विराटनगर । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले एक वर्षमा नेपाल–भारत सीमा नाकाबाट झण्डै दुई सयजना महिला तथा बालबालिकाहरूको उद्धार गरेको छ ।
विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको अवस्थामा नेपाल–भारत मोरङको सीमा नाकाबाट सन् २०२३ देखि सन् २०२४ फेबु्रअरीसम्म १ सय ७४ जनालाई उद्धार गरेको हो । माइती नेपालले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी मोरङका रहेको जानकारी गराएको छ । भारत जाने क्रममा नाकाबाट मोरङलगायत २२ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचबिखन हुनबाट जोगाएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।
कुन जिल्लाबाट कति भए उद्धार ?
मोरङबाट ५४ जना उद्धार गरिएको पोखरेलले जानकारी दिए । उद्धार गरिएका ५४ मध्ये विराटनगरका ११ जना रहेका छन् । बेलबारीका ६, सुन्दरहरैंचाका ८, रङ्गेलीका ६, रतुवामाईका ६, सुनवर्षीका ३, पथरीशनिश्चरेका १, उर्लाबारी नगरपालिकाका २, धनपालथानका ३, ग्रामथानका २, कानेपोखरीका २, कटहरीका २ र बूढीगङ्गा गाउँपालिकाका १ जनाको उद्धार गरिएको माइती नेपालको अभिलेखमा देखिन्छ ।
यसैगरी कोशी प्रदेशको १४ वटा जिल्लाबाट मात्र १ सय ६३ जनाको सीमा नाकाबाट उद्धार गरिएको पोखरेलले बताए । सुनसरीका ३४, झापाका १७, उदयपुरका १०, सङ्खुवासभा ६, सप्तरी ८, तेह्रथुम ६, भोजपुर ११, इलाम ६, खोटाङ ५, सिन्धुली र पाँचथरका १–१ जनाको उद्धार गरेको तथ्याङ्कमा देखिन्छ । यस्तै सिरहाका ४, ताप्लेजुङका २, धनुकटाका २, म्याग्दी, कैलाली, काभ्रे, रौतहट, रूपन्देही, धनुषा र ओखलढुङ्गाका १५ जनाको उद्धार गरिएको छ ।
बेचिनेमा जनजाति समुदायका महिला बढी
उद्धार गरिएकामध्ये सबैभन्दा बढी जनजाति सामुदायका महिलाहरू रहेको पाइएको छ । माइती नेपालले उद्धार गरेकामध्ये १८ वर्षभन्दा माथिका युवतीहरू धेरै छन् । १८ वर्षभन्दा माथिका १ सय ३२ जनालाई उद्धार गरेको माइती नेपालका संयोजक विनोद पोखरेलले जानकारी दिए । १८ वर्षभन्दा मुनिका ४२ जना किशोरी रहेका छन् । ‘किशोरी र युवतीहरूलाई विभिन्न प्रोलभनमा पारी यौन कर्ममा लगाउन पनि लगेको पाइएको छ’ उनले भने, ‘मानव बेचबिखनमा अहिले नयाँ तरिका अपनाउने गरेका पाइएको छ ।’ सीमावर्ती क्षेत्रमा सामाजिक सङ्घ–संस्थाहरूले सक्रियता बढाएपछि मानव बेचबिखन गर्ने गिरोहले नयाँ तरिका अपनाउने गरेको उनले बताए ।
‘गाउँका सिधासादा किशोरीहरूलाई आकर्षक तलब हुने भनेर यहाँबाट फकाएर लैजान्छन् । भारततिर पु¥याएपछि वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ’ उनले भने, ‘बेचबिखन गर्न लैजाने गिरोहले सबैभन्दा बढी सामाजिक सञ्जाल, भाइबर र वाट्स एप प्रयोग गरेको पाइएको छ ।’ दिउँसोभन्दा राति र बिहानको समयमा बेचबिखन गर्न लैजाने गरेको बताइएको छ । एक वर्षमा माइती नेपालबाट १३ हजार ८ सय ८३ जनाले सेवा पाएको अभिलेखमा देखाइएको छ ।