मोरङको विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था  गरिएको छ। प्रतियोगिताको सबै तयारी पूरा भएको गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्। गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए। 

अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ। नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका (ए) डिभिजन क्लबसँग सहभागिताका लागि समन्वय भइरहेको छ। 

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो। गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो। विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।