इतिहासः हिन्दु धर्मग्रन्थका अनुसार परापूर्वकालमा हिरण्यकश्यप नामक एक राक्षस राजा थिए । उनले भगवान् ब्रह्माको ठूलो तपश्या गरेका थिए । मान्छे, देवता, जनावर आदिबाट उनी नमारिने फल उनले प्राप्त गरेका थिए । त्यति मात्र नभई बिहान, दिन वा रातमा तथा पृथ्वी, जल, आकाशमा समेत उनको बध हुन नसक्ने तथा संसारको कुनै पनि हतियारबाट उनको मृत्यु नहुने वरदान उनले भगवान् ब्रह्माबाट पाएका थिए । यस्तो वरदान पाएपछि उनी आफूले आफूलाई संसारको सबैभन्दा बलियो तथा भगवान्भन्दा पनि शक्तिशाली सम्झन थाले । उनले भगवान्को होइन, उनको पूजा गर्नुपर्छ भन्ने मान्यता पनि जबरजस्ती राख्न थाले ।
उनका छोरा प्रल्हाद र बहिनी होलिका थिए । प्रल्हाद भगवान् विष्णुका भक्त थिए । प्रल्हादबाहेक सबैले उनको पूजा गर्न थाले । आफ्नो छोरो आफ्नै विरोधी भएको र भगवान् विष्णुको भक्त भएको उनलाई पटक्कै मन परेको थिएन । जतिसुकै भने पनि प्रल्हादले उनको पूजा गर्न नमानेपछि प्रल्हादको हत्या गर्ने योजना उनले बनाउन थाले । प्रल्हादलाई भीडबाट खसाएर मार्न खोज्दा उनी बचे । आगोले नडढ्ने वरदान पाएकी उनकी बहिनीसँग उनले आफ्नै छोरा प्रल्हादलाई मार्ने योजना बनाए, जसअनुसार होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बसिन् तर, अचम्म, होलिका आगोमा जलेर मरिन् तर, प्रल्हाद भने आगोबाट बचेर निस्के ।
अन्ततः भगवान् विष्णुका अनन्य भक्त प्रल्हादको रक्षा र अन्यायी, अत्याचारी राक्षसी राजा हिरण्यकश्यपलाई मार्न भगवान् विष्णुले नरसिंहको अवतार लिए । आधा मानव, आधा सिंहको रुप भएको नरसिंहले सन्ध्याकालमा हिरण्यकश्यपलाई आफ्नै काखमा राखी लामा–लामा नङले हिरण्यकश्यपको भुँडी चिरेर अन्त्य गरे ।
नेपालमा विशेष अवसरमा विशेष किसिमका चाडपर्वहरू मनाइने गरिन्छ । यसै क्रममा होली पर्वको पनि आफ्नै महŒव र स्थान छ । रङहरूको पर्व भनिने होली पर्व अथवा फागु पूर्णिमा नेपालमा आज र भोलि दुई दिन मनाइँदैछ । आज पहाडी जिल्लाहरूमा फागु पूर्णिमा मनाइँदैछ भने भोलि तराईका जिल्लाहरूमा फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ । यस समयमा वसन्त ऋतुको आगमन मानिने भएकोले यस पर्वलाई वसन्त पर्व पनि भनिन्छ । एक आपसको सम्बन्ध प्रगाढ बनाउन र पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउन एक आपसमा रङ दलेर होलीको शुभकामना दिँदै होली मनाइन्छ । केटाकेटी, युवा र प्रौढमाझ लोकप्रिय भएको होली पर्व मनाउन जानिए र जोरजबरजस्ती तथा करकाप नगरे एक रमाइलो पर्व हो । यो हर्ष र उल्लासले भरिएको पर्व पनि हो ।
होलीको समयमा होलिका दहन गरिन्छ । यसको लागि सार्वजनिक स्थलमा काठको थुप्रो वा त्यस्तै केही वस्तु राखेर जलाइन्छ । एक आपसमा रङ दलेर भाइचारा बलियो र सुदृढ बनाइन्छ ।
आजको यथार्थः राम्रा अबिरले चर्म रोग हराउने गर्दछ, सम्बन्ध बलियो बनाउँछ तर, रङ दल्ने नाममा मोबिल वा रसायनको प्रयोगले भने छाला बिगार्छ । बाटोमा हिँडिरहेका मानिसलाई लोलाले हान्ने, आफ्नो काममा हिँडेका व्यक्ति वा युवतीहरूलाई जबरजस्ती रङ दल्नु कानूनी अपराध पनि हो । यसो गर्नाले झै–भगडा हुने र रङ दल्ने व्यक्ति चिसो खोरभित्र पनि जाकिन सक्छ । यस्तो अवस्था आउनु भनेको सबैका लागि अप्रिय हुन्छ । विगतमा विभिन्न स्थानमा यस्तो अवस्था आउँदा सम्बन्धित परिवारलाई निकै पीडाबोध पनि भयो होला । यस्तो हँुदा रङमा भङ्ग हुन्छ ।
त्यस्तै होलीको नाममा कसै कसैले भाङ खाएर मात्ने, आफूले आफैलाई नियन्त्रणमा राख्न नसक्ने हुँदा अझै नराम्रा घटना घट्न सक्छन् । त्यसैले सजग र सतर्क भएर होली मनाऊँ, कसैलाई पनि जबरजस्ती रङ नलगाऊँं ।
अन्य समयमा झैं होलीको बेलामा पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऊँ । स्वेच्छाले होली पर्व मनाउनु नै आजको आवश्यकता हो । भाइचारा सम्बन्ध राख्न खोज्दा वा सम्बन्धलाई अझ बलियो बनाउन खोज्दा रहेको थोरै सम्बन्ध पनि हराउन सक्छ, दुश्मनी बढ्न सक्छ, बातचित बन्द हुनसक्छ, आपसी सम्बन्धमा खलल पुग्न सक्छ, चिसो खोरमा पुग्न सक्छ । तसर्थ सम्भावित दुर्घटना नहुने गरी कसैलाई पनि हानि नोक्सानी नपुग्ने गरी नियन्त्रित भएर शान्तिपूर्वक होली पर्व मनाऊँ । फागु पूर्णिमाको मौलिकतालाई पनि जोगाउने प्रयास गरौं । विकृतिलाई अत्य गरौं ।