विषय प्रवेशः
लगभग एक वर्षको अन्तरालमा तीन पटक गठबन्धन बदलिएको छ । गतवर्षका आम निर्वाचनपछि एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सम्मिलित गठबन्धन सरकार बनेको थियो । त्यसको दुई महिना नपुग्दै काङ्ग्रेससहितको नयाँ गठबन्धन सरकार बन्यो भने एमालेलगायतका पार्टीहरू सरकारबाट बाहिरियो । गत आइतबार राति एकाएक एमाले, माओवादी केन्द्र, रास्वपा, जसपालगायतका चार पार्टीहरूबीच नयाँ गठबन्धन गर्नेबारे सहमति भयो । नयाँ गठबन्धको स्पिरिटअनुसार सम्माननीय प्रधानमन्त्री प्रचण्डले सोमबारै सानो आकारको मन्त्रीमण्डल पनि गठन गरिसकेका छन् । यसरी रातारात गठबन्धन परिवर्तन गर्नुलाई धेरैले राम्रो मानेका छैनन् । यसलाई सत्ता स्वार्थको चलखेल भनेर नकारात्मक धारणा बनाइरहेका छन् । यसलाई अचानक र अप्रत्यासित भनेर टिप्पणी गरिरहेका छन् । १४ महिनाकै अन्तरालमा तीन पटक गठबन्धन भत्किनु र बन्नु कसैको लागि पनि सुखद् विषय होइन । यसलाई राजनैतिकरूपमा सकारात्मक सङ्केत वा कदम भन्न सकिन्न । चाँडोचाँडो सरकार फेरबदल भइरहनु जुनसुकै कोणबाट पनि सही हुँदैन । यो राजनैतिक संस्कृति र इमान्दारिताको आयामबाट मूल्याङ्कन गर्दा पनि सरासर गलत हुन्छ । तर, प्राविधिक आयामबाट नियाल्दा यो कुनै पार्टी, समूह र व्यक्तिको लागि भने सुखद् अवसर नबन्ला भन्न सकिन्न । अब प्रश्न उठ्छ, गठबन्धन सिङ्गो राष्ट्र र जनताको हितमा गर्ने कि कुनै अमुक पार्टी र व्यक्तिको हितमा गर्ने ? सिद्धान्ततः गठबन्धन भनेको राष्ट्र र जनताको हितमा गर्ने भन्ने नै हुन्छ तर, पछिल्लो राजनैतिक घटनाक्रमहरूलाई नजिकबाट हेर्दा प्रायः सबै गठबन्धनहरू सामान्य पदीय भागबण्डामा सीमित हुँदैआएको छ । आग्रह पूर्वाग्रह र धोकाजन्य कर्ममा खुम्चिँदै आएको छ । यसकारण यसपटक अप्रत्यासितरूपमा गरिएको गठबन्धनको अन्तर्यमा अन्तरनिहित स्वार्थ के हो त ? यो हामी सबैको खुल्दुलीको विषय बनिरहेको छ । चिन्ता र चासोको सवाल बनेको छ ।
सत्ता स्वार्थको आग्रहः
नेपालमा राजनैतिक मुद्दाको न्यायिक र प्रगतिशील चरित्रको आधारमा भन्दा पनि दलीय, गुटगत र व्यक्तिगत आग्रहपूर्वाग्रहमा राजनैतिक निर्णयहरू गर्ने चलन व्यापक छ । यस्तो संस्कृतिले नेतृत्व गरिरहेको समाजमा राम्रै मुद्दा र काम भए पनि विरोध र असहयोग र निषेधको राजनीतिले घर गर्दछ । नेपाली यस्तै राजनैतिक संस्कार स्थापित भइरहेको छ । यस्तै सांस्कृतिक विरासतको कारण विगतदेखि हुँदै आएको गठबन्धनहरू प्रायः सत्ता स्वार्थको आग्रहमा केन्द्रित देखिन्छ । अनुकूलतामा गठबन्धन गर्ने प्रतिकूलतामा विघटन गर्ने संस्कृति बसिसकेको छ । गठबन्धन गर्दा होस् वा विघटन गर्दा बचाउको लागि राम्रै तर्क र कारणहरू पेस गर्ने परम्परा पनि नौलो होइन । यसपालिको गठबन्धन पनि त्यसको अपवाद होलाजस्तो लाग्दैन ।
