जनपथ । स्मृति राई धरान–४ स्थित थाकरडाँडाबाट विद्यालय आउँछिन् । उनलाई पायक पर्ने विद्यालय आउन एकदेखि दुई घण्टा लाग्छ । विस्तारै आउँदा दुई घण्टा । छिटो हिँडे एक घण्टा । फर्कन त झन् अझै धेरै समय लाग्छ । घरका सामान्य काम गर्दा कहिलेकाहीँ विद्यालयको प्रार्थना भ्याउँदिनन् ।

स्मृतिजस्तै कक्षा २ मा अध्ययनरत अपेक्षा राई र उनका ४ वर्षका भाइसमेत थाकरडाँडाबाटै विद्यालय आइपुग्छन् । कक्षा ५ मा अध्ययनरत संयोग राना मगर धरान–४ कै झाँक्रीबारबाट विद्यालय आउँछन् । उनलाई विद्यालय आउन १ घण्टा र फर्किन दुई घण्टा लाग्छ । साढे ८ बजे विद्यालय हिँड्ने उनी छिटोछिटो हिँडेर एक घण्टामा आइपुग्ने बताउँछन् । आउँदा ओरालो र जाँदा उकालो पर्ने भएकाले समय लाग्ने गरेको छ । स्कुल आउँदा–जाँदा पढाइमा त्यति समय दिन नपाउने उनी बताउँछन् । घर पुगेपछि गृहकार्य गर्छन् । सहरमा पाइलैपिच्छे विद्यालय छन् । धरानले आफूलाई शैक्षिक क्षेत्रको ‘हब’ भन्छ । तर, धरानकै एउटा वडा जहाँ ग्रामीणभेगका बालबालिका दुई घण्टा हिँडेर विद्यालय आउन बाध्य छन् । धरान–४ स्थित वसन्तटारमा महिला शिक्षकहरूले मात्रै अध्ययन–अध्यापन गराउँदै आएको आधारभूत विद्यालय छ । जसको नाम शिक्षाज्योति आधारभूत विद्यालय हो । यस विद्यालयमा अधिकांश बालबालिका आमाबाबुविहीन छन् । कोही बाजेबजूसँग बस्छन् भने कोही आफन्तको शरणमा ।

स्मृति पढाइमा औसत छिन् । उनी पहिले काठमाडौँमा आमासँग बसेर अध्ययन गर्दै थिइन् । हाल उनी थाकरडाँडामा हजुरआमासँग बस्छिन् । उनको घर छेउछाउमा विद्यालय छैन । ‘म थाकर डाँडाबाट आउँछु । थाकरडाँडा माथि पर्छ । दानाबारीदेखि उँधो । धरान–४ नम्बर वडा नै पर्छ । घरमा मुमा र म । ममीहरू काठमाडौंमा । स्कुल हिँड्दै आउँछु । खेल्दै आयो भने दुई घण्टा लाग्छ । छिटोछिटो आयो भने एक घण्टा लाग्छ । सबैभन्दा नजिकको स्कुल यही हो । अरू साथीहरू दन्तकाली स्कुल पनि जान्छन् । घुमेर जानुपर्छ । दन्तकाली स्कुल अझै टाढा पर्छ । म यहाँ तीन कक्षादेखि पढेको । योभन्दा अगाडि काठमाडौंमा पढेको । कोठाभाडामा बसेर पढेको । यहाँ पढाइ राम्रै छ । मिसहरूले राम्रै पढाउनुहुन्छ’–स्मृति भन्छिन् । 

लामो बाटो हिँडेर आउँदा पनि स्मृतिले पढाइलाई समय मिलाएकी छन् । मिहिनेत गरेर पढ्नुपर्ने कुरा उनलाई थाहा छ । ‘अपेक्षा २ कक्षामा पढ्छिन् । उसको भाइ पनि छ । हामी थाकरडाँडाबाट तीनजना आउँछौं’ उनी भन्छिन्, ‘खाना खाएर हिँड्छु । कहिलेकाहीँ स्कुल आउन ढिला हुन्छ । स्कुलमा लाइन (प्रार्थना) बस्न भ्याइँदैन । बिरामी हुँदाबाहेक सधैँ स्कुल आउँछु ।’ सदीक्षा राई पनि कक्षा( ५ कै विद्यार्थी हुन् । उनको घर विद्यालयबाट स्मृतिको भन्दा केही नजिक छ । उनलाई भने विद्यालय आइपुग्न ४० मिनेट लाग्छ ।

