इनरुवा । भारतसँग सीमा जोडिएको भेगमा बसोबास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल (एसएसबी)को ज्यादती बढ्दै गएको गुनासो पोखेका छन् ।
स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष नेपालीबासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् । उनीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायाण आचार्यसहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुखसमक्ष आफ्ना गुनासा राख्ने क्रममा एसएसबीको ज्यादतीबारे जानकारी गराए । सो क्रममा उनीहरूले एसएसबीले नेपालीहरूलाई अनावश्यक दुःख दिने गरेको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीसमेतको उपस्थितिका बीच एसएसबीको कार्यशैलीको आलोचना गरेका स्थानीयले ‘काउन्टर पार्ट’ को बैठकमा सो विषय उठान गर्न मागसमेत गरेका छन् ।
सीमाक्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको उनीहरूको भनाइ थियो । उनीहरूले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकाय समक्ष दुःखेसो पोखे । सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ । सीमामा रातदिनको सुरक्षा तैनाथीका बावजुद चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाइ छ ।
सुरक्षा अधिकारीसमक्ष गुनासो र सुझाव राख्ने क्रममा हरिनगर गाउँपालिका–६ का सदस्य जहाकिर अन्सारीले भने, ‘भारतीयतर्फका सुरक्षा निकायले आफ्नो क्षेत्रमा आउने सरसामान र नेपाली व्यक्तिउपर निगरानी राख्ने गर्छ । तर, भारतबाट नेपाल भित्रिने सरसामान र व्यक्तिको सवालमा भने रोकतोक गर्दैन । जसले नेपाली भूमिमा चोरी तस्करी मौलाउँदै गएको छ ।’ यस्तै पूर्व वडाध्यक्षसमेत रहेका स्थानीयबासी अताबुल अन्सारीले भने, ‘रातको समयमा खुलारूपमा पारिबाट मोटरसाइकल र गाडीमा मान्छे निर्वाध आउँछन् । नेपाली भूमिका चौपाया दिनहुँ चोरी भैरहेका छन् । खोज्दै जाँदा चोरी भएका चौपाया भारतीय बस्तीमा फेला पर्छ तर, फिर्ता ल्याउन मोटो रकम फिरौती तिर्नु नेपालीको बाध्यता छ । जसतर्फ राज्यले विशेष चासो लिनु पर्छ ।’
यस्तै सुरक्षा निकायसमक्ष सीमा क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै अर्का स्थानीय दिलमहम्मद मियाँले भारतीय सुरक्षाकर्मीबाट नेपालीले राम्रो व्यवहारको अनुभूति अहिलेसम्म गर्न नपाएको बताए । केवल नेपालीले एसएसबीको धाकधम्की र त्रास सहनु परिरहेको उनले बताए । यता तीन दिने पैदल यात्रामा निस्केको प्रजिअ नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलीले दशगजाको अवस्था निक्र्योल गरी स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराउने बताएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी आचार्यले पैदल यात्राको उद्देश्य सीमाबासीसँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधनका लागि भएको बताए । यात्राको क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी प्राप्त हुने उनको बुझाइ छ । प्रजिअ आचार्यले भने, ‘सीमा सुरक्षाको मुद्दा र दशगजा क्षेत्रको अवस्थाका बारेमा आवश्यकता बमोजिमका कदम चाल्न पैदल यात्रा महत्वपूर्ण हुनेछ ।’
प्रजिअ आचार्यले स्थानीयले उठाएका विषयमा सुनसरी प्रशासन गम्भीर रहेको समेत बताए । उनले सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणलगायतका सवालमा मातहतका सुरक्षा निकायलाई कडाइका साथ निर्देशन दिइसकिएको समेत बताए । प्रजिअ आचार्यले एसएसबीबारे नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्ने विषय र फोहोर मिल्काउने गरेको जस्ता स्थानीयका मुद्दा उपर भने दुई देशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताए । स्थानीयका सुझाव र गुनासाको सवालमा सशस्त्र प्रहरी बल पकलीका बाहिनीपति अञ्जनीकुमार पोखरेल र कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले समेत सङ्गठनको तर्फबाट चालिने कदम र मातहतलाई दिइएको निर्देशनबारे अवगत गराएका थिए । कोशी प्रदेशका दुवै डिआइजीले शून्य सहनशीलताको कार्यान्वयन, चोरी तस्करी नियन्त्रण,सीमा सुरक्षाजस्ता विषय आफूहरूको कार्यकालको प्रमुख प्राथमिकताको विषय रहेको बताए ।