सुनसरीको वराहक्षेत्र–१ स्थित चतराघाट र उदयपुरको बेलका–८ स्थित कोठु जोड्ने पक्की पुल कोसी नदीमा निर्माण भएपछि पर्यटनका प्रशस्तै आधार निर्माण हुँदै गएका छन् ।
दुवै नगरपालिका जोड्ने पक्की पुल निर्माण हुनुअघि बेलका नगरपालिकातर्फ पर्यटनको कुनै गुन्जायस थिएन । वराहक्षेत्रतर्फ धार्मिक तीर्थाटनका लागि धर्मावलम्बी आउने गरेपनि पर्यटनको विकास हुन सकेको थिएन । कोसी नदीमा आधारित पर्यटनसँगै अहिले बेलका नगरपालिकामा मनोरञ्जनात्मक, सहासिक पर्यटन, जैविक विविधताको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने आधारहरु तयार भएका छन् ।
बेलका नगरपालिकाको पर्यटनको ‘कायाकल्प’ गर्न भौतिक निर्माणको विकाससँगै पर्यटन व्यवसायी रमण भट्टराईले संरचना निर्माण गरी पर्यटकलाई रहनेबस्ने वातावरण तयार गर्दै आएका छन् ।
उनले कोसी नदीमा आधारित प्रकृति, पर्यापर्यटन र जैविक विविधतालाई आधार मानेर नयाँ गन्तव्यको खोजीको काम थालनी गरेको बताएका छन् । उनले करोडौंको लगानीमा बेलका–८ स्थित सोमबारेमा ‘बेलका बिच रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । योसँगै उनले कोशी नदीमा आधारित जल पर्यटन र सहासिक पर्यटनको विकासका लागि योजना निर्माण गरेका छन् ।
यसै क्रममा शनिबार बेलका बिच रिसोर्टले ‘जङ्गल सफारी’ को परीक्षण सुरु गरेको छ । यो सफारीमा आगन्तुकलाई कोसीटप्पु वन्यजन्तु आरक्षसम्म पुर्याइन्छ ।
‘७० देखि ८० किलोमिटर दूरीको ‘जङ्गल सफारी’ हामीले सुरु गरेका छौं, यसको परीक्षणका क्रममा सञ्चारकर्मी साथीहरुलाई सहभागी गरायौं,’ रिसोर्टका सञ्चालक भट्टराईले भने, ‘हामीले यस अघि चितवन, बर्दिया र यहीं कोसीटप्पुभित्रै गरेका सफारीभन्दा विल्कुल फरक अनुभव आगन्तुकले गर्न पाउनुहुनेछ । यसलाई हामीले प्याकेजका रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’
पर्यटन व्यवसायी भट्टराईका अनुसार यहाँका जङ्गली बयरको स्वाद, स्थानीय गुडी– बहरदारको जीवन शैली, चन्द्रवंशी– कविरथ जातिको रहनसहन, कृषि पशुपालन, लोपोन्मुख अर्ना, सयौं प्रजातिका चराचुरुङ्गी, गोही, घडियालको वासस्थानलगायतका अनेकौं जैविक विविधताको रसस्वादन गर्ने पर्यटकले अवसर प्राप्त गर्नेछन् । ‘जङ्गल सफारीलाई नौलो प्रकृति, पर्यावरण र सहासिक पर्यटनका रुपमा विकास गर्न र बेलकाको पर्यटनको कायाकल्प गर्ने कोशेढुङ्गोको रुपमा समेत जङ्गल सफारीलाई लिन सकिन्छ ।’ व्यवसायी भट्टराई भन्छन् । यसलाई सुलभ रुपमा प्याकेज कार्यक्रम निर्माण गरी सुरु गर्ने व्यवसायी भट्टराईले बताए ।
कसरी पुग्ने जङ्गल सफारीमा ?
