भद्रपुर । जैविक तथा भौगोलिक विविधताका हिसाबले अत्यन्तै महत्वपूर्ण जङ्गल हो जलथल ।  यो वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका वनस्पतिजन्य रुखहरू पाइन्छन् । जसका कारण यो वनलाई रुखहरूको राजधानी भनेर सम्बोधन गर्ने गरिन्छ । नेपालमा सूचीकृत भएका रुखहरूका प्रजातिहरू ५ सय ९८ मध्ये जलथल वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रुखहरू पाइएको एक अध्ययनले देखाएको छ । जसमा ५० प्रजातिका रुखहरू दुर्लभ मानिन्छन् ।

‘जलथल वन’ को छुट्टै विशेषता
‘जलथल वन’ को छुट्टै विशेषता छ । ‘जलथल चारकोसे वन’ का नामले परिचित यो वन नेपालकै होचो भू–भागमा छ । पूर्वी नेपाल झापाको दक्षिण–पूर्वी भागमा भद्रपुर नगरपालिकासहित हल्दीबारी, बाह्रदशी र कचनकवल गाउँपालिकामा फैलिएको छ । घना बस्ती र कृषि भूमिको बीचमा रहेको करिब ६ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । समुद्र सतहदेखि ७०–११० मिटरको उचाइमा फैलिएको वनको लम्बाइ करिब १० दशमलव ५ किलोमिटर र चौडाइ ५ दशमलव ५ किलोमिटर रहेको छ । स–साना खोलाखोल्सी, सिमसार, पोखरी, केही उच्च र सुख्खा भू–भाग, खोला तट, खुल्ला चौर र विभिन्न अवस्थाका बोटबिरूवाका कारणले विविधतायुक्त पाइएको वन स्रोत अध्ययन तथा कार्य समूह (फरेष्ट एक्सन) नेपालका स्रोतकर्ता लीलानाथ शर्माले बताए ।

वनमा रहेका रूखहरुमध्ये साल यो वनको मुख्य प्रजाति हो । वनको संरचनामा वनस्पतिका चार तह देख्न सकिन्छ । सबैभन्दा माथिल्लो तहमा साल, बोटधँयेरो, लटहर, करम र साज जस्ता ठूला रूखहरु छन् । दोस्रो तहमा छायाँमा हुर्कने सिँदुरे कुम्भी, कालीकाठ, टाँटरी, बोहोरीजस्ता प्रजाति छन् । त्यस्तै तेस्रो तहमा बुट्यान प्रजातिका बिरूवा (गलेनी, अररी काँडा, मैदल र तीते (चुवा) आदि) प्रजातिका रूखहरु पाइन्छन् भने चौथो तहमा विभिन्न प्रकारका झारपात र घाँसहरु पाइने गरेको शर्माको भनाइ छ । नेपालमा रहेका वनमा नभेटिएका (अभिलेख नभएका) २० प्रजातिका रूखहरु यो वनमा पाइएको वन स्रोत अध्ययन तथा कार्य समूह (फरेष्ट एक्सन) नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उष्ण र उपोष्ण दुवै खालका हावापानीमा पाइने वनस्पति यो वनमा भेटिएकोले जलथल वनको विशेषता छुट्टै रहेको शर्माले बताए ।

विभिन्न प्रजातिका रूखहरुको सम्मिश्रणका कारण नेपालका अन्य वनभन्दा जलथलको वन भारतको पश्चिम बङ्गाल आसामसँंग बढी मिल्ने हुँदा यसलाई अन्य वनभन्दा पृथक् मान्न सकिने शर्माको दाबी छ । जलथलको वन पूर्वी एशियासँंग मिल्दोजुल्दो रहेकाले पनि यो वनको विशेषता पृथक् रहेको बताइन्छ । वनमा २ सय ३० प्रजातिका चराचुरूङ्गी, २८ प्रजातिका स्तनधारी, ३२ प्रजातिका सरिसृप र १४ प्रजातिका उभयचरको बासस्थान रहेको प्रतिवेदनमा उल्लेख छ ।  वन क्षेत्रभित्र रहेका झिल, खाडी, खोलाखोल्सीमा गरिएको सर्वेक्षणमा ४३ प्रजातिका माछा, १ सय ५७ प्रजातिका पुतली भेटिएको प्रतिवेदनमा उल्लेख छ । यहाँ नेपालको कालो गरूड र सुन गोहोरोजस्ता संरक्षित वन्यजन्तु पनि रहेका छन् ।

