नदीजन्य पदार्थ ढुवानीमा सहजीकरण गर्न माग गर्दै आएका धरानका ट्याक्टर व्यवसायी आन्दोलित भएका छन् ।
स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको एक वर्षसम्म पनि ट्याक्टर व्यवसायीको माग सम्बोधन नभएको गुनासोसहित व्यवसायीले पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन् । मंगलबार धरानस्थित पानीट्याङ्कीमा पत्रकारसम्मेलन गर्दै व्यवसायीले स्थानीय सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले व्यवसायीलाई वार्तामा बोलाएर नदीजन्य पदार्थ ढुवानीका लागि आवश्यक सहजीकरण गर्न माग गरेका छन् ।
ट्याक्टर व्यवसायीलाई पलायन गर्ने नगर सरकारको नीति देखियो,' धरान ट्याक्टर व्यवसायी सङ्घका अध्यक्ष विक्रम तामाङले भने,' नगर प्रमुखको खोलासँग इगो छ रे, उहाँले खोला खोल्दिन भन्नुहुन्छ, हामीले सीमाङ्कन गरेर निश्चित क्षेत्र तोकेर
नगरपालिकाबाट पुर्जी काट्ने गरी व्यवस्थापन गरिदिन माग गर्दै आएका छौं, वर्ष दिन बित्यो, आवश्यक पहल भएन ।'
व्यवसायीले आफूहरु खोला ठेक्का लगाउने पक्षमा नभएको स्पष्ट पारे । उनीहरुले खोला किनारमा नदीजन्य पदार्थ सङ्कलन गरी आश्रित परिवारले सङ्कलन गरेको सामग्री ढुवानी गर्दासमेत नगर प्रहरीले दु:ख दिने र आफ्ना ट्याक्टर नियन्त्रणमा लिने गरेको गुनासो गरे । आफूहरुले कर तिर्छु भन्दा पनि व्यवसायीलाई हतोत्साहित गर्ने काम भएको उनीहरुले बताएका छन् । व्यवसायीका अनुसार हाल ४ वटा ट्याक्टर र एउटा टिपर धरान उपमहानगरले नियन्त्रणमा लिएको छ ।
यस अघिको स्थानीय सरकारलाई समेत आग्रह गरी नगरले निगरानी गर्ने र आवश्यक कर तिरेर हाते बेल्चा प्रयोग गरेर उत्खनन् गरिएका सामग्री ढुवानी गर्दै आएका ट्याक्टर व्यवसायीले वर्तमान नगर सरकारको अव्यवहारिक नीतिले पलायन हुने अवस्था आएको भन्दै आक्रोश पोखेका छन् ।
'नगरको नीति ट्याक्टर व्यवसायीको मार्का नबुझ्ने हो भने हाम्रा धरानभरि चल्ने दुईचार सय ट्याक्टर नगरपालिकालाई जिम्मा लाउछौं,' धरान ट्याक्टर व्यवसायी सङ्घका सचिव लालकुमार राईले भने, 'जे गर्ने हो नगरपालिकाले गरोस् ।'
धरान नगरप्रमुख मजदुर र व्यवसायीमैत्री नभएको उनीहरुले आरोप लगाएका छन् । नगरप्रमुख हर्कराज राईले आफूहरुलाई चोरको संज्ञा दिएको भन्दै व्यवसायीले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । 'तपाईंहरु चोर्दै गर्नुहोस्, हामी पक्राउ गर्दै जान्छौं भन्ने आशयको अभिव्यक्ति मेयर हर्क साम्पाङले दिनुभएको छ,' धरान ट्याक्टर व्यवसायी सङ्घका कोषाध्यक्ष नवराज राईले भने,'उहाँको यस्तो अभिव्यक्तिले एकजना व्यवसायी र मजदुरमा आश्रित कम्तिमा चारदेखि ६ जनाको परिवारले अन्याय महसुस गरेको छ, हामी निर्णायक आन्दोलनमा अघि बढ्छौं।'
नगरप्रमुखले सन्चालन गरिरहेको श्रम अभियानमा समेत आफूहरुले सहयोग गरिरहेको अवस्थामा व्यवसायीमाथि नै अव्यवहारिक र अन्यायपूर्ण निर्णय गर्नु हितकर नभएको व्यवसायीले बताएका छन् ।
'खोलामा नगरपालिकाको टिपर पनि चलिरहेको छ, हामीले रोकेका छैनौं, श्रम अभियानमा सहयोग गरिरहेका छौं ।' ट्याक्टर व्यवसायी सङ्घका अध्यक्ष विक्रम तामाङले भने, 'गरिखाने वातावरण तयार गर्न आग्रह गर्दा नगरप्रमुखलाई व्यवसायी धेर भएको देखियो ।'