उदयपुरको बेलका नगरपालिकाबाट कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र जङ्ल सफारी हुने छ । यो सफारी खयर, बयरलगायतका रुखहरु रहेको घना रुपमा फैलिएको जङ्गलै जङ्गलबीचबाट कोसी टप्पु वन्यजन्तु आरक्षभित्र प्रवेश हुनेछ ।
पर्यटन व्यवसायी भट्टराईका अनुसार न्युनत्तम ७० किलोमिटरको दूरी छिचोलेर टप्पुभित्र रहेको कोसी नदी र यसमा आश्रित जङ्गली जनावर, चराचुरुङ्गी र जलचर जनावरको अवलोकन गर्न सकिनेछ । बेलका–८ सोमबारेमा रहेको बेलका बीच रिसोर्टबाट जिपमार्फत् जङ्गल सफारी हुनेछ ।
रिसोर्टबाट निस्किएको सवारी लाहुरे खोज हुँदै समथर मैदानतर्फ अघि बढ्ने छ । मैदानबाट जङ्गलमा प्रवेश गरेको सवारी खयर, बयर लगायतका रुखका काँडाहरुलाई छल्दै, छिचोल्दै अघि बढ्ने छ । व्यवसायी भट्टराईका अनुसार श्रीलङ्का टप्पुमा रहेका चिलैया, गरैयालगायतका बस्ती आइपुग्नु अघिको यो विशाल फाँटमा फैलिएको जङ्गल र जङ्गलबीचमा रहेको नागबेली बाटो पारगर्दै गर्दा खयरका काँडाहरु छल्दैछल्दै अघि बढ्दाको क्षण अत्यन्तै उत्साहजनक र शब्दमा बयान गर्न नसक्ने किसिमको हुनेछ ।
‘नेचुरल एडभेन्चरको मज्जा वास्तवमा हामीले यो जङ्गल सफारीमा प्राप्त गर्यौं, कोसी नदीको निरन्तर गतिसँगै यहाँको जैविक विविधताको अवलोकन र कोसीटप्पु पुग्नु अघिको सफारीको सवारी नै आनन्ददायक हुने रहेछ,’ स्थानीय सञ्चारकर्मी विजयकुमार राउतले भने, ‘कोसीटप्पु पुगिसकेपछि आँखाहरुले त्यहाँको लोपोन्मुख प्रजातिका अर्ना, घडियाल गोही र चराचुरुङ्गीहरुको क्रिडा खोजी गर्दा प्राप्त हुने अनुभूति अवर्णनीय छ ।’
जङ्गल सफारीका क्रममा सोमबारेबाट पहिले बस्ती– अनि जङ्गल– पुनः बस्ती र जङ्गल हुँदै अघि बढ्नुपर्ने भएकाले यात्रा थप रोमाञ्चकारी हुने सञ्चारकर्मी राउत बताउँछन् । मनोरञ्जन र सहासिक पर्यटनका लागि यो यात्रा पूर्वी नेपालमा पहिलो र नेपालमै अद्वितीय रहने उनी बताउँछन् । विविधता र दूरीका हिसाबले पनि कोसी टप्पु जङ्गल सफारी विशिष्ट रहने उनको भनाइ छ ।
पर्यटनमात्र नभएर शोध र अनुसन्धानका हिसाबले समेत यो जङ्ल सफारीको सर्किट महत्वपूर्ण रहेको बेलका मिडिया प्रालिका सम्पादक सुमनसागर खतिवडा बताउँछन् । आफ्नै क्षेत्रमा पहिलो पटक जिपमार्फत् जङ्गल सफारीको अनुभव लिएका उनले कोसीटप्पुको पर्यावरणीय महत्व र विविधता चाल पाए पनि जङ्गल सफारीमार्फत् पर्यटनको विकासको अवधारणाको प्रशंसा गरे । उनले पर्यटन व्यवसायी रमण भट्टराईलाई धन्यवाद दिएको बताए । भट्टराईले बेलका नगरको पर्यटनको ‘कायाकल्प’ गर्ने र ‘भिजन’ भएका व्यक्तिका रुपमा आफूले पाएको बताए । ‘पर्यटनसँगै स्थानीय गुडी– बहरदारको जीवन शैली उनीहरुको खानपान, चन्द्रवंशी– कविरथ जातिको रहनसहन उनीहरुले गर्ने कृषि, पशुपालनलगायतको समेत यो ‘जङ्गल सफारी सर्किट’मा अनुभव गर्न सकिन्छ,’ सञ्चारकर्मी खतिवडाले भने, ‘यसलाई पर्यटनसँगै अध्ययनको विषय बनाइनुपर्छ ।’
