विराटनगर । खुट्टामा फित्ते चप्पल । हातमा झोला । त्यही झोलाभित्र आफ्नो जग्गाको धनीपुर्जा लिएर विराटनगर–१८ दिमादिगी र लावघाटका मिटरब्याजबाट पीडित भएका एक दर्जन सर्वसाधारण बुधबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा प्रवेश गरे ।
उनीहरूले विराटनगर–१८ मटेरुवा घर भएका मिटरब्याजी ५३ वर्षीय सुनिल साहबाट पीडित भएको भनी जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको तीन साता भयो । प्रशासनले अहिलेसम्म पीडक र पीडितलाई बोलाएर छलफल पनि गराएको छैन । कारबाहीको विषय त परको कुरा भयो । त्यसैले उनीहरू मिटरब्याजी साहविरुद्ध आफूहरूले दिएको उजुरीबारे के भयो भन्दै अचेल दिनहुँजसो जिप्रका मोरङ र विराटनगर महानगरपालिकाको न्यायिक समितिको कार्यालयमा पनि पुग्ने गरेका छन् ।
उनीहरू कहिले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई त कहिले विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूसँग न्यायको लागि हात जोडिरहेका भेटिन्छन् । सम्पत्तिको नाममा केही कठ्ठा जमिनमात्रै भएका उनीहरू त्यही पनि गाउँकै मिटरब्याजी साहले खाइदिएको गुनासो लिएर चारैतिर दौडिरहेका छन् ।
मिटरब्याजी साहबाट पीडित भएकाहरू थपिने क्रम बढ्दै गएको छ । साहले उठिबास लगाएको भन्दै उजुरी बोकेर महानगरसम्म आउनेको सङ्ख्या यसअघि ६ जना मात्रै थियो । तिनै ६ जना र तिनका परिवारजनलाई भेट्न यसअघि ब्लाष्टले गरेको स्थलगत रिपोर्टिङको क्रममा दिमादिगी र लावघाटका यी दुई बस्तीमा पुग्दा उनीहरू जस्तै पीडितहरू अरू थपिएका थिए । मिटरब्याजी सुनिलबाट यी दुई बस्तीका एक दर्जन बढी पीडित भएको त्यहाँका स्थानीय बताउँछन् ।
साहबाट पीडित भएकाहरू विराटनगर–१८ दिमादिगीका ४८ वर्षीय दिलिपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, विराटनगर–१८ लावघाटकी ४५ वर्षीया मीनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीया खिकिरीदेवी साह, ४७ वर्षीय नारायण साह, अरुण मण्डलले मिटरब्याजी साहविरुद्ध उजुरी दिएका छन् । पीडितहरूले जग्गा फिर्ता गरी मिटरब्याजमा ऋण लगानी गरी गरिबलाई उठिबास लगाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित प्रशासनमा ११ फागुनमा उजुरी दर्ता गराएका हुन् ।
मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै दिलिपकुमार महतको १० कठ्ठा जग्गा बिक्री गरिदिएका छन् । दिलिपले चार वर्षअगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाख सावाँको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै विराटनगर–१८ मा रहेको कित्ता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । अहिले २२ लाख रुपैयाँ बुझाए जग्गा फिर्ता गरिदिने भन्दै आएका छन् ।
यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्षअगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावाँ र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । यस्तै नारायण साहले तीन वर्षअगाडि ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी लडाइँमा लागेका छन् । नारायणकी ६५ वर्षीया आमाको १७ धुर जग्गा सुनिलले धितो राखेर १ लाख २५ हजार रुपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसकिन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।
यस्तै विराटनगरकै महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा आफ्नो चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसकेका छन् । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता पास गरिदिने भन्दै आएका छन् । यस्तै खिकिरीदेवी साहले ५ कठ्ठा जग्गा भितो राखेर ७० हजार लिइन् । उनले सुनिललाई २ लाख ५० हजार बुझाएकी छन् । सुनिलले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।
आन्दोलनमा उत्रिने मिटरब्याज पीडितको चेतावनी
अहिलेसम्म प्रशासनबाट पनि कुनै पहल नहुँदा न्याय पाउने आशा हराउँदै गएको मिटरब्याज पीडित विराटनगर–१८ का रमानन्द मण्डलले बताए । ‘उजुरी दर्ता भएको तीन हप्ता हुन लागिसक्यो । बुधबार प्रशासनमा आएर बुझ्दा घटनाको अनुसन्धान भइरहेको छ । फेरि तपाईंहरूलाई बोलाउँछौं । अहिलेलाई जानू भनेर पठाउने गरेको छ । अहिलेसम्म मिटरब्याजीलाई ल्याएर छलफल पनि गराएको छैन । महानगरपालिकाबाट कानूनी सहायता लिएर प्रशासनसम्म उजुरी दियौँ । अहिलेसम्म कुनै परिणाम देखिएको छैन’ पीडित मण्डलले भने, ‘न्याय नपाए मिटरब्याजबाट पीडित भएकाहरू आन्दोलनमा उत्रिनेछौँ ।’
घटनाको निरन्तर फलोअपमै छौँ : प्रजिअ भट्टराई
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उजुरी आएपछि दर्ता भएको छ । बयान गराउने तयारीमा रहेका छौँ । हामीले पीडकलाई यहाँ उपस्थित गराउन आदेश गरिसकेका छौँ’– उनले भने । प्रशासनले यस्तो आदेश गरे पनि सुनिल साह भने अहिलेसम्म उपस्थित भएका छैनन् । उनी अहिले गाउँमै नभएको पीडितहरूले जानकारी दिए । फोन स्वीच अफ गरेर उनी सम्पर्कविहीन बनेकोबारे प्रशासनले केही खुलाएको छैन । ‘आवश्यक परे प्रहरीसँग समन्वय गरेर उनलाई हामी उपस्थित गराउने तयारीमा छौँ’ प्रजिअ भट्टराईले भने, ‘हामी यो घटनाको निरन्तर फलोअपमै छौँ ।’