विराटनगर । मोरङ बूढीगङ्गा गाउँपालिका–४ प्रगतिटोलमा एकै परिवारका दुईसहित तीनजना बालबालिकाको ज्यान गएको छ ।
सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक–खण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुङ्गा बोकेको आर.जे. २९ जीबी १५६१ नम्बरको लरीमा लोड भएको ढुङ्गा नहरसँगै जोडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा तीन जनाको मृत्यु भएको हो । उनको चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सात वर्षीया रिया खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मृतक इसिता र निशान्त ५५ वर्षीय ज्योतिका जुम्ल्याहा छोराछोरी हुन् । ज्योति पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक दाजुबहिनी घरको प्यासेजमा खेलिरहेका थिए । अर्की बालिका खवास भने पसलमा बाबुसँग सामान किन्न पुगेकी थिइन् । शुक्रबार बिहान करिब साढे ७ बजे ज्योतिका जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसलअगाडि खेलिरहेका थिए । उनका घर नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिट्टी बिछ्याइएको थियो । साँघुरो सडकमा २४ सै घण्टा सवारी साधन कुदिरहन्थे । शुक्रबार बिहान करिब साढे ७ बजे आर.जे. २९ जी.बी. १५६१ नम्बरको लरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुरतर्फ जाँदै थियो । स्तरोन्नति भइरहेको सडकमा अप्ठ्यारो गरी आउँदै गरेको लरी अधिकारीको घरअगाडि आइपुगेपछि पल्टियो । लरी पल्टिँदा डालीमा लोड गरिएको ठूला मार्बल ढुङ्गाले तीनजना बालबालिकालाई किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच घण्टापछि घाइतेको उद्धार
दुई टनभन्दा ठूल्ठूला ढुङ्गाले किचेपछि तीनजना बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने बुबा ज्योति चाहिँ घाइते भएका थिए । उनको खुट्टामा ढुङ्गाले किचेको थियो । करिब ५ घण्टापछि उद्धार गरी विराट मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बिहान साढे ७ बजे ढुङ्गाले दाहिने खुट्टा थिचिएका उनलाई तीनवटा क्रेनको सहयोगले १ बजे उद्धार गरेर अस्पतालमा उपचारका लागि लगिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । ‘उद्धारमा समय लागेपछि घाइतेलाई घटनास्थलमै अक्सिजन लगाएर राखिएको थियो । अक्सिजनको कमी नहोस् भन्नका लागि चिकित्सकको सल्लाहमा अक्सिजन दिएर राखिएको थियो’–उनले भने ।
बाबुकै अगाडि अस्ताए
ज्योति र आशाको १८ वर्षपछि आइबिएफ गरेर जुम्ल्याहा सन्तान भएका थिए । इसिता र निशान्त बूढीगङ्गामा रहेको स्मृति बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत थिए । रिहा कक्षा १ मा सरस्वती स्कुलमा अध्ययनरत थिइन् ।
अधिकारी दम्पती पसल सञ्चालन गर्दै प्रगति टोलमा बसेका थिए । शुक्रबार बिहान ज्योति र आशा सबेरै उठेका थिए । ज्योति छोराछोरीसँग खेल्दै थिए । ‘त्यही क्रममा सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक–खण्डमा मार्बल उद्योगको कच्चा पदार्थ करिब २५ टन जतिको ढुङ्गा खस्यो । उक्त ढुङ्गा अधिकारीको पसलअगाडि खसेपछि छोराछोरीसहित तीनजना बालबालिकालाई किच्यो । तीन जनाको घटनास्थलमै मृत्यु भयो’–प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै बूढीगङ्गा–४ का अध्यक्ष शशीकान्त चौधरीले भने । रिहा बुबा संयोग खवाससँग पसल जान पछ्याउँदै थिइन् । बाबुसँग सामान किन्न गएकी रिहाको पसल पुग्न लाग्दा ढुङ्गाले थिचेर मृत्यु भएको थियो ।
घाइते भएका ज्योतिलाई भने प्रहरीले करिब पाँच घण्टाको प्रयासपछि उद्धार गरेको छ । तर, दुई सन्तान घटनास्थलमै बिते । दुई सन्तान बितेपछि अधिकारी परिवार विक्षिप्त छन् । प्रहरीका अनुसार भारतबाट कोलयपुरस्थित अन्नपूर्ण मार्बल उद्योगका लागि मार्बल ब्लक लिएर आएको लरी उद्योग पुग्नुभन्दा करिब २ किलोमिटरअगाडि पल्टिएको हो । लरीमा लोड भएको मार्बल ढुङ्गा झर्दा बालबालिकासहित अधिकारीको घरमा क्षति पुगेको छ । प्रहरीले क्रेनको सहायताले लरीलाई हटाएर मृतकको शव ६ घण्टापछि दिउँसो २ बजे निकालेको थियो ।
घटनापछि लरी चालक फरार छन् । फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ओभर लोड भएको लरी साँघुरो र निर्माणाधीन सडक भएका कारण दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘क्षमताभन्दा बढी लोड र अहिले निर्माणाधीन सडकको सडकको कारणले अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ डिएसपी दाहालले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
ओभर लोड र निर्माणाधीन सडकको कारण दुर्घटनाः प्रहरी
ओभर लोड भएको लरी साँघुरो र निर्माणाधीन सडक भएका कारण दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘क्षमताभन्दा बढी लोड र अहिले निर्माणाधीन सडकको कारणले अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ डिएसपी दाहालले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
सडक निर्माण गर्ने नाममा सडक भत्काउने र लामो समयसम्म त्यतिकै छाडिदिने प्रवृत्तिले बारम्बार दुर्घटना भइरहेका छन् । दुर्घटना हुनुमा सडक निर्माणको काम सुरू गर्ने ठेकेदारको कमजोरी भएको बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले बताए । गाउँपालिकाले सडकलाई भत्काएर नबनाई लामो अवधि त्यसै छाड्ने ठेकेदारलाई कारबाही गर्ने पनि उनले बताए ।