आइतबार धनकुटाको चुङ्बाङ जाने महेन्द्र पिकअप दुर्घटना हुँदा नौ वर्षीया बालिकासहित १२ जना घाइते भए । बालिकाको उपचारको लागि ल्याउने क्रममा बाटोमै निधन भयो । त्यस्तै प्रदेशका विभिन्न जिल्लामा भएका दुर्घटनामा पनि तीनजनाको मृत्यु हुँदा १३ जना घाइते भए । यी दुर्घटनाको अनुपात हेर्दा नेपालमा दुर्घटना एउटा कहालीलाग्दो अवस्थामा छ भन्न सकिन्छ । दुर्घटनाका अनेकन कारण छन्ः पूर्वाधार राम्रो नहुनु, चालकको लापरबाही, सवारीको अवस्था ठीक नहुनु, ट्राफिक नियम उल्लङ्घन गर्नु आदि । यी यावत् कारणलाई ध्यान दिने हो भने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने ठाउँ छ । तर, पहल भएको पाइँदैन । शनिबार मात्रै पूर्व–पश्चिम राजमार्गअन्तर्ग बेलबारी खण्डमा तीन जनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए । यो दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाही रहेको देखिएको छ । तीव्र गतिका कारण सवारी अनियन्त्रित हुँदा बस र बोलेरो जिपमा ठक्कर दिन पुगेको थियो । यस्ता दुर्घटना दैनिक भइरहेका छन् तर, न्यूनीकरणका लागि प्रयासहरु यथेष्ट हुन सकेको छैन । प्रयास नभएको होइन तर, नियन्त्रणमा आउन सकेको छैन ।
दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हाम्रोजस्तो फरक भौगोलिक अवस्था भएको मुलुकमा पूर्वाधार नै पहिलो आधार हो । पक्की सडकको अभाव हुन्, कच्ची सडक पनि राम्रो नहुनु, साँघुरो हुनु आदि कारणले गर्दा पनि दुर्घटनाको कारण हुने गरेको छ । अर्कोतर्फ मेसिनरी सामग्रीको बेला–बेलामा मर्मत सम्भार नगरिने वा पत्रु पाटपुर्जा भइरहँदा पनि चलाइरहने मनोवृत्तिले पनि भूमिका खेलिरहेको छ । मेसिनरी चिजको राम्रोसँग ख्याल नगर्दा पनि दुर्घटनाको सिकार भइरहेका छन् । अर्कोतर्फ चालकहरुको ‘ओभर कन्फिडेन्स’ र तीव्र गतिमा हँुइक्याउने चलनले गर्दा पनि दुर्घटना भइरहेका छन् । बाटोको अवस्था, ट्राफिक नियमको उल्लङ्घन गरी चलाउँदा त्यसको असर कतै न कतै परिरहेको हुन्छ । दुर्घटना विश्वमै एउटा समस्याको रुपमा रहेको छ । यो जल्दोबल्दो मुद्दाको रुपमा पनि रहेको छ । यसलाई नियन्त्रण गर्न विश्वले विभिन्न उपायहरु लगाइरहेका छन् तर, पनि नियन्त्रणमा आउन सकेको छैन । अझ हाम्रोजस्तो भौगोलिक क्षेत्र भएको देशमा त झनै समस्या विकराल छ । हरेक दिनजसो दुर्घटना हुने र मान्छेको अकालमा ज्यान जाने समस्या व्याप्त छ । यसमा हामी सबै कुनै न कुनै रुपमा दोषी छौँ ।
चालकहरुले पर्याप्त समय आराम गर्न पाएका हुँदैनन् । अनि सार्वजनिक यातायातमा चढ्ने यात्रु पनि थरीथरीका हुन्छन् । कसैलाई तीव्र गति मन पर्छ भने कसैलाई सामान्य । हरेकको मनोविज्ञानलाई बुझेर चालकले स्टेरिङ घुमाउनु पर्ने हुन्छ । उसका पनि आफ्नै तनावहरु हुन्छन् । ती तनावलाई सम्बोधन गर्ने प्रयास भएको हुँदैन । जसले गर्दा एउटा परिस्थितिमा पुग्छन् । तर, एउटा चालकले आफूलाई मात्रै हाँकिरहेको हुँदैन । त्यहाँ सयौँ परिवारका सयौँ व्यक्तिलाई हाँकिरहेको छु भन्ने कुरालाई ख्याल गर्नुपर्छ । तर, यस्तो हुन सकेको छैन । त्यसमा माथिका कारणहरुले काम गरिरहेको हुन्छ । यसले गर्दा दुर्घटना न्यूनीकरणमा सबैको उत्तिकै भूमिका छ । जति राज्यको छ त्यति नै एउटा नागरिकको पनि छ । केही बढी राज्यको भूमिका होला तर, नागरिकको छैन भन्ने हुँदैन । सडक पूर्वाधारलाई फराकिलो बनाउने, पक्की गर्ने र गाडी गुड्नलायक बनाउने जिम्मेवारी सरकार तथा राज्यकै हो । यसलाई राज्यले नै आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । चालकले पनि आफ्नो जिम्मेवारी र कर्तव्यलाई ख्याल गर्नुपर्छ । उसले आफूले चलाउने सवारीको मर्मतसम्भारमा ध्यान दिनुपर्छ । एउटा निश्चित अवधि पूरा भएपछि उक्त गाडीको सट्टामा नयाँ गाडीहरु ल्याउनु पर्छ । यो भूमिका यातायात व्यवसायी तथा सञ्चालकहरुको हो । हरेकले आ–आफ्नो स्थानमा रहेर काम गर्ने हो भने समस्या नै आउँदैन । तर, त्यसो हुन नसक्दाको परिणाम आज हरेक दिन दुर्घटना बढिरहेका छन् । हामी मुकदर्शक बनेर हेरिरहेका छौँ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल थालौँ ।