विषय प्रवेशः
धरानमा एयरपोर्ट बनाउने चर्चा चलेको वर्षौं भइसकेको छ । यद्यपि अहिलेसम्म पनि एयरपोर्ट भने बनेको छैन । यहाँ एयरपोर्ट बनाउने कुरा भनेको धरानलगायत वरिपरिका नागरिकहरूको चिन्ता र चासोको विषय पक्कै पनि हो । आजसम्म थुप्रै पार्टी, नेता, कार्यकर्ता तथा सङ्घ–संस्थाहरूले हवाई मैदान बनाउने वाचा कसमहरू खाँदै आएका छन् । यही एयरपोर्टकै मुद्दामा कतिपयले आप्mनो राजनैतिक भविष्य बनाएका छन् भने कतिपय भने बनाउने दाउमा छन् ।
धरानमा आजसम्म एयरपोर्ट बनेको छैन । तर, पनि बेला मौकामा यसबारे ठूलै हल्ला खल्ला र मिडिया स्टन्टबाजी गर्न भने सफल भएको देखिन्छ अर्थात् धरानमा हवाई मैदान बनाउने कुराले कहिलेकाहीँ सिङ्गो धरान तरङ्गित हुने गर्दछ भने कहिलेकाहीँ चकमन्न अवस्था पनि देखिन्छ । खास गरेर धरानमा हवाई मैदान बनाउने कुराले धेरैको तन, मन र ध्यान खिचिरहेको छ तर, हरेक चोटी चल्ने हल्लाखल्लाले अहिलेसम्म मूर्तरूप लिन सकेको छैन । यसले आम धराने मतदाताहरूमा गम्भीर प्रश्न खडा भइरहेको छ । के नेताहरूले हामीलाई ढाँटेकै हुन् त ? के नेताहरूले झुठो कुरा गरेकै हुन् त ? के नेताहरूले चुनावी नारा मात्रै बनाएका हुन त ? के हवाई मैदान बन्नु पर्छ भन्ने आम मतदाताहरूको कमलो भावनामा चुनावलक्षित खेलवाड भएकै हो त ? अहिले आम धराने जनताहरू यस्तै अनुत्तरित यक्ष प्रश्नहरू सँगालेर बसिरहेका छन् ।
वस्तुतः धरानमा हवाई मैदान बनाउने कुरा असाध्यै जायज छ । यसमा कसैको दुईमत छैन । त्यसमा पनि हामी धरानेहरूको दोस्रो मत हुने कुरा आउँदैन । पुँजीवादी पुनर्उत्पादनको चक्र असाध्यै तीव्र भइरहेको बेला धरानजस्तो ठूलो सहरलाई स्थल सेवासँगै हवाई सेवासँग जोडिने कुराले आपैmमा दूरगामी महŒव राख्दछ । जुनसुकै कोण र स्वार्थबाट विषयवस्तुको उठान गर्दा पनि धरानमा एयरपोर्ट बनाउने कुरा सही छ । यति हुँदाहुँदै पनि आजसम्म धरानमा हवाई मैदान बनाउने काम भने केवल चर्चा र मिडियाबाजीमा मात्र सीमित भइरहेको छ । यसो हुनुको मूलभूत कारणहरूबारे यहाँ चर्चा गरिएको छ ।
व्यावसायिक पक्ष
धेरैले धरानमा हवाई मैदान बनाउने सवाललाई आप्mनो राजनैतिक माहौल विकास गर्ने विषयवस्तु बनाइरहेको देखिन्छ । यसमा प्रायः सबै नेता तथा स्थानीय जनप्रतिनिधिहरूले चुनावी वातावरण तताउने रणनीतिमा मात्र हवाई मैदानको विषय उठाउने गरेका छन् । यो हामी सम्पूर्ण धरानवासी नागरिकहरूको लागि दुःखद् विडम्बना र अभिसापको कुरा हो । यहाँसम्म गैरजिम्मेवार र झुठो कुरासमेत गरिरहेका छन् कि अरूले गरेनन्, अब म गरेर देखाउँछु भन्दै चुनाव वरिपरि कुर्लिन्छन् । चुनावपछि त्यसै–त्यसै सेलाएर जान्छ । धरानमा एयरपोर्ट बनाउने कुरा विगतदेखि नै यस्तै गोलचक्करमा फसिरहेको छ ।