कोसी टप्पुका अर्ना, विश्वमै लोपोन्मुख मानिएका चरा, निलगाई, हात्तीलगायत जीव पाइन्छन् ।
परीक्षण भ्रमणमा व्यवसायी भट्टराईसँगै रहेका शिलापत्र डटकमका क्रियटिभ ब्युरो प्रमुख नवराज कुँवरले जङ्गल सफारी निकै नै रमणीय र एडभेन्चरले भरिपूर्ण रहेको बताए । उनले श्रीलङ्का टाप्पु हुँदै गरिने जङ्गल सफारीले बेलकासहित बराहक्षेत्र र सप्तकोसी नगरपालिकाको समेत पर्यटन प्रवर्धन हुने विश्वास लिएको बताए ।
सफारी परीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यवसायी भट्टराईले केही समयपछि औपचारिक कार्यक्रम गरी जङ्गल सफारीको उद्घाटन गर्ने बताए ।
‘कोसी टप्पु वन्यजन्तु आरक्षको सबैभन्दा ठूलो क्षेत्र उदयपुर र सप्तरीतिर पर्दछ । यो क्षेत्रमा अथाह सम्भावना भए पनि आजसम्म जङ्गल सफारी हुन सकेको छैन । यही क्षेत्रको अथाहा सम्भावना सम्बोधन गर्न बेलका रिभर बिच रिसोर्टले जङ्गल सफारीको परिक्षण सफलतापूर्वक सम्पनन गरेको छ ।’ व्यवसायी भट्टराईले भने, ‘यो क्षेत्र चितवनभन्दा पनि पूर्वको उत्कृष्ट गन्तव्य बन्न सक्छ, यो प्रयासमा सबैको साथ सहयोगको अपेक्षा गरेको छु । चिववन र बर्दिया राष्ट्रिय निकुञ्जभन्दा बढी एडभेन्चर, सुन्दर र मनमोहक रहेको सफारी अनुभव भयो ।’
पर्यटन व्यवसायी भट्टराईले बेलका नगरपालिकाको समृद्धिमा पर्यटनको विविध आयामलाई आत्मसात गर्न सके ठूलो योगदान पुग्ने बताए ।
टप्पुको उदयपुर खण्डमा प्रचारको कमि
कोसी टप्पुले तीन वटा जिल्लालाई समेटेको छ । सुनसरी, उदयपुर र सप्तरी । सुनसरीतर्फबाट टप्पु घुम्नेहरु आउने गरे पनि उदयपुरको उत्तरी नाकाबाट टप्पु भ्रमणमा आउने आगन्तुकहरु न्यून रहेका छन् ।
प्रचारप्रसारको कमिले घुम्न आउने आगन्तुकले चासो नदिएको हुन सक्ने कोसीटप्पु वन्यजन्तु आरक्षका गेम स्काउट प्रकाश कार्की बताउँछन् । उनले टप्पुका विषयमा जानकारी दिँदै भने, ‘कोसीटप्पुको प्रचारप्रसारको कमिले पनि हो कि वा कसरी आउनेजाने भन्ने नभएर पनि हो कि त्यति आउँदैनन् । यो पाटोमा सफारी पनि भएको छैन । मान्छेहरु आएका छैनन्, त्यति आउँदैनन् । आउनुपर्ने र घुम्नु पर्ने चाहिं ठाउँ हो ।’
स्थानीय देशविदेश घुम्न जान्छन् तर आफ्नै ठाउँको महत्व बुझ्न नसकेको उनको भनाइ छ । ‘यहाँ अर्नाहरु पाइन्छ । गोहीहरु पाइन्छ । विभिन्न जातिका माछाहरु पाइन्छन् । चराहरु पाइन्छन् । साइबेरियन चराहरु पाइन्छन् । पर्याप्त रुपमा पर्यटकहरु आउनका लागि घुम्नका लागि रमणीय ठाउँ हो ।’ उनी भन्छन्, ‘देश–विदेश घुम्नु भन्दा नेपालको यो भूभाग घुम्न आउँदा अत्यन्तै राम्रो छ । हामी पैसा खर्च गरेर कहाँकहाँ पुग्छौं, लाखौं खर्च गरेर । तर यहाँ हाम्रो नजिकै यति ठूलो सम्पदा छ, त्यति धेरै खर्च गर्नु पनि पर्दैन । सामान्य खर्चमा पनि हुन्छ । टप्पु चाहिं आउनु पर्ने, घुम्नु पर्ने महत्वपूर्ण ठाउँ हो ।’