चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख भक्तजन चतराधाममा आउने अनुमान गरिएको छ । अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महाराज (जगदगुरु महायोगी सिद्धबाबा) को तत्वधानमा आयोजना हुन लागेको सङ्कटमोचन श्रीहनुमद् महायज्ञका लागि चतराधामस्थित जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ तथा तारक ब्रह्म पीठ चतराधाममा तयारी चलिरहेको छ । महायज्ञ र श्रीहनुमद कथा वाचनका लागि पीठले गरेको तयारी र कुम्भ महात्म्यबारे अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महाराजसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
***
आगामी वैशाख ५ गतेदेखि चतरा धाममा आयोजना हुने सङ्कटमोचन श्रीहनुमद् महायज्ञको महात्म्य के छ ? यो महायज्ञलाई कसरी बुझ्ने ?
- सङ्कटमोचन श्रीहनुमद् महायज्ञको सन्दर्भमा मलाई पढ्नु हुने सबैमा हार्दिक मंगलमय शुभकामना निवेदन गर्न चाहान्छु । वराहक्षेत्रको यो पावन भूमि विश्व वराह संस्कृतिको उद्भव विकासको भूमि सम्पूर्ण मानवहरुको एकमात्र पुर्ख्यौली थलो यो पावन भूमि, भगवान नारायणबाट अमृतपान गराइएको भूमि जहाँ कुम्भ आरम्भ भएको थियो, यो दिव्य भूमि श्रीराम तारक ब्रह्म महायज्ञद्वारा अत्यन्त जागृत र दिव्य भएको बाह्र वर्षे रामनामको अखण्ड कीर्तन र हनुमानजीको आराधनाले दिव्य भएको विश्वमा एकमात्र श्रीराम तारक ब्रह्म पीठ नेपालको वराहक्षेत्र चतरा श्री हनुमद प्राङ्गणमा विद्यमान छ ।
यस दिव्य भूमिमा २०८०/८१ को अवसरमा हुन गइरहेको कुम्भमेलाको पावन दिव्य पूण्यकालमा कुम्भ मेलालाई सार्थक र भव्य दिव्य विश्वस्तरीय बनाउनका लागि तथा धार्मिक पर्यटनद्वारा नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले सङ्कटमोचन श्रीहनुमद् महायज्ञको आयोजना गरिएको छ ।
यस दिव्य आयोजनको अवसरमा श्री हनुमानको एक अर्ब दिव्य मन्त्र जाप तथा कोटि हवन गरिने छ । जसमा ४ सय ३२ जना ब्राह्मण तथा होता, १ हजार २ सय जना अनुष्ठानीकर्ताहरु सलग्न भइरहेका छन् । १ लाख हनुमान चालिसा, सुन्दर काण्ड, १० हजार हनुमानजीको कवच मन्त्र आदिको पनि साथैसाथ अनुष्ठान भइरहेको छ । र, केही यज्ञको अवसरमा सम्पन्न हुन्छ ।
साथै रामनवमीको पावन अवसर चैत्र शुक्ल प्रतिपदा चैत्र २७ गतेदेखि वैशाख ४ गतेसम्म श्री रामायण अनुष्ठान, श्रीराम चरित्र मानषको दिव्य सङ्गीतमय रामकथा नेपाल आमाकी सुपुत्री चन्द्रकला सखीज्यूको मुखारविन्दबाट गायन हुनेछ ।