वास्तवमा हवाई मैदान निर्माण गर्ने कुरा कसैको आवश्यकता र भावनामाथि ब्ल्याकमेलिङ गर्ने विषय होइन । यो चुनावी माहौल गरम बनाउने विषयवस्तु मात्र पनि होइन । कसैको लहड, सनक र रहरको विषय पनि होइन । यो भनेको वस्तुवादी सम्भावना, आवश्यकता र औचित्यताको आधारमा निर्माण गर्ने कुरा हो । दीर्घकालीन गुरुयोजनासहित अघि बढाउने सवाल हो । त्यसैले प्रथमतः हवाई मैदान बनाउने कुरा भनेको निरन्तर पूर्ण आकारसहितको सञ्चालनसँग जोडिन्छ । यो यात्रुको आगमन र प्रस्थानसँग जोडिन्छ । नाफा र घाटासँग जोडिन्छ । यो मैले वा कुनै अमुक पात्रले बनायो भनेर हिरो बन्ने कुरा मात्र होइन । यो मेरो घरछेउमै चिल्लो एयरपोर्ट छ भनेर गमक्क पर्ने मात्र कुरा होइन । मलाई कहिलेकाहीँ यसो काठमाडौं जाँदा सहज हुने कुरासँग मात्र जोडिएको हुँदैन हवाई मैदान बनाउने कुरा । अर्थात् यो सुविधासँग मात्र जोडिएको हुँदैन । वस्तुतः यो व्यापार वा नाफासहितको सेवासँग जोडिएको हुन्छ ।
पछिल्लो समय पर्यटन मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन टोलीले धरानमा हवाई मैदान बनाउन फलदायी नहुने निष्कर्ष निकालेको छ । यो टोलीले कति सत्यतथ्य धरातलमा टेकेर अध्ययन् गर्यो, त्यो हामीलाई थाहा छैन तर, यसको रिपोर्ट वस्तुवादी हो भने अब अभैm लिँडेढिपी गरिरहनु हुँदैन । यस्तै चर्चा, मिडियाबाजी, बहसपैरवी, तामझाम, उल्लास, प्यास र व्यग्र चाहनाकै बीच बनेका झण्डै दुई दर्जन हवाई मैदानहरू यात्रुको चाप नहुँदा चल्न सकेका छैनन् । यसको भुक्तभोगी तपाईं हामी छँदैछौं । धरान त्यसको अपवाद हुन्छ भन्ने वस्तुवादी आधार देखिँदैन । अर्थात् एयरपोर्ट भनेको बनाउनेभन्दा पनि चलाउने कुरासँग जोडिएको हुन्छ ।
प्राविधिक पक्षः
हवाई मैदान राम्रोसँग सञ्चालन गर्नको लागि यसको प्राविधिक पक्षको निर्णायक महŒव हुन्छ । हवाई उडान भनेको संवेदनशील प्रविधि हो । यसकारण यसको प्राविधिक पक्षमा सानातिना निहीत स्वार्थको लागि मापदण्ड विपरीत सम्झौता गर्नु घातक हुन्छ । यसो गरियो भने त्यसले सिङ्गो यात्रु र व्यवसायीहरूको जीवनमाथि खेलवाड गरेको ठहरिन्छ । धरानको सन्दर्भमा चालीस नटिकल माइलभन्दा कम दूरीमा विराटनगर एयरपोर्ट हुनु, उत्तरपट्टि नजिकै रहेको अग्लो डाँडा अनि छोटो धावन मार्गजस्ता प्राविधिक समस्या रहेको