अजिङ्गरको बासस्थान, नेपालबाट लोप भएको अनुमान गरिएको मुसे मृगसमेत यो वनमा पाइने गरिएको छ । जलथल वनमा ४७ प्रजातिका जङ्गली फलफूल (लटर, वन सुपारी, वन सुन्तला, कुसुम, जमुना, क्यामुना, फडिर, अर्चल, खन्यू, अमारो आदि) पाइने गरेको छ । त्यस्तै १७ प्रकारका सागपात (निगुरो, मरङ्गे, कुकुरदाहिने, जिब्रीसाग, मुजुरखुट्टे, थाकल आदि) पाइने गरेको छ । त्यसैगरी ३५ प्रकारका जडिबुटीहरुमा हर्राे, बर्राे, अमला, कुरिलो, सर्पगन्धा, अर्चल, पिप्ला, मधु पाइने गरेको तथ्याङ्कमा उल्लेख छ । वनमा ५ प्रकारका कन्दमूल, ३५ प्रकारका काठ, ६८ प्रजातिको डालेघाँस, ८० प्रकारका च्याउ, ६ प्रजातिका रेसादार, धर्म संस्कृतिसँंग सम्बन्धित १४ प्रकारका वनस्पति जस्तैः पारिजात, बर, पीपल, काप्रो, टोटेलो पाइने गरेको छ ।

वन क्षेत्रभित्र २२ वटा सामुदायिक वन
जलथल वन क्षेत्रभित्र २२ वटा सामुदायिक वन रहेका छन् । जसले यो वनको समुदायस्तरबाट रेखदेख र संरक्षण गर्दै आएका छन् । झापा र मोरङमा मात्रै देखिएको घोप्टे काँडा र उल्टा काँडा भनिने मिचाह प्रजातिले यो वनलाई प्रभावित पारेको फरेस्ट एक्सन नेपालकी मुना भट्टराईले जानकारी दिइन् । परापूर्वकालदेखि चारकोसे झाडीका नामले परिचित जङ्गल कचनकवलदेखि करिब १० किलोमिटर उत्तरसम्म अवस्थित थियो ।

तर, पञ्चायतको पुनर्बास कार्यक्रम सुरू भएसँंगै वि. सं. २०२१ सालपछि वन फँडानीका कारण जलथल वन खुम्चिएको स्थानीय विन्देश्वर राजवंशीले बताए । वि. सं. २०२१ सालअघि पृथ्वीनगरदेखि बनियानीसम्म फैलिएको थियो । जैविक, भौगोलिक, पारिस्थितिक प्रणालीका हिसाबले विशेष पर्यावरणीय सेवा, स्थानीय जीविकोपार्जनका हिसाबले अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि जलथल वनको उचित व्यवस्थापन हुन नसकेको मनकामना सामुदायिक वन समूहका अध्यक्ष तुलसी ढकालले बताए । वनको खण्डीकरणसँगै बढेको हात्ती–मानव द्वन्द्व जलथल वनका लागि जटिल चुनौतीको रुपमा देखापरेको ढकालको भनाइ छ ।

झापामा वनक्षेत्र अत्यन्त न्यून छ । भौगोलिक दृष्टिकोणले जिल्लाको कुल क्षेत्रफलको १२ प्रतिशत अर्थात् १९ हजार ५ सय हेक्टर क्षेत्रफल वनले ओगटेको छ । कुल वन क्षेत्रमध्ये नेपाल सरकारले व्यवस्थापन गरेको वन क्षेत्र ३ हजार ५ सय १६ दशमलव २१ हेक्टर रहेको छ भने ५९ वन उपभोक्ता समूहले व्यवस्थापन गरेका वनको क्षेत्रफल १५ हजार ८ सय ७० दशमलव ७३ हेक्टर रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताए ।