श्रीराम नवमीको पावन दिन श्रीरामको प्रादुर्भाव भएको दिव्य क्षणमा हामी नेपालको अस्मिता, पहिचान, गरिमालाई सुदुर भविष्यसम्म चिनाउन र अध्ययन गर्न योग्य बनाउन तथा पर्यटकीय, धार्मिक, सांस्कृतिक दृष्टिले सबैको अनुकूल बनाउने उद्देश्यले नेपालको सबै संस्कृतिलाई समेटेर ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्रको आकारको सैकडौ करोड लगानी लाग्ने गरी एक दिव्य श्रीराम मन्दिरको निर्माण हुन गइरहेको छ ।
सो रामनवमीको पावन अवसरमा विश्वविख्यात बागेश्वरधाम पीठाधीश्वर श्रीश्री धीरेन्द्रकृष्ण शास्त्रीजी महाराज भारतबाट पदार्पण गर्नुहुनेछ । उहाँ तथा नेपालका वरिष्ठ व्यक्तित्वहरुको संयुक्ततामा श्रीराम मन्दिरको शिलान्यास तथा सोही रामनवमीकै दिन अर्थात वैशाख ५ गतेदेखि ९ गतेसम्म श्री हनुमद कथाको प्रस्तुति श्री बागेश्वर धाम सरकारको मुखारविन्दबाट हुनेछ ।
यसले वराहक्षेत्रको महिमा ग्लोबल प्रसारण हुन्छ । त्यसको तयारीमा हामीले नेपालका मिडियाहरुदेखि लिएर भारतको इन्टरनेश्नल संस्कार टेलिभिजनबाट ग्लोबल प्रसारण हुनेछ । संस्कार नेपाल, संस्कार अमेरिका, संस्कार क्यानडा, संस्कार युरोप, संस्कार भारत र संस्कार अस्ट्रेलियासम्म ग्लोबल प्रसारण यस क्षेत्रबाट जसले कौशिकीको महिमा, वराहक्षेत्रको महिमा, नेपालको प्रकृतिको महिमा, धर्म, संस्कार, संस्कृतिको दिव्यता यस क्षेत्रको पर्यटनको विकास र लाभ, फाइदाको बारेमा विश्वको ध्यानाकर्षण गर्छौं । र, नेपालको धार्मिक पर्यटनको क्षेत्रमा एक विशेष जागरण ल्याउनेछ । राष्ट्रको अर्थतन्त्रमा यसले ठूलो लाभ पुर्याउने छ । त्यसमा पनि वराहक्षेत्रबाट कुम्भ मेलाबाट गरिने यस प्रसारणले त १ नम्बर प्रदेश अर्थात कोशी प्रदेश र मधेश प्रदेशलाई प्रत्यक्ष लाभ मिल्छ । वराहक्षेत्रसँग जोडिएका जिल्लाहरुलाई दिव्य र भव्य आर्थिक लाभ हुनेछ ।
जनकपुरलाई चतरासँग जोड्ने अभियान गरिंदैछ । सप्तरीको सखडा भगवतीलाई वराहक्षेत्रसँग जोड्ने, वराहक्षेत्रलाई पाथीभरा तथा हलेसी र दूधकुण्डलाई जोड्ने हाम्रो अभियान रहेको छ ।
यस आयोजनामा जनकपुर आउनेहरुले वराहक्षेत्र, मैनामैनी, चतरा, सूर्यकुण्ड, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, रामधुनीको दर्शन गर्दै हिमालय पाथीभरा र हलेसी दूधकुण्डसम्मको वातावरण बनाउँछ भने सखडा भगवतीबाट आउनेहरुका लागि पनि यो दिव्य मार्ग खोलिन्छ । यहाँबाट प्रवेश गर्नेहरुका लागि जनकपुरसम्म र जनकपुरबाट प्रवेश गर्ने विराटनगरसम्म वातावरण बनाउन यसको परिचय दिनका लागि पनि यस कार्यक्रममा विशेष प्रसारण गरिने छ ।
