सानो–सानो पुँजीलाई बचतका रुपमा सङ्कलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक स्तर उकास्न सहयोग गर्ने उद्देश्यले सहरदेखि गाउँ र टोलसम्म सहकारी संस्थाहरु खुलेका छन् । तर, सहकारीका नाममा पछिल्लो समय विकृति फैलिँदो छ । देशैभर विभिन्न सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेर भागेका धेरै उदाहरण छन् भने अर्कातिर सहकारीहरुले बचतकर्तालाई विभिन्न नाममा ठगिरहेको भेटिन्छ । त्यसको पछिल्लो उदाहरण मोरङको जहदामा भेटिएको छ । दुई दशकअघि प्रकाश बचत तथा ऋण सहकारी संस्थाले आर्थिकरुपमा विपन्न समुदायका व्यक्तिहरुलाई अनुदानका रुपमा बङ्गुर र बाख्राका पाठा वितरण गरेको थियो । तर, अहिले सहकारीले ऋण दिएको भन्दै विपन्न सामुदायका ऋषिदेव र सीमान्तकृत सामुदायका दुई सय बढीलाई दबाव दिइरहेको छ ।
सहकारीले अनुदानका रुपमा दिएको भनिएका बङ्गुर र बाख्राका पाठाको अहिले ऋण भनेर असुल्दा उनीहरु अचम्ममा परेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर आफूहरु पीडित बनेको बताएका छन् । यसरी विपन्न समुदायका मान्छेलाई झुक्याएर फसाउने कार्य सर्वथा गलत हो । यस विषयमा सरोकारवाला निकायले छानबिन गर्नु आवश्यक छ । अझ यसरी सर्वसाधारणलाई झुक्याएर रकम असुल्ने काममा वडाध्यक्षकै श्रीमती लागिपरेको पाइएको छ । अहिले स्थानीयस्तरका सहकारीको नियमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । त्यसैले यो विषयमा गाउँपालिकाले पनि चासो देखाउनु जरूरी छ ।
पवित्र उद्देश्यले सुरू भएको सहकारी अभियानमा पछिल्लो समय यस्तै विभिन्न विकृतिहरु देखापरेपछि सहकारी अभियान नै बदनाम भएको छ । सानो पुँजीलाई जम्मा गरेर आयमूलक काममा लगाउने उद्देश्य रहे पनि सीमित व्यक्तिका हातमा सहकारी कब्जामा परेका छन् । उद्देश्यअनुरुप आमनागरिकले सुविधा पाउनेभन्दा सहकारीका नाममा उनीहरुमाथि शोषण थपिएको छ । सहकारीका नाममा सीमित व्यक्तिहरु साहु महाजन बन्ने र बचतकर्ताहरु पीडित बन्ने प्रचलन बढ्दो छ । ठूला सहकारीहरुमा देखिएका समस्याका कारण नै पछिल्लो समय राष्ट्र बैङ्कले समेत निगरानी गर्ने नीति लिएको छ । तर, त्यसो गर्दा पनि सहकारीका समस्या निराकरण भएका छैनन् । विभिन्न बहानामा सहकारीले ठगी धन्दा चलाएका छन् । यसबाट पीडितहरुको सङ्ख्या बढिरहेको छ । सहकारीका नाममा यसरी पीडितलाई झनै पीडित बनाउने धन्दा बन्द हुनुपर्छ । त्यसका लागि नियामक निकायहरु सचेत बन्नु आवश्यक छ ।