झापामा दुई वटा कवुलियत वनले १ सय १३ दशमलव शून्य ६ प्रतिशत भू–भाग ओगटेको अध्यक्ष भण्डारीको भनाइ छ ।चारकोसे वन नेपाल–भारतको दशगजा सीमानजिकै रहेको हुँदा भारतीय नागरिकको समेत वन चोरी पैठारीमा संलग्नता रहने गरेकाले वि. सं. २०५४ सालमा सामुदायिक वन उपभोक्ता महासङ्घको पहलमा २२ वटा सामुदायिक वन उपभोक्ता समिति गठन गरी वन संरक्षणको सुरूवात भएको सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका पूर्व अध्यक्ष छत्र पौडेलले बताए । नेपालको मध्य र पश्चिमी भेगमा नपाइने वनस्पति लटहर यहाँ पाइने हुँदा यो वन विशिष्ट खालको मान्न सकिने शर्मा बताउँछन् । ‘वनमा दुईवटा मात्र लटहरका रूख छन् ।

तर, छरिएको अवस्थामा लटहर रहेकाले यसलाई वन नै भन्न मिल्ने अवस्था छ’ शर्माले भने, ‘लटहर दक्षिण–पूर्वी एशिया (भूटान, भारत, बङ्गलादेश, दक्षिण चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनाम, थाइल्याण्ड मलेसिया) सम्म फैलिएको यो प्रजाति नेपालको पश्चिमी भागमा पाइँदैन । अझ कोशी नदी पश्चिममा यो प्रजातिको रूख नपाइने हुँदा सम्भवतः नेपालमा जलथलबाहेक अन्यत्र रहेका वनमा यो प्रजातिको रूख छैन ।’ नेपालमा नै सबैभन्दा ठूलो लटहर हुने वन जलथल नै रहेको शर्माको दाबी छ ।

धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण
जलथल वन जैविक विविधताले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । वन क्षेत्रभित्र किचकबध, कमलधाप बहुधार्मिक क्षेत्र, दूधकन्यादेवी मन्दिर, स्वर्गद्वारी शिवालय/किरात माङ्हिम, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, लक्ष्मीथान मन्दिर, साकेलाजस्ता धार्मिक महत्व बोकेको क्षेत्र रहेको स्थानीय अगुवा देवीका अधिकारीले बताइन् । नेपालका मात्र नभई दक्षिण एशियाकै दुर्लभ वनस्पति पाइने जलथल चारकोसे वनमा सरकारले ध्यान नदिँदा यसको संरक्षणमा समस्या देखिएको छ । राज्यले संरक्षण गरेर वनको विविधताका बारेमा जानकारी गराउँदै खोज र अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुको सट्टा सरकारी निकायको बेवास्ताका कारण वन विनाशको बाटोतर्फ लागेको स्थानीयको भनाइ छ ।

चोरी र तस्करीका कारण वन क्षेत्रमा पाइने दुर्लभ वनस्पति तथा वन्यजन्तु लोप हुने खतरा रहेको वन क्षेत्रमा कार्यरत अनुसन्धानकर्ताहरुको भनाइ छ । वन संरक्षणका लागि स्थानीय तहसँंगै सङ्घीय सरकारले निश्चित बजेट विनियोजन गरेर संरक्षणका साथै प्रचार–प्रसार गरेमा वन र वन्यजन्तुको अनुसन्धानसँंगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने स्रोतकर्ताको दाबी छ ।

स्थानीय तहबाट मात्रै सम्भव नहुने
यता हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले वनको महत्व स्थानीयलाई बुझाउँदै वनको संरक्षणसंँगै पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरेर लाने योजना अघि बढाएको बताए । तर, स्थानीय पालिकाबाट मात्रै सम्भव नहुने भएकोले सङ्घीय सरकार र वन तथा वातावरणका क्षेत्रमा क्रियाशील दातृ निकायको समेत ध्यान जान जरूरी रहेको अध्यक्ष लिङ्देनको भनाइ छ ।