जसले गर्दाखेरि सार्वभौमिक आफ्नो अस्मिता, गरिमा, संस्कार र संस्कृतिको उचाई, नेपालको सुन्दरता र यहाँ भएका तीर्थहरुको गरिमालाई हामीले विश्वसामु प्रकट गरेर धार्मिक, सांस्कृतिक सौहार्दता सम्वर्धन गर्ने प्रयास गरिएको छ ।
यस यज्ञमा जातपातको भेद गरिएको छैन । धर्म, सम्प्रदायको भेद गरिएको छैन । समान सम्मान गरिएको छ । सबैले यस यज्ञमा भाग लिन पाउनु हुनेछ । जति हजुरहरुले मलाई सुन्दै- पढ्दै हुनुहुन्छ, मेरो प्रार्थना छ, यहाँहरुले यो अभियानको व्यापक रुपमा प्रचार-प्रसार गरिदिनू र एक आहुति भए पनि यस दिव्य अनुष्ठानमा सहभागी भएर यज्ञमा दिनका लागि र आशीर्वाद प्रसाद ग्रहणका लागि भए पनि हजुरहरुको गरिमामय पदार्पण होस्, आगमन होस् भन्ने कामना गर्दछु ।
आहुति प्रदान गर्नका लागि हवन सामग्री नरिवल, हनुमानजीका दिव्य प्रसाद यहाँ व्यवस्था गरिएको हुन्छ । तपाईंले यहाँ केही लिएर आउनुपर्दैन । स्वच्छ मनले आइपुग्दा हुन्छ । आफ्ना सामर्थ्यका अनुसार विशेष आहुति श्रीहनुमानजीको यज्ञमा सपर्पण गर्न सकियो र, प्रस्तावित श्रीराम मन्दिर बनाउनका लागि यहाँले एउटा इटा पनि राख्न सफल हुनु भयो भने यो नेपालको इतिहासमा रहनेवाला ठूलो कृतिको काम हुनेछ । यसका निमित्त म यहाँहरु सबैलाई आह्वान गर्दछु ।
बागेश्वर धाम सरकारलाई भेट्न सबै लालायित छन् । उहाँसम्म सर्वसाधारणले कसरी पुग्ने ?
- आज विश्वले सम्मान गरेको संसारको ध्यानाकर्षण भएका युवक सन्त बागेश्वर धाम सरकार अद्भूत, अपूर्व व्यक्तित्व हुनुहुन्छ । उहाँ सामाजिक व्यक्तित्व हुनुहुन्छ । र, सबकोप्रति उहाँको प्रेम स्नेह रहेको छ । उहाँको गरिमामय उपस्थिति हाम्रो नेपालको लागि ठूलो गौरवको विषय हो । किनकि सन्त, महापुरुषहरु जहाँ पुग्छन्, त्यो ठाउँ पवित्र हुन्छ । त्यस क्षेत्रको उहाँहरुले महिमा गुणगान गर्नुहुन्छ । उहाँ आउदा ओअनि हाम्रो क्षेत्रको गौरव बढ्छ । जसले गर्दा हाम्रो मान र स्वाभिमानको प्रवर्धन हुन्छ ।
अवश्य पनि उहाँहरुलाई भेट्न हजुरहरुमा कुतूहल होला । यही दिव्य अवसर त मैले जुटाउन खोजेको हुँ । यहाँदेखि भारत पुगेर दर्शन गर्न धेरै गाह्रो छ । एक त उहाँ भारतको पनि दुर्गम क्षेत्र मध्य प्रदेशको छत्तिसगढ सागर जिल्लाको पनि गाउँमा उहाँको धाम रहेको छ । त्यहाँ पुग्न निकै नै समय लाग्छ र विकटता पनि छ । हामी यहाँबाट ठूलो धन खर्चेर त्यहाँ पुगेर उहाँको आशीर्वाद लिने क्रम त्यो आफ्नो ठाउँमा छ । तर उहाँ स्वयम् यहाँ आएर आफ्नै धाममा दर्शन गर्नु, उहाँबाट आशीर्वाद र सत्सङ प्राप्त गर्नु सहज छ । सबलाई सहज होस् । सबैको धनको सुरक्षा पनि होस् । तपाईंले भारत पुग्दा लाग्ने खर्च यहीँ निर्माण हुन लागेको श्रीराम मन्दिरमा लगाउनु होस् । एक आहुति भए पनि नेपालको भूमिमा लगाइएको दिव्य यज्ञमा लगाउनुस् ।