वस्तुतः सम्माननीय प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन तोड्नु पर्ने कारणहरूबारे स्पष्ट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा सहयात्री सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेसले राम्रो सहयोग नगरेको, महासमिति बैठकमा गठबन्धन विरोधी बहस भएको, दश वर्षे जनयुद्धलाई कथित र अनावश्यक भनेर दस्तावेजमा लेखिएको, मन्त्रीमण्डल हेरफेर गर्न खोज्दा पार्टी सभापति शेरबहादुर देउवा नमानेको, मन्त्रीहरूको कार्यसम्पादन चित्तबुभ्mदो नभएको भनेर स्पष्ट गरेका छन् । यस अतिरिक्त १ नम्बर प्रदेश सरकार गठन गर्ने समयमा काङ्ग्रेसको विद्रोही समूहले गठबन्धनको मर्म र सहमतिअनुरूप सहयोग नगरेको, राष्ट्रिय सभा निर्वाचनमा मत नदिएको, पछिल्लो समयमा राष्ट्रिय सभाको अध्यक्षमा काङ्ग्रेसले अडान नछाडेको अनि काङ्ग्रेसको एउटा समूहले गठबन्धनको स्पिरिट र नैतिकता विपरीत जथाभावी बोल्दै हिँडेको लगायतका कारणहरूले गर्दा गठबन्धन भत्काउनु परेको बताएका छन् ।
भिन्नभिन्न वैचारिक राजनैतिक दर्शन र स्वार्थको सेरोफेरोमा स्थापना भएको पार्टीहरूबीचको गठबन्धन मिलाएर लाने कुरा सहज हुँदैन । यस्तो सहजता न त हिजोको गठबन्धनमा थियो, न त आजको गठबन्धनमा हुन्छ । न त भोलि गरिने गठबन्धनमा नै हुनेछ । कसैले त्यस्तो बनिबनाउ किसिमले सोच्छ भने त्यो मूर्खता मात्र हो । अर्थात् गठबन्धन सरकार भनेको नापेतौलेजस्तो हुँदैन तथापि सिद्धान्ततः सरकार गठन र विघटनहरूलाई राष्ट्र र जनताका मुद्दाहरूले दिशानिर्देश गर्नुपर्दछ । जनताको हित हुन्छ भने सरकार वा गठबन्धन बनाउने कुरा हुन्छ । जनताको हित हुँदैन भने बनेको सरकार पनि भत्काउनु पर्ने हुन्छ । अर्थात् राष्ट्र र जनताको सवालमा गठबन्धन ठूलो विषय होइन । यो गठबन्धनलाई सत्तास्वार्थको खेल भनेर टिप्पणी भइरहेको छ । यस्ता टिप्पणीहरूलाई गठबन्धनको योजनाकारहरूले झुठो सावित गरेर देखाउन सक्नु पर्दछ, तब गठबन्धनको औचित्य हुन्छ ।
मिसन ०८४/वामपन्थी ध्रुवीकरणः
यो गठबन्धनलाई धेरैले आगामी २०८४ सालको आम निर्वाचनको रिहर्सल भनेर व्याख्या गरिरहेका छन् । यहाँ मिसन ०८४ मा आधारित धेरै कार्यक्रमहरू सुरु भइसकेको छ । कतिपय पार्टीहरूले आन्दोलनको सम्पूर्ण खाका नै मिसन ०८४ लाई केन्द्रमा राखेर बनाइरहेको छ । यसकारण अप्रत्यासितरूपमा बनेको यो गठबन्धनलाई पनि आगामी चुनाव केन्द्रित परिघटनाको रूपमा टिप्पणी गरिएको छ । नेपालमा दीर्घकालीन र दूरगामी राजनैतिक उद्देश्यमा नभएर केवल तात्कालीन स्वार्थ सिद्धिको सेरोफेरोमा यस्ता औसत राजनैतिक कर्मकाण्डहरू हुँदै आएको छ । सबैको हकमा बाहिर बोल्दा र लेख्दा राष्ट्र र जनता भनिए पनि सारभूतरूपमा प्राविधिक पदीय सौदाबाजीको रूपमा राजनीतिलाई उपयोग गर्ने क्रम नयाँ होइन । यही मेसोमा यो गठबन्धनलाई पनि ठूलै राजनैतिक उथलपुथल हुने अर्थमा कसैले पनि बुझेका छैनन् र बुभ्mनु पनि हुँदैन ।
