इलाम । संविधानसभा सदस्य विष्णुकुमारी राई आजभोलि कृषि कर्ममा व्यस्त छिन् । उनी बिहानबेलुका भान्छाको कामबाहेक सबै समय सुपारीखेती स्याहार–सुसारमा व्यस्त देखिन्छिन् ।
राजनीतिमा लाग्ने जोकोहीले केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्छ भन्ने मान्यता राख्दै आएकी उनले अहिले पूरै समय कृषिमा लगाएकी छन् । इलामको देउमाई नगरपालिकामा जन्मिएकी उनी पुरानो राज्यसत्ता परिवर्तन गर्ने भन्दै तत्कालीन नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको सशस्त्र युद्धमा वि.सं. २०५७ देखि होमिइन् । शान्ति प्रक्रियापछि माई नगरपालिका–९ बोरुङमा पार्टीकै नेता ‘पवन किराती’ सँग जनवादी विवाह गरेपछि उनको कर्मभूमि फेरियो । वि.सं. २०६४ मा तत्कालीन नेकपाबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित विष्णुकुमारीको पाँचवर्षे कार्यकाल त्यति उपलब्धिमूलक बन्न सकेन । संविधान बनाउन संविधानसभा गएकी उनी संविधान नै नबनी संविधानसभा विघटन भएपछि आफ्नो कर्मगाउँ बोरुङ फर्केर सुपारीखेतीमा लागेकी छन् ।
इलामको राजनीतिमा माओवादीको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेकी उनी अहिले राजनीतिबाट अलगजस्तै बनेर सुपारीका बोट स्याहार्दै आएकी छन् । उनले बोरुङमा व्यावसायिक सुपारी खेती थालेकी हुन् । पार्टीले लिएको नीतिअनुसार आर्थिक क्रान्तिका लागि कृषि कर्मतिर लागेको उनी बताउँछिन् । कृषिप्रधान देश नेपालमा कृषिबाट देश विकास सम्भव रहेकाले आफू कृषि कर्मलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनी बताउँछिन् । ‘शान्ति प्रक्रिया सुरु भएदेखि नै कृषि कर्म गर्ने इच्छा थियो, संविधानसभा सदस्य भएपछि काठमाडौँ नै बसाइ भयो, कृषिमा लाग्न पाइएन’ उनले भनिन्, ‘जब पहिलो संविधानसभा विघटन भयो, त्यसपछि कृषिबाट देश विकास सम्भव देखेकाले कर्मभूमिमा फर्केर कृषिको काम थालेको हुँ ।’ उनले करिब ५० रोपनी क्षेत्रमा सुपारी खेती लगाएकी छन् । उनको सुपारी बगानमा अहिले सुपारी फल्ने र हुर्कंदै गरेका सहित करिब आठ हजार सुपारीका बोट छन् । सुपारीखेती विस्तारमा अगुवाइ गरेकी विष्णुकुमारीले बोरुङलाई सुपारी गाउँका रूपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताइन् ।
‘अहिले केही सुपारीले उत्पादनसमेत दिन थालेको छ, केही उत्पादन दिने तयारीमा छन्’ उनले भनिन्, ‘नयाँ बोट थप गरी अझ सुपारीखेती विस्तार गर्ने योजनामा छु, यस गाउँलाई सुपारी गाउँका रूपमा चिनाउने लक्ष्य छ ।’ विष्णुकुमारीले सुपारी उत्पादनबाट वार्षिक पाँच लाख बढी आम्दानी गर्दै आएको सुनाइन् । व्यापारीहरू बगानमै आएर खरिद गर्ने भएकाले उनलाई बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री हुने गरेको उनले बताइन् । ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिन्छ, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ’ उनले भनिन्, ‘यहाँका घरआँगनका डिलदेखि खेतबारी र पाखामा समेत सुपारी रोपेर आयआर्जन गर्न सकिन्छ ।’
कम लगानी र मिहिनेत पनि थोरै लाग्ने भएकाले अन्य खेतीभन्दा सुपारीखेती गर्न सजिलो हुने उनको अनुभव छ । उनले सुपारीका साथै केराखेती, अम्रिसोखेती तथा गाई र भैँसीपालन गर्दै आएकी छन् । उनको कृषिकर्ममा पति पवनको पनि राम्रै साथ छ । एक छोरासहित तीन जनाको घरपरिवार सञ्चालन गर्न सुपारीखेती नै पर्याप्त रहेको उनी बताउँछिन् । ‘शान्ति प्रक्रियापछि हाम्रा धेरै सहयोद्धा पैसा कमाउन भन्दै विदेश जानुभयो, म त्यसलाई रोक्ने अभियानका साथ गाउँघरमा नै कृषि कर्ममा लागेकी हुँ’ उनी भन्छिन्, ‘नेपाल कृषिप्रधान देश हो, निरन्तरता दिएर लाग्ने हो भने कृषिबाटै मजाले कमाइ गर्न सकिँदो रहेछ ।’
उनले सशस्त्र युद्धको बलमा नेपालको व्यवस्थामा परिवर्तन भए पनि उत्पीडित जनताको अवस्था परिवर्तन नभएकोप्रति भने चिन्ता व्यक्त गरिन् । नेपालको वर्गीय, जातीय, लैङ्गिक र भाषिक उत्पीडनका विरुद्ध आफूहरूले हतियार बोकेको स्मरण गर्दै उनले नेतृत्व कुनै न कुनै ठाउँमा चुकेको स्वीकार गरिन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश परिषद् सदस्य हुन् । उनको कृषिकर्म देखेर त्यहाँका अधिकांश किसानले समेत सुपारीखेती सुरु गरेका छन् । बोरुङ, घलेटार, निरफुकलगायतका किसानले व्यावसायिक सुपारीखेती गर्दै आएका छन् । (रासस)