विश्व अहिले ग्कोबल वार्मिङको खतरामा छ । त्यसबाट यो सम्पूर्ण ब्रह्माण्डलाई बचाउने अभियान गर्न सक्छौं । प्रदूषित हावालाई शुद्ध गर्न सक्छौं । प्रकृतिको वातावरणलाई सात्विक गर्न सक्छौं । प्रकृतिलाई रसिलो, पोषिलो यज्ञले बनाउँछ । त्यसमा हामी पात्र बन्न सक्छौं भने श्रीराम मन्दिरमा एउटा मात्र इटा राखेर भए ओअनि हाम्रो देशको गौरव बढाउन सक्छौं ।
बागेश्वार धाम सरकारको आगमन हामी सबैका लागि हो । सबैले उहाँको दर्शन हर्न सक्नुहुनेछ । सार्वजनिक रुपले सबैले उहाँको सत्सङ लिन सक्नुहुनेछ । त्यसमा पनि यदि कोही व्यक्तिगत रुपमा भेटवार्ता गर्न चाहानुहुन्छ भने हामीले यज्ञको विधिबाट प्रवेश गर्ने साधकहरुलाई यज्ञको प्रमुख कर्ताको रुपमा जसले पूर्ण साथ र सहयोग निर्वाह गर्नुहुन्छ, त्यस्ता भक्तहरुलाई बागेश्वरजीसँग व्यक्तिगत भेटको पनि अनुरोध गरेका छौं ।
यसरी यज्ञमा भाग लिनेले दुई प्रकारबाट यज्ञको यजमान बन्नुपर्छ । एउटा मुख्य यजमान र अर्को अनुष्ठानी यजमान । अनुष्ठानी यजमानले १ लाख २५ हजार हवन गर्नुपर्छ । ५ लाख ५१ हजार हवन गर्ने, १ हजार हनुमान चालिसा र १ सय ८ सुन्दर काण्ड गराउनेवला जो महामना व्यक्ति छन् उहाँलाई मुख्य यज्ञकर्ता भनिएको छ । यस्ता कर्तालाई सपरिवार आवास व्यवस्था, भोजन व्यवस्था, पास व्यवस्था गरिएको छ । उहाँहरुले यज्ञमा सबैतिर भाग लिनुहुन्छ । सत्सङमा भाग लिनुहुन्छ । स्टेजमा गएर विश्व मञ्चबाट हनुमानजीको आरती गर्नुहुन्छ साथै बागेश्वर धाम पीठाधीशसँग व्यक्तिगत जिज्ञासासमेत राख्न सक्नुहुन्छ ।
कसैले पनि व्यक्तिगत भेटघाटका लागि अन्य कुनै 'एप्रोच' को प्रयोग नगरीकन यज्ञको 'एप्रोच' लाई प्रयोग गर्न अनुरोध गर्छु । किनकि तपाईंले यज्ञमा भाग लिनु भयो भने समग्र राष्ट्रले लाभ प्राप्त गर्छ । तपाईंको जीवन, परिवारको कल्याण पनि हुन्छ र बागेश्वरजीको इच्छा पनि छ भरसक मलाई व्यक्तिगत भेट नगरून् । गर्न चाहानेले यज्ञको कर्ता भएर पवित्र हनुमानजीको यज्ञमा सहभागी भए मेरो प्रशन्नता हुने थियो भन्ने भाव प्रकट गर्नु भएको छ । तसर्थ यज्ञको माध्यमबाट बागेश्वरजीसँग भेट गरियो भने उहाँको सम्मानसमेत हुनेछ ।
बागेश्वरधाम सरकार आउँदाखेरि यहाँ दसौं लाख भक्तजन आउने अनुमान गर्न सकिन्छ किनभने हामीले उहाँका अघिल्ला सत्सङ्ग हेर्यौं भने पनि त्यो अनुमान गर्न सकिन्छ । उहाँको आगमनमा पीठले कसरी व्यवस्थापन गरेको छ? राज्यको दायित्व के छ ?