प्रोत्साहित गर्दै पढाउँदैछौँ– प्रअ
‘टाढाबाट आउने विद्यार्थीले कहिलेकाहीँ गृहकार्य गरिदिँदैनन् । उनीहरुलाई सजायभन्दा प्रोत्साहनको आवश्यकता छ । आउँदा–जाँदा पढ्ने समय पाउँदैनन्, उनीहरुलाई सजाय पनि दिनुभएन’–विद्यालयकी प्रधानाध्यापक मेनुका सापकोटा भन्छिन् । उनका अनुसार विद्यालयमा विपन्न र अनाथ बालबालिका धेरै छन् । १० देखि १२ जना विद्यार्थी दुई घण्टाको दूरीबाट हिँडेर आउँछन् । ‘एक जना विद्यार्थी अपेक्षा राई छिन् । उनी विद्यालय आइपुग्न बिहान ७ बजे हिँड्छिन् । उनको भाइ पनि छ । ४ वर्षको भाइ । उनीहरु सबै हिँड्दै आउँछन्’ प्रअ सापकोटा भन्छिन्, ‘कहिलेकाहीँ साँझमा अभिभावक खोज्दै आउनुहुन्छ । मौसम प्रतिकूल हुँदा विद्यार्थीलाई हामी पठाउँदैनौं । त्यतिबेला अभिभावक नै आउनुहुन्छ ।’

विद्यालयमा अध्ययनरत बालबालिकाको पृष्ठभूमि निम्नवर्गीय र विपन्न छ । आमाहरु दाउरा बेच्छन् । बुबाहरु मजदुरी गर्छन् । स्मृति बजूसँग बस्छिन् । ‘स्टेशनरीका सामग्री, विद्यालय पोसाक यहीँबाट उपलब्ध गराउँछौं । दिवा खाजा पनि उपलब्ध छ’ प्रधानाध्यापक सापकोटा भन्छिन्, ‘बच्चा विद्यालय नआउँदा हामी अभिभावकलाई सम्पर्क गर्छौं । नजिक विद्यालय नभएका कारण नानीहरु टाढाबाट आउन बाध्य छन् । केही नजिकमा दन्तकाली स्कुल पनि छ । तर, खोलाका कारण अभिभावकले यहीँ पठाउनुहुन्छ । घरको काम गर्दा बाख्रापाठा चराउँदा कहिलेकाहीँ नानीहरु विद्यालय आउनै बिर्सन्छन् ।’ टाढाबाट आउने विद्यार्थीलाई वडाले प्रदान गर्ने प्रोत्साहन र वृत्तिविकासका कार्यक्रममा विद्यालयले सहभागी गराउने गरेको छ । सङ्घ–संस्थाहरुले शैक्षिक सामग्री बेलाबेला प्रदान गर्छन् ।

‘प्रत्येक वर्ष हामीलाई धरानतिरका स्कुलहरुले समस्यामा पारिदिन्छन् । उनीहरुले बानी बिगारिदिएका छन् । बच्चाहरुलाई ‘फ्री’ मा पढाउने भनेर बोलाउँछन् । ‘ड्रेस’ पनि दिन्छौं, कापी पनि दिन्छौं, सबै दिन्छौं भन्छन् । त्यसको प्रभावमा पनि बालबालिका उत्तैतिर जान्छन्’ प्रअ सापकोटा भन्छिन्, ‘त्यसो हुँदा वैशाखमा हामी आफैले रकम सङ्कलन गरेर पनि विद्यालय पोसाक उपलब्ध गराउने गरेका छौं ।’ डेढ–दुई घण्टा धाएर विद्यार्थी विद्यालय आउन बाध्य भए पनि विद्यालयले आवासीय सुविधा दिन नसक्ने प्रअ सापकोटा बताउँछिन् ।

