विराटनगर । लागूपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरबाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लापसे गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।
सीमावर्ती बजार भारतको जोगवनीमा गएर लागूऔषध सेवन गर्ने र सवारी चलाएको फेला परेपछि त्यसविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले लापसे जाँच अभियानलाई तीव्रता दिइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुमन न्यौपानेले जानकारी दिए ।
सोही अभियानका क्रममा शुक्रबार विराटनगर–१६ रानी क्षेत्रमा मोरङ ट्राफिक, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरोले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानको क्रममा लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर न्यौपानेले बताए । १२ जनाको परीक्षण गरेकोमध्ये ११ जनाले गाँजा, ट्याब्लेटलगायतका लागूपदार्थ सेवन गरेको उनले बताए ।
यसअघि पनि मोरङ ट्राफिकले लापसे गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको थियो । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियानलाई तीव्ररूपमा अगाडि बढाएको छ । यसरी परीक्षणको क्रममा लापसे गरेर सवारीसाधन चलाएको पत्ता लगेपछि कारबाहीको दायरामा ल्याउने उनले बताए । लापसे गरेर सवारी चलाउने ११ जनालाई इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ । यसअघि रानी नाकामा मोरङ प्रहरीले लागूपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको थियो ।
ट्राफिक प्रहरीले लामो समयदेखि मापसे चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ । ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर, मापसे छाडेर सवारीका चालक तथा सह–चालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुको कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषध सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।
लापसे अभियानमा मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख इन्स्पेक्टर सन्दीप बेल्बासेले लागूपदार्थ सेवनकर्तालाई लापसे गर्दा हुने फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
कसरी हुन्छ लापसे चेक ?
इन्स्पेक्टर न्यौपानेका अनुसार सवारी चालकको पिसाब चेकजाँच गरेर लागूपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने गरिन्छ । उनी भन्छन्, ‘लापसे चेक गर्ने एक प्रकारको किट हुन्छ । यो किटको माध्यमबाट तत्कालै लापसेको रिजल्ट थाहा हुन्छ । उक्त किटले कुन लागूपदार्थ भन्ने छुट्टिँदैन । तर, गाँजा, चरेसलगायत सबै प्रकारका लागूपदार्थ डिटेक्ट गर्छ । पिसाब चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।’
लागूपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउँछ । लापसे गरेर सवारीसाधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम बढ्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन मोरङ ट्राफिकले अभियान नै सुरू गरेको छ ।
यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागूपदार्थ सेवनलाई निरूत्साहित गराउने उद्देश्य रहेको जानकारी उनले दिए । लापसे चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।
लापसे परीक्षण गर्ने किट अभाव ?
लापसे परीक्षण गर्ने किट ट्राफिक प्रहरीसँग पप्र्याप्त छैन । विभिन्न सामाजिक सङ्घ–संस्थाहरुले सहयोगस्वरुप दिएको भरमा प्रहरीले लापसे चेकजाँच गर्दै आएको छ । ‘पर्याप्त मात्रामा लापसे किट नभएको कारणले गर्दा दैनिकजसो परीक्षण गर्न पाएको छैन’–इन्स्पेक्टर न्यौपानेले भने ।
सानो टेस्ट किट हो यो । यही किटको माध्यमबाट सवारी चालकको पिसाब चेक गरिन्छ र रिपोर्ट दिइन्छ । चेकजाँचका क्रममा लापसे गरेका सवारी चालकले गाँजा खाएको बताउने गरेका छन्, केहिले ट्याब्लेट र अन्य लागूऔषध पनि प्रयोग गर्ने गर्छन् । यस्तो किटले लागूऔषध सेवनलाई मात्रै डिटेक्ट गर्छ । मापसे छुट्याउँदैन । यो किटको माध्यमबाट यही ड्रग्स खाएको छ भन्ने थाहा हुन्न । तर, ड्रग्स प्रयोग गरेको छ भन्ने चाहिँ थाहा हुन्छ ।