धरान । धरान उपमहानगरपालिका–१५ स्थित शिक्षा सदन मा.वि.को ६८ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।
स्कुलले तीन दिने कार्यक्रममार्फत् दोस्रो दिन गरेको रक्तदान कार्यक्रममा ५६ युनिट रगत सङ्कलन भएको स्कुलका शिक्षक कृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार स्कुलका विद्यार्थी, शिक्षक र स्थानीयबासीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसा–पत्र पनि प्रदान गरिएको थियो । स्कुलको वार्षिकोत्सव आज (बिहीबार) हुँदै छ । स्कुलले पहिलो दिन भानुचोकमा सरसफाइ कार्यक्रम गरेको थियो ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा रहेका थिए । यसैबीच शैक्षिक गुणस्तर केन्द्रबाट विद्यालयलाई प्राप्त पाँच लाख रुपैयाँ सहयोगले आईसिटी ल्याव निर्माण गरिएको थियो ।
उक्त ल्यावको पनि उद्घाटन गरिएको छ । यसैक्रममा अतिरिक्त क्रियाकलापको पुरस्कार र सरकारी छात्रवृत्तिसमेत वितरण गरिएको शिक्षक सापकोटाले जानकारी दिए । स्कुलका प्रधानाध्यापक अमर बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।