वास्तवमा यो गठबन्धन केवल सरकार बनाउने, प्रधानमन्त्री र मन्त्री बन्ने खेलमा सीमित भयो भने यसले नेपाली राष्ट्रिय राजनीतिमा कुनै दूरगामी प्रभाव पार्दैन । यता ०८४ को चुनावी चौकाको लागि मात्रै हो भने धेरै अर्थ राख्दैन । यसले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सङ्गठित र ध्रुवीकृत गर्न जरुरी छ । यसले न्यूनतम् रूपमा वामपन्थी ध्रुवीकरणको लागि आवश्यक सबै पहल र प्रयत्न गर्नुपर्दछ । हुन त प्रधानमन्त्री प्रचण्डले पनि उद्घोष गरिसकेका छन् कि यो सरकारी गठबन्धनमा मात्र सीमित हुँदैन । यो बृहत् कम्युनिष्ट एकतासम्म पुग्नेछ । सम्माननीय प्रधानमन्त्री प्रचण्डले बोलेबमोजिम घटनाक्रमहरू अघि बढ्यो भने हामी नेपालीहरूको लागि खुसीको कुरा हो । होइन, औसत सत्ता स्वार्थ र दलीय र पदीय आग्रह पूर्वाग्रह मात्रै हो भने चुच्चे ढुङ्गो उही टुङ्गो भनेभैmँ हुनेछ । त्यसैले यो गठबन्धन बृहत् वामपन्थी मोर्चाको रूपमा विकास गर्न जरुरी छ ।
समाजवादी मिसनः
नेपाली राष्ट्रिय राजनीतिमा गठबन्धनदेखि गठबन्धन हुँदैआएको धेरै भइसकेको छ । राजनैतिक प्रणाली र पद्घति एउटै भएको कारण जुन गठबन्धन आए पनि ठूलो आशा र अपेक्षा राख्नु बेकार हुन्छ । आजको हाम्रो अर्थराजनीति भनेको लोकतान्त्रिक गणतन्त्र हो । यो भनेको पुँजीवादी संसदीय चुनावी लोकतन्त्र हो । चुनावी लोकतन्त्रभन्दा जनताको उच्च सम्मान र कदर हुने रहेछ भन्ने हुन्छ । तर, चुनाव खर्चालु र विकृत हुनाले यसले लोकतान्त्रिक धर्मकर्म सबै भुल्दै गएको देखिन्छ । यो जसरी पनि चुनाव जित्ने स्वार्थमा केन्द्रित भइरकेको छ ।
यस्तो वस्तुगत धरातलमा गठबन्धनलगायतका समग्र राजनीतिक हर्कतहरू चुनाव केन्द्रित हुने गर्दछ । हरेक उठबस सरकार वा सत्तामा उचाल्ने र खसाल्ने स्वार्थमा केन्द्रित भइरहेको छ । परिणामतः यो गठबन्धन पनि कसैलाई थलाउने, गलाउने र फकाउने, झुलाउने, भुलाउने रणनीतिक उद्देश्यमा आधारित नहोला भन्न सकिन्न । यदि त्यसो हो भने यस्तो गठबन्धनले अग्रगामी राजनैतिक निकास दिन सक्दैन । बरु बनेको जग पनि ध्वस्त हुनेछ । त्यसैले यो गठबन्धन औसत स्वार्थ र आग्रहको खेल खेल्नेभन्दा पनि समाजवादी मिसनको बृहत् स्वार्थद्वारा निर्देशित हुनुपर्दछ ।
निष्कर्षः
हामीलाई गठबन्धनदेखि गठबन्धन धेरै भोगिसकेका छौँ । यसमा आत्तिनु र मात्तिनु पर्ने कुनै कारण नै छैन । अर्थात् औसत गठबन्धन कुन कुन अमुक पार्टीहरूबीच भयो भन्ने कुरामा तात्विक भिन्नता हुँदैन । बरु गठबन्धन के को लागि र किन गरियो भन्ने कुराले दूरगामी महत्व राख्दछ । धेरैले प्रधानमन्त्री प्रचण्डको चलख्याइँ भनिरहेको वस्तुगत परिवेशमा उनीहरूको बुझाइलाई भ्रम सावित गर्न जरुरी छ ।
त्यसको लागि यो गठबन्धन राजनैतिक मुद्दामा केन्द्रित हुनुपर्दछ । यो गठबन्धन वामपन्थी ध्रुवीकरणसँगै समाजवादी मिसनमा आधारित हुनुपर्दछ । औसत सरकार बनाउने र ढाल्ने खेलभन्दा पनि राष्ट्र र जनताका जनजीविका र जनतन्त्रमा केन्द्रित हुनुपर्दछ । होइन भने रातारात गठबन्धन बदल्ने कुराको कुनै औचित्य हुँदैन । बरु उल्टै आजसम्म प्राप्त उपलब्धि र इमान्दारिता सबै गुम्ने खतरा देखिन्छ ।