विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले राम्रोसँग अध्ययन नगरी ल्याएका कतिपय योजना असफल बनिरहेका छन् ।
लहडका भरमा ल्याइएको एउटा त्यस्तै योजना हो, सडकछेउमा खोर्सानी रोप्ने काम । श्रमदाता, सहयोगीदेखि उपमहानगरको समेत लगानी रहेको खोर्सानी रोप्ने योजना अहिले बालुवामा पानी खन्याएसरह देखिएको छ ।
गतवर्ष नगर प्रमुख राईले सडकमा नै खोर्सानी उत्पादन गरेर आत्मनिर्भर बनाउने भन्दै सडक किनारमा खोर्सानी रोप्ने अभियान चलाए । त्यसक्रममा धरानको धनकुटे रोड सडक किनारमा खोर्सानी रोपिएका थिए । त्यसबेला उनले सबै सामु भनेका थिए, ‘घरछेउका बिरुवाको स्थानीयले नै संरक्षण गर्नुपर्छ ।’
विडम्बना अहिले नगर प्रमुख राईको घर अगाडि नै खोर्सानीका बिरुवाको संरक्षण त होइन, गमला नै गायब भएका छन् । धेरै ठाउँमा अहिले गमला छैनन् भने गमलामा रहेको खोर्सानीका बिरुवा पनि कतै मरिसकेका छन् भने नमरेका बिरुवा पनि सप्रिन सकेका छैनन् ।
खोर्सानीका बिरुवा विभिन्न दाताको आर्थिक सहयोग र श्रमदानबाट रोपिएका हुन् । सडकछेउमा जथाभावी खोर्सानी रोप्नु उपयुक्त छ कि छैन ? भन्ने सामान्य अध्ययनसमेत नगरी हचुवाका भरमा बिरुवा रोपिँदा आर्थिक सहयोग र श्रमदान खेर जाने अवस्थामा छ । एक नर्सरीका सञ्चालकका अनुसार गमलासहितको खोर्सानी रोप्दा प्रतिबोट करिब पाँच सय रुपैयाँ खर्च हुन्छ । यही हिसाबले पनि धनकुटे रोडमा रोपिएका खोर्सानीमा लाखौं रुपैयाँ खर्च भएको देखिन्छ ।
अहिले धरानमा खानेपानीको अभाव भइरहेका बेला खानेपानी बोर्डको गाडीले खोर्सानीमा पानी हाल्ने गरेको छ । नाम बताउन नचाहने एक स्थानीय भन्छन्, ‘सुरुमा त हामीले पनि राम्रै होला भन्ने सोचेर सहयोग गर्यौँ तर, अहिले खोर्सानीको अवस्था गरिखाउँ कि मरि जाउँजस्तो भएको छ ।’
अध्ययन विनै लहडका भरमा रोपिएकाले खोर्सानी मर्न थालेको र कति ठाउँमा गमला नै हराएको स्थानीयले पनि अनुभूति गरेका छन् । तर, उनीहरू खुलेर नगर प्रमुख राईको विरोध गर्न डराउँछन् । एक जना स्थानीय भन्छन्, ‘यो तालले खोर्सानीबाट आत्मनिर्भर हुने होइन, लगानी पनि बालुवामा पानी खन्याएजस्तो भइरहेको छ ।’