वार्षिक परीक्षापछि प्रत्येक वर्ष विद्यालयले घरदैलो कार्यक्रम गर्ने गरेको छ । नपढी बसेका विद्यार्थी छन् भन्ने सूचनाका आधारमा शिक्षिकाहरु घरघर पुग्छन् । फराकिलो भूगोलका कारण विद्यालयको सेवाक्षेत्रको दूरी पनि दूरदराजसम्म छ । सरकारको मुख ताक्नुबाहेक अन्य विकल्प नरहेको प्रअ सापकोटा बताउँछिन् । एउटा दरबन्दी, दुई वटा राहत, १ स्थानीय स्रोत र १ कर्मचारी गरी ५ जना महिला शिक्षकमात्रै कार्यरत छन् ।

‘नीतिअनुकूल छैन’
ग्रामीण भेगमा पातलो बस्तीका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन । एउटा बस्तीमा विद्यालय जाने उमेरका १०–१२ जना विद्यार्थी हुन्छन् । उनीहरुलाई लक्षित गरी विद्यालय सञ्चालन गर्न शिक्षा नीति अनुकूल छैन । शिक्षा नीतिले समेत भौगोलिक क्षेत्रअनुसार तहगत रुपमा कक्षा सञ्चालन गर्ने मापदण्ड तोकेको छ । कक्षा १ देखि ३ सम्म हिमालमा ३० जना, पहाडमा ४५ जना र तराईमा ६० जना विद्यार्थी हुनुपर्ने उल्लेख गरेको छ  । कक्षा १ देखि ५ सम्म विद्यालय सञ्चालन गर्दा ५० देखि १ सयसम्म र  कक्षा ६ देखि ८ सम्म ३० देखि ६० र कक्षा ९ देखि १० सम्म २० देखि ४० जना विद्यार्थी पुग्नुपर्ने उल्लेख छ ।

विद्यालय एकीकरण समायोजन कार्यविधि २०७७ ले विद्यालय समायोजनका लागि आधारहरु उल्लेख गर्दै विद्यालय आवत–जावत गर्न लाग्ने समय र विद्यालयहरुबीचको दूरी पाँच किलोमिटरभन्दा कम भई आधा घण्टाभन्दा कम पैदल यात्राको समय लाग्ने वा सडक यातायातको पहुँच भई स्कुल बस प्रयोग गरी विद्यालय आउन–जान एकतर्फी आधा घण्टाभन्दा कम समय लाग्ने विद्यालय समायोजन हुने भनेको छ । तर, धरान–४ का ग्रामीण भेगमा विद्यालय नै छैनन् । विद्यालय नहुँदा २ घण्टासम्म हिँडेर शिक्षा आर्जन गर्नुपर्ने बाध्यता छ ।

यस्तै सोही कार्यविधिको आवासीय विद्यालय सञ्चालन अन्तर्गत एक तहबाट अर्को तहको विद्यालयमा भर्ना भई उपल्लो कक्षाहरुमा पढाइलाई निरन्तरता दिन भौगोलिक विकटता भएका स्थानका बालबालिका उनीहरुको उमेर विद्यालय आवत–जावतमा लाग्ने, विद्यालयहरुबीचको दूरी, सुरक्षाजस्ता पक्षबाट असम्भव भएका स्थानहरुका बालबालिकालाई लक्षित गरी उनीहरु सबैलाई पायक पर्ने स्थानमा आवासीय सार्वजनिक विद्यालय सञ्चालन गर्न भनेको छ । तर, धरान–४ स्थित ग्रामीण क्षेत्रमा प्रारम्भिक कक्षा सञ्चालन गर्न शिक्षा नीति अनुकूल छैन भने आवासीय विद्यालय सञ्चालन गर्न स्रोत छैन । यता स्थानीय सरकारले समेत चासो नदिएको गुनासो छ ।