विजयपुर । धरान उपमहानगरपालिकामा ३ सय ३ कुकुरको बन्ध्याकरण गरिएको छ ।

उपमहानगरको आयोजना र हिमालयन  एनिमल रेस्क्यु ट्रष्ट पोखराको प्राविधिक सहयोगमा बन्ध्याकरण गरिएको हो । चैत २ गतेदेखि सुरु भएको सडक तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । पशुपंक्षी विकास महाशाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार एक कुकुर बराबर १ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ ।

कुल ४ लाख ९३ हजार रुपैयाँ लागतमा बन्ध्याकरण गरिएको हो । उनले भने, ‘सङ्घीय सरकारको दर २ हजार रुपैयाँ हो । प्रतिस्पर्धामा १ हजार ८ सय गरिएको छ । प्रमुख पैकराले बन्ध्याकरण प्रभावकारी भएको बताएका छन् ।

हिमालयन  एनिमल रेस्क्यु ट्रष्टका अध्यक्ष खगेश्वर भट्टराईका अनुसार न्यूनतम् एउटा कुकुर बन्ध्याकरणका लागि २ हजार ५ सय रुपैयाँ पर्ने बताए । उनले शल्यक्रिया गरेका एक प्रतिशत कुकुरमा पनि समस्या नआएको बताए । उनले भने, ‘एन्टी रेबिज भ्याक्सिन पनि लगाइएको छ ।’