने गरेको छ।
‘सुरु–सुरुमा कुदाउँदा लाज पनि लाग्यो, अप्ठ्यारो पनि लाग्यो, पछि विस्तारै बानी भइयो । अब त लाज लाग्न पनि छाड्यो। सिकियो पनि’ –उनी भन्छिन्। उनी जस्तै धरान–५ की रीता राई पनि विगत तीन वर्षदेखि सफारी कुदाउन थालेको सुनाउँछिन् । उनले सफारी आएपछि महिलालाई पनि रोजगारका लागि सजिलो भएको बताइन्। ‘अरू कामभन्दा यो काम हामीजस्ता महिलाका लागि सजिलो हुन्छ । अप्ठ्यारो र साह्रो काम गर्न सकिँदैन’–उनी भन्छिन् ।
उनले एक लाख ६० हजार रुपैयाँमा ‘सेकेन्ड ह्यान्ड’ ई–रिक्सा किनेको बताइन्। ‘सात महिनामै लगानी उठाएँ, अल्छी नमानी कुदाउँदा यही पेसाबाट पनि राम्रै कमाइ हुन्छ’ उनले भनिन्, ‘घरखर्च गरेर पनि महिनाको ६ हजार रुपैयाँ बचत हुन्छ ।’
पूर्वका अधिकांश क्षेत्रमा महिलाहरू पनि ई–रिक्सा कुदाइरहेका भेटिन्छन्। यो पेसाले महिलाका लागि आत्मनिर्भर बन्न सजिलो भएको छ। विगत दुई वर्षदेखि ई–रिक्सा कुदाउँदै आएकी धरान–५ कै अमृता राई पनि जीविकोपार्जनका लागि सहज भएको बताउँछिन्। धेरै ठाउँमा काम गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘अरूको अह्रनखटनमा काम गरिरहनु परेन । पैसा पनि देखिरहने। ज्याला मजदुरी पनि गरियो । धेरै दुःख पनि हुने। महिलालाई त झन् गाह्रो हुने । यो कुदाउन थालेपछि सजिलो भएको छ ।’
उनका अनुसार न्यूनतम् पनि दैनिक ६–७ सय रुपैयाँ हुने बताउँछिन्। ‘राम्रो कमाइ हुँदा त दिनको १२ सय रुपैयाँसम्म हुन्छ’ उनी भन्छिन्, ‘ब्याट्री र मेसिनमा समस्या आउँदा हो अलिकति खर्च हुने। नत्र त राम्रै छ।’ उनीहरूका अनुसार महिलाहरूलाई स्थानीय सरकारले तालिम दिए राम्रो हुन्छ। महिलालाई तालिम दिए विदेश जानुपर्ने बाध्यता हट्ने, महिला ठगिने र बेचिने समस्या पनि हट्ने उनीहरू बताउँछन्।
धरानमा कति सङ्ख्यामा महिला ई–रिक्सा चालक छन् भन्ने चाहिँ यकिन छैन। स्थानीय सरकारसँग पनि त्यसको तथ्याङ्क छैन। ई–रिक्सा चालकहरूलाई सडक नियमबारे थाहा नहुँदा समस्या व्याप्त छ । यस्ता समस्यालाई निराकरण गर्न स्थानीय सरकार, ट्राफिक प्रहरी मिलेर ई–रिक्सा चालकहरूलाई सचेतना साथै तालिम दिनु आवश्यक छ ।