विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित लोहन्द्रा खोलामा उपकरणहरू प्रयोग गरेर मापदण्डविपरीत उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई जरिबाना गराएको छ ।

कटहरी गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्डविपरीत खोला उत्खनन् गर्ने विराटनगर–६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.लाई १ लाख रुपैयाँ जरिबाना गरिएको हो ।

कटहरी–६ चतारी घाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्ने गरी लोहन्द्रा खोलामा गरिएको अवैध उत्खनन् पुर्नुपर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए ।

‘मापदण्डविपरीत उपकरणहरू खोलामा पसाएर गरिएको उत्खनन्ले थुप्रै खाडलहरू बनेका छन् । त्यो खाडल पुरेपछि र कार्यपालिकाले गरेको निर्णयअनुसार १ लाख रुपैयाँ जरिबाना तिरेपछि मात्रै बरामद गरिएको ट्याक्टर र उत्खनन्मा प्रयोग भएको उपकरण दिने हो’ अध्यक्ष चौधरीले भने, ‘खाडल नपुरेसम्म र जरिबाना रकम नतिरेसम्म हामी उपकरण दिने छैनौँ ।’ 

गत फागुन २३ मा श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले मापदण्डविपरीत उपकरणहरू प्रयोग गरी उत्खनन् गर्दै गरेको अवस्थामा गाउँपालिकाले ट्याक्टरसहित उत्खनन्मा प्रयोग भएको उपकरण बरामद गरेको थियो ।

दैनिक अवैध उत्खनन्ले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सयबढी घरपरिवार उच्च जोखिममा छन् । कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन् गरेको पाइएको थियो । जुन मापदण्डविपरीत रहेको कटहरी गाउँपालिका अध्यक्ष चौधरीले बताए । ‘आईईई प्रतिवेदन र सहमतिविपरीत ठेकेदार कम्पनीले उत्खनन् गरेको पाइएको छ । १० देखि १५ फिट गहिरो खाडल बनाएर उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको छ । उपकरणहरू उत्खनन्मा प्रयोग गर्न नपाइने लिखित सम्झौता गरिएको छ । तर, यहाँ तीन मिनेटमा ट्याक्टर र टिपरमा लोड गर्ने उपकरणहरू भेटिएका छन्’–अध्यक्ष चौधरीले भने ।

धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोलाबाट बालुवा र भरौट झिक्ने ठेक्का गत मङ्सिर ८ गते ठेक्का लागेको हो । श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले १ करोड ३२ लाख १६ हजार ५ सय ९२ रुपैयाँमा ठेक्का पारेको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म रहेको छ । सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधि रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठले हस्ताक्षर गरे पनि खोला ठेक्का भने कटहरीका स्थानीय नेपाली काङ्ग्रेस कटहरी–२ का सभापति एवम् युवा नेता सञ्जय मण्डलले लिएका हुन् ।