सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोशी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारी साधनहरू पूर्व–पश्चिम र उत्तर–दक्षिण जान्छन् । २०३० सालतिर पूर्व–पश्चिम सडक– खण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो । यसअघि इटहरीको बजार अहिलेको बजार क्षेत्रभन्दा टाढा थियो । इटहरी उपमहानगरमै पर्ने पकली पहिला गुल्जार थियो ।
तर, पूर्व–पश्चिम सडक–खण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको सङ्ख्या दिनदिनै बढिरहेको छ । इटहरी उपमहानगरपालिको तथ्याङ्कअनुसार इटहरीमा बर्सेनि २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसङ्ख्या पनि बढिरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसङ्ख्या १ लाख ९८ हजार ९८ छ । २०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धुरी थिए । इटहरीको जनसङ्ख्या ०६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो । योबाहेक इटहरीमा व्यापार गर्न, अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको सङ्ख्या झण्डै ३ लाख रहेको अनुमान छ । यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधिक छ । किन इटहरीमा बसाइँ सराइको चाप बढिहरेको छ त ? इटहरीका नगर प्रमुख हेमकर्ण पौडेल भन्छन्, ‘बसाइका लागि उपयुक्त सहर भएर ।’ इटहरीमा बसाइँ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी बताउँछन् । पहाडबाट तराईमा बसाइँ सरेर झर्नेहरू इटहरीमा रोकिए । विराटनगरलगायतका सहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन् । उनले भने, ‘मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाइँ सराइको चाप बढेर गयो ।’ इटहरीमा ३० को दशकमा पूर्व–पश्चिम सडक बनेसँगै बसाइँ सरेर आउने क्रम सुरु भइसकेको थियो । २०४५ को भूकम्पमा मानवीय एवम् भौतिक क्षतिपछि धेरै धरानबाट पनि सुरक्षित बसाइका लागि मानिसहरू इटहरी झरेको केही मानिसहरू बताउँछन् ।
घर मात्रै बनेनन्, व्यापार पनि बढ्यो
इटहरीमा घर मात्रै बनेका छैनन् । यहाँ ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन् । कोशी प्रदेशमै पहिलोपटक डिपार्टमेन्ट कल्चर इटहरीबाट सुरु भएको मानिन्छ । इटहरी पछिल्लो समय रेडिमेड व्यवसायको हबको रूपमा विकास भइरहेको छ । यहाँ होलसेल व्यापार हुन्छ । कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ । धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ । नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको हो ।
नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४ वटा गाउँपालिकाहरू गाभिएका छन् । देशलाई जोड्ने यातायात सञ्जालसँगै इटहरीमा होटेल व्यवसायसमेत फस्टाएको छ, इटहरीमा अहिले पाँचतारे होटेल खुलेको छ । ‘इटहरीको सम्भावना छ भन्ने देखेर इटहरीलाई बसोबासका रूपमा रोजेको हुँ’ तेह्रथुमबाट इटहरीमा बसाइँ सरेका राधाकृष्ण घिमिरेले भने, ‘भौतिक पूर्वाधारको विकास पनि भइरहेको छ । सुरक्षाको अवस्था पनि राम्रो छ । बस्नका लागि इटहरी राम्रो लागेको छ । उनका अनुसार शिक्षा, स्वास्थ्यजस्ता कुराले पनि इटहरी उपयुक्त स्थलको रूपमा विकास हुँदै आएको छ ।’
‘बाटो घाटोको हिसाबले त सजिलो भई नै गयो’ धनकुटाबाट बसाइँ आएका पदमलाल गिरीले भने, ‘यहाँबाट जता जान पनि बाटोको हिसाबले सहज भएको छ ।’
सुरक्षामा मजबुत इटहरी
इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ । यस्तै इटहरीमै सशस्त्र प्रहरीको वराह बाहिनी पनि छ । इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरूले इटहरीलाई बसोबासको उपयुक्त स्थलको रूपमा लिने गरेका छन् । यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ । इटहरीका चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको छ । यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए । उनले स्थानीय र उपमहानगरसँग मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताए । उनका अनुसार अहिले इटहरी उपमहानगरको मुख्य चोकमा सिसी क्यामेराबाट अनुगमन गर्ने काम भइरहेको स्थानीय तहसँगको समन्वयमा सिसी क्यामेरा राखेको छ । सिसी क्यामेराका कारण अपराध अनुसन्धानमा सहज भएको छ ।
पूर्वाधार विस्तारले आकर्षण
इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउन सुरु भैसकेको उपमहानगरले जनाएको छ । यसअघि ढल निकासमा सन्तोषजनक काम नभए पनि अहिले यसलाई तीव्रता दिइएको छ । वर्षौंदेखि अल्झिएको कोशी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा छ । फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । इटहरी भएर बग्ने टेङ्ग्रा र शेहरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास भने कायमै थियो । तर, यसपालिदेखि इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम सुरु भैसकेको नगरप्रमुख हेमकर्ण पौडेल बताउँछन् । उनले भने, ‘पूर्वाधार विकासको विस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्तस्थलको रूपमा मानिसहरूले लिने गरेका छन् । यो काममा उपमहानगर अझै लाग्नेछ ।’
स्वास्थ्य र शिक्षा उपमहानगरको प्राथमिकता
इटहरीले विभिन्न कोणबाट आफूलाई चिनाउने प्रयास गरिरहे पनि सार्थक हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता नगरबासीलाई छ । यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम सुरु भैसकेको उपमहानगरपालिकाको दाबी छ । खासगरी तराई आन्दोलनपछि इटहरीमा जनघनत्व ह्वात्तै बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्त–व्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो । सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाई विस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो । यही चुनौतीलाई अवसरको रूपमा बदल्न मुख्य चौक क्षेत्रमा आकाशे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।