- श्री बागेश्वरधाम सरकारको यहाँ पदार्पण भइरहँदा ठूलो सङ्ख्यामा भक्तजन आउने सम्भावना छ । हामी यसको सहज अनुमान गर्न सक्छौं । त्यसको लागि जगदगुरु रामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतराधाम, महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान भक्तपुरले संयुक्त तत्वाधानमा आयोजना भएको छ । यस पीठसँग जोडिएका विश्वभर रहनु भएका वराहक्षेत्रप्रति आस्था राख्ने भक्त समुदायले आआफ्नो तर्फबाट आआफ्नो मिहिनेतको थोपाथोपा सहयोग जुटाउने आशा गरेका छौं ।
यहाँ भव्य तयारी गरिंदैछ । ४००/१००० स्क्वायर फुट विशाल पण्डालको व्यवस्था हुँदै छ । त्यहीअनुसारको लाइट र एलईडी स्कृनको पनि ताकि सबैले बागेश्वरजीलाई नजिकबाट निहार्न सकून् । दैनिक ३० हजारदेखि १ लाखसम्म व्यक्तिलाई भोजनको व्यवस्था गरिएको छ ।
१ सय ८ कुण्ड, साततले हवन मण्डपको व्यवस्था गरिएको छ । यज्ञकर्ता प्रमुखकर्ता र अनुष्ठानीकर्तालाई बासको व्यवस्था पनि आश्रम परिसरमा गरिएको छ ।
जो टाढादेखि आउनु भएका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुका लागि चतरावासीलाई होमस्टेको अभियान चलाउन आग्रह गरेको छु । धरान, इटहरी, विराटनगरको आसपासमा रहेका होटलहरुमा स्व:तस्फूर्त रुपमा यहाँहरुले आफ्नो आवासको व्यवस्था गर्न सक्नुहुनेछ । व्यवसायीलाई म सहुलियत रुपमा श्रद्धालुहरुलाई आवासको व्यवस्था गरिदिन, सहायता गर्न अनुरोध गर्दछु । अन्य व्यवसायीलाई पनि सात्विक भोजन, आहारको उचित मूल्यमा व्यवस्थापन गरिदिन आग्रह गर्दछु ।
यज्ञस्थलको आसपासमा स्टल लगाएर यो क्षेत्रको स्वरुप र भीडभाडलाई असर पार्ने काम नगरीकन जो जहाँ हुनुहुन्छ, त्यहीँ व्यवस्था गरिदिनू अथवा मेला प्रशाशनलाई अनुरोध गर्दछु कि उचित स्थानमा बाटो र यज्ञस्थललाई प्रभावित नगरीकन बजार व्यवस्थापन गर्न मैले अनुरोध गरेको छु । यसरी यहाँको भव्य व्यवस्था गरिएको छ । शौचालय, पानी इत्यादिको व्यवस्था पनि जोडसोरले गर्दै गरिएको छ ।
आवश्यक पर्ने मानव, पूर्वाधारको आश्रम आफैं लागि परेर आश्रमसँग जोडिएका भक्तजनका माध्यमबाट गर्दै आएको छ ।
आशा गर्छु नेपाल सरकारले यति दिव्य कुम्भको गरिमा, राष्ट्रको कीर्तिलाई सहयोग पुर्याउने आजसम्मको इतिहासमा अत्यन्त मननीय र महत्वपूर्ण सफल आयोजना हो यो । जसको गरिमामा ध्यान राख्दै बिजुली, पानी, शौचालय, सुरक्षा, पार्किङ, सरसफाइ, आकष्मिक उपचारको व्यवस्थाजस्ता विषय नेपाल सरकारबाट हुन्छ भन्ने आशा गर्छु ।
स्थानीय सरकार, राज्य सरकार, सङ्घीय सरकार सबैमा हामीले अनुरोध पनि गरेका छौं । त्यसमा हामी आशावादी छौं ।
महाराजजी ! आमजनताले कुम्भ मेलालाई कसरी बुझ्ने? कुम्भ भनेको के हो?
