इटहरी । इटहरीस्थित खानेपानी संस्थामा नेकपा (एमाले) र नेपाली काङ्ग्रेसबीचको तालमेल नमिल्दा आगामी चैत ३ गते हुने भनिएको निर्वाचन अनिश्चित बनेको छ ।

इटहरी–७ का कमल पाण्डेले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेपछि तय भइसकेको खानेपानीको सबै कार्यक्रमहरू तत्काल स्थगित भएको छ । पाण्डेले गत फागुन २४ गते अदालतमा रिट दायर गरेकोमा न्यायाधीश उद्धव गजुरेलको एकल इजलासले तत्काललाई सबै कार्यक्रम स्थगित गर्न र निर्वाचन समितिलाई कारण देखाऊ आदेश जारी गरेको थियो । अदालतले भने आज (२९ गते मङ्गलबार) दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचनको तयारी चलिरहँदा अदालतबाट पत्र जारी भएपछि हाललाई सबै कार्यक्रम स्थगित गर्नुपरेको इटहरी खानेपानी संस्था अन्तर्गत गठित निर्वाचन समितिका संयोजक अर्जुन दाहालले बताए । यसअघि समितिले फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता हुँदै चैत ३ गते निर्वाचन मिति घोषणा गरेको थियो ।

अदालती प्रक्रियामा गएका कारण अहिले केही बोल्न नमिल्ने निर्वाचन समितिका संयोजक अर्जुन दाहाल बताउँछन् । खानेपानी कर्मचारी स्रोतले भने नेतृत्वमा दलीय भागबण्डा नमिल्दा यो किचलो खडा गरिएको बताएको छ ।

स्रोतका अनुसार निर्वाचनमा एमाले एक्लै खडा हुने भएपछि रुष्ट बनेको काङ्ग्रेसका समर्थकले नै अदालतमा मुद्दा दायर गरेका हुन । खानेपानीमा अध्यक्ष एमाले, उपाध्यक्ष र महासचिवमा काङ्ग्रेसले दाबी गर्दै आएको थियो तर, एमालेले नगरस्तरीय छलफलपछि कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा होमिने बताएपछि काङ्ग्रेस रुष्ट बनेको थियो ।

इटहरी खानेपानी अध्यक्षमा एमालेबाट पुराना नेता प्रेमबहादुर बस्नेतको चर्चा चलेको थियो । यसअघि खानेपानीमा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको पनि चर्चा चलेकोमा उनी छलफलबाट पछि हटेका थिए । त्यस्तै काङ्ग्रेसबाट उपाध्यक्षमा बालकृष्ण विष्ट र महासचिवमा खानेपानीभित्रैका इन्जिनियर भविन खड्कालाई राख्ने तयारी गरिएको थियो तर, महŒवपूर्ण पदमा एमाले एक्लैले दाबी गर्न थालेपछि काङ्ग्रेस अदालत पुगेको खानेपानी कर्मचारी स्रोत बताउँछ । खानेपानीको विधानअनुसार संस्थाको अध्यक्ष बन्न समितिमा रहेर काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ । विधानअनुसार काङ्ग्रेसले अध्यक्षमा दाबी गर्न नपाएपछि महŒवपूर्ण पद उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा दाबी गरेको थियो ।

सकेसम्म सहमतिको बाटोबाटै खानेपानीको नेतृत्व चयन हुनुपर्ने अडानमा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल रहेका थिए । उनले आफ्नो कार्यकक्षमा पनि सहमतिको प्रयास गराउन सक्दो पहल गरेका थिए । निर्वाचनको प्रक्रिया सुरु भएलगत्तै इटहरी उपमहानगरका प्रमुख पौडेल लबिङमा जुटेका थिए । नेपाली काङ्ग्रेस इटहरी उपमहानगर सभापतिसमेत रहेका नगर प्रमुख पौडेलले गत आइतबार कार्यालय परिसरमै सहमतिको प्रयास स्वरूप खानेपानी नेतृत्वको लागि छलफल चलाएका थिए । छलफलमा कुनै सहमति नभएको एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले बताए । खानेपानी निर्वाचन प्रक्रियाबारे आफूहरू ‘क्लियर’ रहेको तर, काङ्ग्रेस पक्ष निर्वाचन हुन नदिन अदालत पुगेको उनको आरोप छ ।

झण्डै १० वर्षपछि हुन लागेको खानेपानी निर्वाचन तत्काललाई स्थगित भएपछि गठित निर्वाचन समिति अदालतको निर्णय कुरेर बसेको छ । आज (मङ्गलबार) पक्ष र विपक्ष दुवैलाई उपस्थित हुन अदालतले पत्राचार गरेकाले त्यसैको तयारीमा जुटेको निर्वाचन समितिका सह–संयोजक चन्द्रप्रसाद भट्टराईले बताए । अदालतको फैसला आएपछि मात्रै समितिले आफ्नो निर्णय सार्वजनिक गर्ने सह–संयोजक भट्टराई बताउँछन् । अदालतले निर्वाचन गराउन आदेश जारी गरे इटहरी खानेपानीमा २२ हजार ९८ मतदाताबाट १ सय ६५ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।