विजयपुर । ट्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ बिक्री गर्न नदिए ट्याक्टर जिम्मा लिएर रोजगार दिनुपर्ने माग गरेका छन् ।

बिहीबार उनीहरूले धरान उपमहानगरपालिका परिसरमा धर्ना दिँदै गरिखान नदिएको बताएका छन् । ट्याक्टर व्यवसायीहरूले धरानको सेउती, सर्दुलगायतका खोलाबाट राजश्व तिरेर ढुङ्गा, मिक्सगिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगर परिसरमा ट्याक्टर राखेका छन् ।

धरानका व्यवसायीले सबै ट्याक्टर उपमहानगर परिसरमा लगेर धर्ना दिएका छन् । उनीहरूले धर्ना दिएपछि कर्मचारी आवात–जावत गर्न पनि समस्या भएको छ । बन्द गर्ने ट्याक्टर व्यवसायी सङ्घर्ष समितिका सचिव नरध्वज तामाङले धरानका तीनवटा खोलाबाट राजस्व तिरेर मिक्सगिट्टी बिक्री वितरण गर्न दिनुपर्ने बताए । उनले भने, ‘हातले लोड गरेर बिक्री वितरण गर्न पाउनुपर्छ ।’ उनले उपमहानगरले नदीजन्य सामग्री बिक्री वितरणमा रोक लगाउँदा करिब २ सय ट्याक्टर मजदुर परिवार समस्यामा परेको बताए । उनले भने, ‘राजस्व तिरेर नदीजन्य सामग्री बिक्री वितरण गर्न दिनुपर्यो । नगरले मूल्याङ्कन गरेर ट्याक्टर किन्दिनुपर्यो । ट्याक्टरमा आश्रित मजदुरलाई रोजगार दिनुपर्यो ।’

उनले उपमहानगरले समस्या समाधान नगरेसम्म बाहिरका ट्याक्टर धरान भित्रिन नदिने बताए । उनले भने, ‘ट्याक्टर व्यवसायी हुनु अपराध गरिएछ । नगर प्रमुखले ट्याक्टर व्यवसायीलाई चोर बनाए । हामी चोर होइनौँ ।’ उनले ट्याक्टर मजदुरलाई मार्न खोजेको बताएका छन् । उपमहानगरमा टिपर पनि ल्याएर धर्ना दिने बताए । उनीहरूले नगर प्रमुख हर्कराज राईसँग वार्ता नगर्ने कार्यपालिकासँग वार्ता गर्ने बताएका छन् ।

बुधबार ट्याक्टर व्यवसायीले पत्रकार सम्मेलन गरेर आफ्नो समस्या सार्वजनिक गरेका थिए । मङ्गलबार उनीहरूले नगर प्रमुख राईलाई भेटेर समस्या समाधान गरिदिन अनुरोध गरेका थिए । तर, नगर प्रमुख राईले खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्नेबाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान राखेका थिए । त्यसपश्चात् उनीहरू आन्दोलित बनेका हुन् । उनीहरूले आफ्ना समस्या समाधान नगरेसम्म धर्नालाई निरन्तरता दिने बताएका छन् ।