- संक्षेपमा, कुम्भ शब्द हामी सबैको कानमा गुन्जिरहेको छ । कुम्भ भनेको घडा, घैंटो । घैंटो भनेको पानीको सतह एकीकृत भएर बस्ने शितल प्याउ भनेर पनि हामीले बुझ्नुपर्छ । त्यो आफैंमा बढो मधुर, अमृतमय हुन्छ ।
मेलाको जो सन्दर्भ छ, मैले पूर्व चर्चामै भनिसकेको छु । समुद्रमन्थनपछि उत्पन्न भएको अमृत घडालाई यसै क्षेत्रमा ल्याएर भगवान श्री हरिनारायणले मोहिनी रुपमा देउताहरुलाई अमृतपान गराउनु भयो । र त्यसको तरबाट पिण्डेश्वर महादेव स्थापना गर्नुभयो ।
कुम्भ मेला भनेको अमृत मेला । अमृतपान गर्ने । अमृतबाट सबै प्राप्त हुन्छ । यो कुम्भ मेला आदिकालमा भगवान नारायणबाट प्रारम्भ भई यस कलि कालमा आएर लुप्त भइसकेको थियो । यसलाई पुनः जागरण गरिएको छ ।
स्वनामधन्य नेपाल आमाका सपूत जगदगुरु बालसन्त मोहनशरण देवाचार्यजीले यसलाई व्यापक स्वरुप दिने गरी प्रयास गरिरहनु भएको छ । उहाँको यसै प्रयासलाई मैले विगत तीनवटा कुम्भदेखि साथ दिंदै हाल २०८०/८१ को कुम्भमा भव्य तयारीका साथ आयोजना गरेको छु ।
वास्तवमा कुम्भ मेला किन गरिन्छ, कस्तो रुपमा हुनुपर्छ, यसले के लाभ दिन्छ? भन्ने कुरालाई संक्षेपमा भन्नुपर्दा आदि वैदिक सनातनमा आस्था राख्ने सबै सम्प्रदायहरु, भक्तजन, उपासकहरु, ब्रह्मचारी, विद्वान, पण्डितहरु, यान्त्रिक, मान्तृक, तान्त्रिक, योगी, नाथ, शक्ति उपासकलगायत सनातनका सम्प्रदाय, उपसम्प्रदाय, धर्माचार्य, सन्त, महन्त, महापुरुषहरु, कौशिकी नदीको तटमा एकीकृत भएर आआफ्नो गुरुपरम्पराअनुसार आआफ्नो उपासना पद्धतिको प्रदर्शन गर्ने, अनुष्ठान गर्ने हो ।
एकातिर अरुको बोध गराउन प्रदर्शन गर्ने हो भने अर्कातिर अनुष्ठान गर्ने हो । साधना गर्ने नदी किनारामा बसेर । भूमि शयन गर्ने, ब्रह्मचर्यको पालना गर्ने, अहिंसा व्रतको पालना गर्ने, तप गर्ने, सन्तमहात्माहरु एक ठाउँमा एकजुट भएर बसेर आफ्नो देशमा भएका धर्म, संस्कार, संस्कृतिहरुमा कहाँ , के कमि आए? समयसापेक्ष हिसाबले कसरी परिमार्जन गर्ने ? भन्ने कुराहरुको गोष्ठी गर्ने, धार्मिक तीर्थहरुको जागरण कसरी गर्ने, राज्यको ध्यानाकर्षण कसरी गराउने?, आस्था र निष्ठावानहरुको आस्था र निष्ठालाई सुवासनामूलक कसरी बनाउने, धर्म, संस्कृतिमा आएका विकृति, विसङ्गतिलाई कसरी हटाउने, एकाअपसमा भाइचारा, सांस्कृतिक समन्वय, आत्मीयता प्रवर्धन कसरी गर्ने? विश्वमैत्री भावनाको विषयलाई कसरी माथि उठाउने, त्याग, तप, दयाजस्ता गुणको कसरी धारण गर्नेजस्ता दिव्य कुराहरु यी अमृतहरु समाजलाई पिलाउने ठूलो जमघट, सन्त, महन्द, विद्वान, कवि, कोविद, ध्यानी, ज्ञानी, तपस्वीहरुको एक मेलालाई कुम्भ मेला भनिन्छ । जसले नेपालको धार्मिक पर्यटन, संस्कार, संस्कृति धर्म, दर्शन, परम्परालाई दिव्यता दिन्छ । र, जीवन आनन्दमय बनाउँछ । यसलाई कुम्भ मेला भनिन्छ । कुम्भलाई यसैगरी बुझ्नु पर्छ, यसैगरी आयोजना गरिनुपर्छ ।