विराटनगर । विराटनगर–४ स्थित नोबेल टिचिङ अस्पतालको अर्थो विभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको छ । उनकै प्रेमीले प्रेममा उत्पन्न खट्पट एवम् सम्बन्धमा देखिएको दरारका कारण हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

सिरहाको फुल्काहाकट्टी घर भएकी नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठा भाडामा लिई बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएका व्यक्तिले चाबी दासको साथीलाई दिएर फरार छन् ।

घटनापछि दासका प्रेमी भनिएका युवा फरार भएको प्रहरीले जनाएको छ । उनी २९ फागुनमा सिरहादेखि विराटनगरमा आएको देखिएको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । प्रेममा उत्पन्न खट्पट एवम् सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशङ्का छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र अरू विषय खुल्नेछ’–उनले भने ।

नर्स चन्द्रिकाकुमारीका साथीहरूका अनुसार उनका दुई प्रेमी थिए । ‘एक जना सीएमए र अर्को विदेशमा भएको २२–२३ वर्षीय पुरुष । उनीहरूको प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि हत्याको रूप लिएकोे हुनसक्ने अनुसन्धानबाट देखिन्छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामी त्यही अनुरूप अनुसन्धान गर्दै अगाडि बढेका छौँ ।’ दुईमध्ये कुन प्रेमीले हत्या गरेको भन्ने अहिले खुलिसकेको छैन । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको र पक्राउ नपर्दासम्मको लागि हत्याको आशङ्का गरिएका प्रेमी भनिएका व्यक्तिको नाम अहिले गोप्य राखिएको छ ।

हत्यापछि नर्सको फोटो साथीको मोबाइलमा
चन्द्रिकाकुमारी बसेको घर नोबेल अस्पतालदेखि करिब एक सय मिटर उत्तरमा दुई तलाको रहेको छ । उनी दोस्रो तलाको दक्षिण फर्किएको कोठामा बस्दै आएकी थिइन् ।

दोस्रो फ्ल्याटमा चार जना स्टाफ नर्स बस्दै आएका छन् । उनीहरू सबैजना नोबेलमा कार्यरत छन् । तीमध्ये चौधरी थरकी एकजना साथीको वाट्सएपमा रगत लत्पतिएको दासको फोटो नयाँ नम्बरबाट आएको छ । ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै म्यासेज गरेर फोटोहरू पठाएको पाइएको प्रहरी स्रोतले बतायो । घटनाको अनुसन्धान गरिरहेकोले  प्रहरीले कुन नम्बरबाट वाट्सएप गरे भन्ने खुलाएको छैन ।

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले डा. गिरीको घरमा सुरुमा बस्ने साथीलाई सुनाइन् । मुडियारी थरकी ती साथीले त्यसपछि घरबेटीलाई जानकारी गराएकी थिइन् । घरबेटीले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटिएको छ । घरबेटी भने उक्त घरमै बस्दैनन् । घर भाडामा लगाएर बाहिर बस्दै आएका छन् ।

ड्युटीमा नआएपछि अस्पतालमा खोजबिन
दुई महिना अगाडिदेखि चन्द्रिका नोबेल अस्पतालमा सेवा गर्दै आएकी थिइन् । उनको बिहीबार नाइट  ड्युटी थियो । राति आठ बजेसम्म पनि नोबेल हस्पिटलको अर्थो विभागमा उनी हाजिर नभएपछि खोजबिन सुरु भयो । अस्पतालबाट चन्द्रिकाको साथी सम्झनाकोमा बिहीबार राति ८ः४९ बजे फोन आयो । ‘चन्द्रिका अहिलेसम्म ड्युटीमा आएकी छैनन् । कहाँ गइन् ? किन नआएको बुझ न ।  सम्झना पनि नोबेलमा काम गर्छिन् । उनी पनि नर्स हुन् । सम्झना र चन्द्रिकाकुमारीको डेरा पूर्व–पश्चिम रहेको छ । चन्द्रिकाको पश्चिम दक्षिणको कोठा हो ।

त्यसपछि सम्झना ड्युटी सकेर शुक्रबार दिउँसो डेरामा आउने तयारी गर्दै थिइन् । त्यहीबीचमा चन्द्रिकाको साथी चौधरी थरकी अर्की नर्सले सम्झनालाई दिँदै ‘चाँडै कोठामा आउनू न चन्द्रिका दिदीको रगत भएको फोटो वाट्सएपमा आएको छ’ भन्दै आत्तिँदै फोन गरिन् । त्यसपछि सम्झना कोठामा आइन् । उनले घरबेटीलाई पनि खबर गरिन् । त्यसपछि घरबेटीले प्रहरीलाई खबर गरेपश्चात्कोठामा हेर्दा चन्द्रिकाको हत्या भएको अवस्थामा शव बाथरुममा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि सुटकेस लिएर फरार
चन्द्रिकाको प्रेमी तीन दिन अगाडिदेखि डेरामा आउने गरेका उनका साथीहरू बताउँछन् । ‘बिहीबार दिउँसो ४ देखि ५ बजेको बीचमा चन्द्रिकाको प्रेमीले कोठाको चाबी चौधरी थरकी साथीलाई दिए ।

‘चन्द्रिका जोगवनी गएकी छिन् । आएपछि दिनू है’ भन्दै चाबी दिए । त्यसपछि प्रेमी भनिएका ती व्यक्ति सुटकेस बोकेर बाहिर लागे’–चन्द्रिकाकी साथीले भनिन् ।

चाँडो वास्तविकता पत्ता लगाउँछौंः एसपी कार्की
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताएका छन् । घटनास्थलमा आफै पुगेर अनुसन्धान गर्दै आएका एसपी कार्कीले ब्लाष्टसँग वारदातस्थलमा भने, ‘हामीले सबै कोणबाट अनुसन्धान सुरु गरेका छौँ । चाँडै निष्कर्षमा पुग्नेछौँ ।’

प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न पनि वाट्सएपको प्रयोग गरेको हुनसक्ने भएकोले सबै कोणबाट अनुसन्धान गरिरहेको उनले बताए । ‘एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ’ उनले भने, ‘यस्तो जघन्य अपराधको गम्भीर ढङ्गले अनुसन्धान हुन्छ । जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौँ ।’