धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका धनकुटा–७ टोड्केका रविन विश्वकर्माको आइतबार साँझ दुर्घटनामा परी मृत्यु भएको छ ।
११ वर्षअघि मलेशिया पुगेका ३४ वर्षीय विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको खबरले यता परिवारमा भने रुवाबासी छाएको छ । गहभरि आँशु झार्दै रविनका आमा अम्विका विश्वकर्माले भनिन्, ‘आफ्नो छोरा घर नआएको धेरै भए पनि एक दिन आउँछ भन्ने आशा थियो, तर मृत्युको खबरले संसारै अँध्यारो भयो ।’
उनले पछिल्लोपटक गत पुस महिनामा फोन सम्पर्क भएको र त्यसयता सम्पर्क नरहेको बताइन् । मलेशियाबाट रविनका सानिमाको छोरा प्रेम विश्वकर्माले दिएको जानकारीअनुसार उनी मलेशियाको सिलिङ्गन सालाम सन्तोषा भन्ने ठाउँमा रहेको एस्टिनो कलर स्टिल कम्पनीमा काम गर्थे । आइतबार दिनभर माछा मारेका उनी बेलुका ९ बजे साथीलाई आफू बसेको ठाउँबाट मोटर साइकलमा राखेर पुर्याउने क्रममा दुर्घटनामा परेका थिए । दुवै जनाले मिलेर माछा मारेर ५० रुपैयाँमा बिक्रीसमेत गरेका थिए । रविन मलेशियाको सिलिङ्गन सालाम सन्तोषामा बस्दै आएका थिए ।
रविन बसेको ठाउँदेखि साथीको डेरा १५ मिनेटको दूरीमा साथीलाई पु¥याउन जाँदा तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको प्रेमले ब्लाष्टलाई बताए । उनलाई उपचारको लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनीसँगै सवार साथीको पनि मृत्यु भएको बताइएको छ । तर, उनको वतन भने प्रेमलाई थाहा नभएको बताए ।
रविनको घरमा १५ वर्षको जेठा छोरा रोशन, ११ वर्षको कान्छा छोरा राहुल, ५४ वर्षीया आमा अम्विका र ३५ वर्षीया श्रीमती कल्पना रहेका छन् । जेठो छोरा रोशन त्रिवेणी मा.वि. धनकुटामा कक्षा १० मा पढ्छन् भने कान्छा छोरा राहुल कक्षा ४ मा पढ्दै छन् । श्रीमान् रविन ११ वर्ष पहिले मलेशिया जाँदा कान्छा छोरा १ महिनाको गर्भ रहेको श्रीमती कल्पनाले बताइन् ।
उनले भनिन्, ‘एघार वर्ष पहिले श्रीमान् मलेशिया गएको पहिलो महिनामै ९५ हजार रुपैयाँ पठाएपछि अहिलेसम्म एक रुपैयाँ पनि पठाएनन् ।’ फोनमा पनि कहिलेकाहीँ मात्र कुराकानी हुने गरेको उनको भनाइ छ । उनले मजदुरी काम गरेर २ छोरालाई पढाइरहेकी छन् । ‘श्रीमान् आउँछन् भन्ने आशा थियो, मृत्युको खबरले मलाई पनि मरेतुल्य बनायो’–कल्पनाले भनिन् ।
कमाउन गएका श्रीमान् ११ वर्षसम्म त घर आएनन्, पैसा पनि पठाएनन्, आउँछन् कि भन्ने श्रीमती र परिवारलाई आशा थियो तर, सासै गएको खबरले विश्वकर्मा परिवारलाई पीडा थपिदिएको छ ।