भनेर यस अघिदेखि नै उठान हुँदै आएको विषय हो । धरानमा पूर्णरूपमा एयरपोर्ट निरन्तर चल्न सक्छ भन्ने ग्यारेन्टी गर्ने हो भने जग्गा कमि र मुआब्जासम्बन्धी समस्या सजिलै समाधान गर्न सकिन्छ । तर, एयरपोर्ट नै चल्न सकेन भने यस्ता सबै पहल र प्रयत्नहरू खेर जान्छन् । यस्तो प्राविधिक कमजोरीकै बीच कतिपय नेता र जनप्रतिनिधिहरूले जबरजस्ती चुनावी राजनैतिक माहौल बनाउने नाममा बीचबीचमा यो मुद्दा उराल्दै आएको देखिन्छ ।
यता केही दिनअघि धरानमा हवाई मैदान बनाउने सन्दर्भमा निवर्तमान पर्यटन मन्त्री सुदन किराती र धरान नगरका प्रमुख हर्क साम्पाङबीच निकै तिक्त घोचपेच भएको तपाईं हामी सबैलाई थाहै छ । यसमा प्राविधिक अध्ययन समितिले धरानमा यात्रु अभावलगायतका अन्य प्राविधिक कारणले हवाई मैदान चल्न नसक्ने निष्कर्ष निकालेको थियो । समितिको यो निष्कर्षलाई नगर प्रमुख साम्पाङले विरोध गर्दै आएका छन् । उनले धरानमा जसरी पनि हवाई मैदान बनाउने अड्डी कसिरहेका छन् । सङ्घ र प्रदेश सरकारलाई गाली गरिरहेका छन् तर, हवाई मैदान बनाउने कुरा कसैको इच्छा, हठ, प्रतिष्ठा, राजनैतिक भविष्य र चुनावी वातावारण निर्माणसँग मात्र जोडिने विषय होइन । यो भावनामा तरङ्गित हुने कुरा मात्र पनि होइन ।
निष्कर्षः
त्यसैले धरानमा हवाई मैदान बनाउने विषयलाई चुनावी माहौलसँग नजोडौं । कसैको राजनैतिक छवि धमिलो पार्ने र कसैको राजनैतिक छवि उज्यालो पार्ने नितान्त निहीत स्वार्थमा यस्तो संवेदनशील सवाललाई सौदाबाजी नगरौं । केवल हल्लाखल्ला, मिडिया स्टन्टबाजी, चर्चा कमाउन अनि हिरो बन्ने निजी स्वार्थमा एयरपोर्टजस्तो जनसरोकारको विषयलाई बन्दी नबनाऔं । यस्तो सामाजिक सरोकारको सवाललाई निजी स्वार्थको गुरुत्वकेन्द्रमा राखेर नापतौल नगरौं, जसलाई एकखालको अपराध भन्न सकिन्छ ।
यदि प्राविधिक समितिले वस्तुवादी अध्ययन गरेर नै यस्तो निष्कर्ष निकालेको हो भने त्यसमा हामी अभैm बाठो भइरहनु पर्छजस्तो लाग्दैन । धरानवासी भएको नाताले हामीलाई धरानमा हवाई मैदान बनाउने कुराले औधी नै खुसी तुल्याउँछ । तर, सवाल कुनै अमुक पात्र वा व्यक्ति खुसी र बेखुसी बन्ने भन्ने मात्र होइन । मुख्य सवाल भनेको एयरपोर्ट राम्रोसँग सञ्चालन हुन्छ कि हुँदैन भन्ने हो, लगानी नडुबोस भन्ने हो । अर्बाैं लगानी गरेर बन्द भएका अरू २२ वटा एयरपोर्टजस्तै धरान एयरपोर्टको हविगत नहोस् भन्ने हो । हामीलाई चल्ने वा चलाउने एयरपोर्ट चाहिएको छ देखाउने वा फोटो खिच्ने एयरपोर्ट होइन । सबैलाई चेतना भया !