धनकुटा । धनकुटा नगरपालिका–७ बसपार्कमा विगत ४५ वर्षअघिदेखि पसल गर्दै आएकी लक्षिमाया तामाङ (गौतम) को घरमा आइतबारदेखि खुसीयाली छाएको छ ।
लक्षिमायाको जेठो छोरा ३५ वर्षपछि भारतको कर्नाटकबाट श्रीमतीसहित घर फर्किएपछि आमा–छोरासहित परिवारमा मिलन भएसँगै खुसीयाली छाएको हो । लक्षिमायाको जेठो छोरा पूर्णबहादुर तामाङ ०४५ सालमा आफ्नो जन्मघर छाडेर मुगलान भासिएका थिए । उनी ३५–३६ वर्षपछि आफ्नो घर धनकुटा आइपुगेका हुन् । उनी घर छोड्दा १४–१५ वर्षका थिए । अहिले उनी ५२ वर्षका भएका छन् ।
उनी दक्षिण भारतको कर्नाटकस्थित् महेश्वर डिष्ट्रिकको चामुन्डा हिलबाट एक हप्ताअघि हवाईमार्गबाट नेपाल आएका थिए । उनीसँगै उनकी श्रीमती तामिलनाडुकी जया पुरनसिंह पनि आएकी छन् । भारतको बेङ्लोरदेखि हवाई मार्ग हुँदै उनीहरू काठमाडौं आएका थिए । नेपाल आएपछि काठमाडौंका केही स्थान, मनकामना मन्दिर र पोखरा घुमेर उनीहरू धनकुटा आएका हुन् ।
लामो समयपछि आइतबार घर आइपुग्दा पूर्णबहादुर तामाङलाई उनका परिवारका कसैले चिनेन् । ६८ वर्षीया आमा लक्षिमायाले भनिन्, ‘छोरो फर्केर आउँछ भन्ने लागेको थिएन, दिन दह्रै रहेछ, छोरो आयो, आफ्नै छोरा हो भन्ने सुरुमा लागेन, पछि गफ गर्दै जाँदा आफ्नै छोरा हो भन्ने प्रमाणित भएपछि खुसीको कुनै सीमा रहेन ।’ ‘सुरुमा त छोरा हो कि हैन चिन्न समय लाग्यो । सुरुमा अरू भाइबहिनीहरूको नाम क्रमशः लिएपछि मात्रै आफ्नै छोरा रैछ भन्ने बल्ल विश्वास लाग्यो’ –आमा लक्षिमायाले भनिन् ।
लक्षिमायाका तीन छोरी र ४ छोरामध्ये अहिले माहिलो छोरा भूपाल वैदेशिक रोजगारीको सिलसिलामा कत्तारमा छन् भने साहिँलो गोपाल र कान्छो राम घरैमा छन् । पूर्णबहादुरका ३ जना दिदीबहिनीहरू पनि छन् । पूर्णबहादुर ०४५ सालमा होलीको बेला माहिला भाइ भूपालसँग सामान्य झगडा परेपछि घर छोडेर हिँडेका थिए । घर छोडेर हिँडेपछि धनकुटाको जिरोपोइन्टबाट बस चढेर काठमाडौँ जाने भनेर हिँडेका थिए । तर, सुरुमा उनी काठमाडौँ नपुगी सिरहाको लाहानमा ३ महिना होटलमा काम गरे ।
त्यसपछि उनी काठमाडौँ पुगेर ९ महिना होटलमा भाँडा माझ्ने काम गरेर पोखरा गएको पूर्णबहादुरले बताए । पोखरामा पनि त्यहाँको सुनगाभा होटलमा करिब ९ महिना जति काम गरेका थिए । त्यहीबेला एक जना भारतीय कुकसँग उनको चिनजान भएपछि उनी भारतको गोवा पुगेका थिए । गोवामा ती भारतीयले भनेको मान्छे नभेट्टाएपछि सेक्युरिटी गार्डमा काम गरेको उनले बताए । गोवामा तीन वर्ष बसेपछि कर्नाटक महेश्वरको दशरा भन्ने ठाउँमा पुग्दा श्रीमती जया पुरनसिंहसँग भेट भएको थियो ।
भेटपछि उनले करिब १ वर्षपछि आजभन्दा २८ वर्ष पहिले जयासँग सन् १९९७ मा विवाह गरेर कि रिङमा स्टिकर टाँस्ने अनि बिक्री गर्ने व्यवसाय गरिरहेको बताए । अहिले उनका २५ वर्ष र २० वर्षका २ जना छोराहरू छन् । पूर्णको जेठो छोरा टिभिएस मोटरसाइकल कम्पनीमा काम गर्छन् भने कान्छो छोरा कम्प्युटर साइन्समा डिप्लोमा पढिरहेका छन् ।
पूर्णबहादुर घर आएपछि लक्षिमायाको चार छोरा बुहारी, तीन छोरी ज्वाइँ र २२ जना नातिनतिनाहरू, मावलीहरू पनि भेला भएर खुसी साटसाट गरिहेका छन् । पूर्णबहादुरकी श्रीमती जया पुरनसिंह भने नेपाली भाषा त के हिन्दी भाषासमेत बोल्न जान्दिनन् । उनी तामिल भाषामा मात्र बोल्ने गरेकी छन् । उनी भन्छिन्, ‘पूर्णबहादुर त नेपाल आउन मानिरहेको थिएन, मैले जबर्जस्ती लिएर आएका हौं ।’ पूर्णबहादुरले सुरुमा आफ्ना आमा, भाइ, बहिनीहरू कहाँ कसरी बसेका छन् भन्ने अनुमानमात्र लगाएका थिए । सुरुमा धनकुटा बसपार्क आएर हुलाक टोलका नारायण÷ईश्वर श्रेष्ठको पसलमा पुगेका थिए । त्यहाँ पुग्दा पनि घर पत्ता नलागेपछि पुनः उनी बसपार्क फर्केर सोधीखोजी गरेर आफ्नो परिवार र जन्म दिने आमालाई भेटेका थिए ।