बाँदरले देशका अधिकांश भू–भागमा त्राहिमाम बनाएको खबरहरु बाहिरिँदै आएका छन् । कतिपय स्थानमा बाँदरको त्रासले गर्दा रूख काट्ने अभियानसमेत चल्यो । गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका–१९ मा वडाध्यक्षकै निर्देशनमा रूख काट्ने अभियान चलाइयो । जसका विरूद्धमा सामाजिक सञ्जालमा तीव्र आलोचना भयो । बाँदरलाई धपाउने रणनीतिका रुपमा रूख काट्ने अभियान चलाइएको थियो । जुन वैज्ञानिक विकल्प थिएन । आलोकाँचो ढङ्गले गरिएका यस्ता निर्णय सामाजिक सञ्जालमा ट्रोल बन्न पुग्यो । यस्ता निर्णय गर्दा वैज्ञानिक विधि तथा तरिका अवलम्बन गरिनुपथ्र्यो; त्यसो हुन सकेन । बाँदर आतङ्कलाई निराकरण गर्न देशभरिका स्थानीय तहहरु कुनै न कुनै रुपमा लागिपरेका छन् । यो समस्या सुनसरीको इटहरी उपमहानगरपालिकामा सुरू भएको छ । धरानमा त यो पुरानै समस्या हो । धरानबाट त बजेट नै विनियोजन गरी बाँदरलाई पक्रेर अन्यत्र छाडिएको थियो र पनि समस्या निराकरण हुन सकेको छैन । अहिले पनि समस्या उस्तै रुपमा छ । इटहरीमा पनि अहिले समस्याको रुपमा देखिएको छ । कतिपय गाउँपालिका, नगरपालिकाहरुका बासिन्दा बाँदरकै कारण बसाइँ सरेका समाचारहरु पनि बाहिरिएकै हो । यो समस्या अहिले एउटा जल्दोबल्दो मुद्दाको रुपमा रहेको छ ।
बाँदर आतङ्कलाई दुई तरिकाले बुझ्नुपर्छ । एउटा जङ्गल मासिँदै गएकाले बाँदरहरु गाउँतिर प्रवेश गर्न थालेको देखिन्छ । दोस्रो, भएको जङ्गलमा खानेकुरा पाउन छाडेपछि बाँदरहरु आहाराको खोजीमा गाउँतिर प्रवेश गरेका छन् । अमूर्त कारण चाहिँ मानव बस्तीको जनघनत्व बढ्दै जाँदा बाँदर बस्ने जङ्गल अतिक्रमणमा पर्दै गएको छ । अर्कोतर्फ मानवले पनि कुनै न कुनै रुपमा बाँदरलाई खानेकुरा दिएर पल्काइरहेका छन् । जसले गर्दा बाँदरले त्यसको स्वाद पाउन थालेको छ । यस्ता विविध समस्याले गर्दा बाँदरहरु बस्तीतिर प्रवेश गरेको देखिन्छ । यसलाई अन्त्य गर्नका लागि वैज्ञानिक व्यवस्थापन गर्न जरूरी छ । यसका लागि स्थानीय तहहरुले घनिभूत रुपमा छलफल गर्न आवश्यक छ । बाँदरको वैकल्पिक व्यवस्थापनका लागि फल लाग्ने खालका बोटबिरूवाहरु रोपेर व्यवस्थापन गर्न सकिन्छ । यसले तत्कालै व्यवस्थापन नहोला तर, यसका लागि लामो समय अभ्यास गराउन जरूरी छ । जसरी बाँदरहरु बस्तीमा प्रवेश गराउनका लागि मान्छेले नै कुनै न कुनै रुपमा बानी लगायौँ । त्यो बानी अहिले प्रवृत्तिमा परिणत भयो । जसले फल अहिले हामीले भोगिरहेका छौँ । धरानले बाँदरको समस्या भोगेको आज हैन । धेरै अगाडिदेखि नै हो । यस्तै इटहरी क्षेत्रमा पनि बाँदरको वैकल्पिक व्यवस्थापनका लागि स्थानीयले केही नयाँ उपायहरु रचिरहेका छन् । यस्ता उपायहरुले सार्थकता प्राप्त गर्न जरूरी छ । अन्यथा समस्या झनै बढेर जानेछ ।
रूख काटेर समस्याको समाधान हुँदैन । यसले झन् बढाउँछ । अर्कोतिर रूख कटानले गर्दा वातावरणलाई पनि हानि पुर्याउँछ । यो उत्तम विकल्प होइन । यो मूर्ख बुद्धि मात्रै हो । यस्ता गलत हर्कतले थप समस्या निम्त्याउँछ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले फरक कोणबाट बहसमा ल्याउन जरूरी छ । गाउँबस्ती नै उठिबास लाग्ने स्थिति बनेको अवस्थामा यो मुद्दा सामान्य मुद्दा मात्रै होइन । यो राष्ट्रिय मुद्दामा हो । यसलाई सोहीअनुसार बहस र छलफलमा ल्याउँदै निदानतर्फ पाइला चाल्न आवश्यक छ । यसका लागि सबै एक ठाउँमा हुन जरूरी छ । वैकल्पिक उपायहरुको खोजीमा लाग्न आवश्यक छ । जङ्गली जनावरको समस्या आजको समस्या होइन । यो द्वन्द्वको निरुपणका लागि कुनै न कुनै नयाँ योजना ल्याउन आवश्यक छ । त्यसो हुन सकेमा मात्रै केही विकल्पहरु आउनेछन् र समस्याको समाधान पनि हुनेछ ।