भोजपुरको विकट गाउँमा आमाले चलाएको होटल व्यवसायबाट प्रेरित गीता राई (शेर्पा) धरानमा उम्दा व्यवसायी बनेकी छन्। बुबा मचिन्द्र र आमा जितकुमारी राईले चलाएको गाउँले होटल नै उनका लागि व्यवसायको ‘कखरा’ बन्यो । त्यही कखरा आज आएर पाठशालामा परिणत भएको छ।

२०५३ सालमा पढ्नका लागि धरान झरेकी गीताले २०६३ सालबाट एक लाख रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरेकी हुन्। शृङ्गार प्रसाधन (कस्मेटिक) सामग्रीको व्यवसाय थालेकी उनी अहिले धरानमा स्थापित व्यवसायी बनेकी छन्। ‘गाउँमा पढ्ने स्कुल थिएन, पढ्नका लागि धरान आको थिएँ’ उनले भनिन्, ‘त्यो बेला धरान ठूलो सहर लाग्थ्यो।

शिक्षा सदनबाट एस.एल.सी. दिएकी थिएँ। पछि कलेज पढ्दै व्यवसाय थालेकी हु ।’ सुरु–सुरुमा व्यापार गर्दा प्रशस्त घाटा भोगे पनि जीवनमा कहिल्यै हरेस नखाएको उनी बताउँछिन्। ‘व्यापारमा नाफाघाटा त भइरहने रहेछ, तर कहिल्यै हरेस खानुहुन्न’–उनी सुनाउँछिन्।

IMG_20240328_160800

त्यही शृङ्गार प्रसाधनको व्यवसायलाई २०६९ सालमा वृद्धि गरिन्। आठ लाख रुपैयाँ लगानी गरी भानुचौकको गोर्खा कम्प्लेक्समा ‘दावा गुन्जन कलेक्सन’ सञ्चालनमा ल्याइन्। व्यवसाय वृद्धि गर्न उनलाई श्रीमान् दानर्बु शेर्पाले हौसला तथा प्रेरणा दिए। ‘श्रीमान्को हौसला र प्रेरणाले पनि मलाई व्यवसायमा जम्न सजिलो भयो’–उनी सुनाउँछिन्।

अहिले उनको  पसलमा विभिन्न ब्रान्डका सौन्दर्य प्रसाधनका सामग्री पाइन्छन्। त्यस्तै विभिन्न जातीय पोसाकका लागि चाहिने सामग्रीहरू पनि बिक्री गर्छिन् । कुनै समय ग्राहकको प्रतीक्षामा बस्ने गीताको त्यो विवशता अहिले अन्त्य भएको छ । ‘अहिले त दुवैजनालाई भ्याई नभ्याई हुन्छ’–उनी भन्छिन्। 

धेरै युवाहरू विदेशको मोहमा तानिँदा पनि यी जोडीलाई त्यो मोहले कहिल्यै तानेन। ‘नेपालमै केही गर्ने सोच राखेर श्रीमान्लाई पनि विदेश नपठाएको हो’–उनी भन्छिन्।

उनको पसलमा ढाकाको सारी, टोपी, कोट, चौबन्दी चोलो, मफलर, लेहेङ्गा, गाउनलगायत राई, लिम्बू, तामाङ, शेर्पा, नेवार, क्षेत्री, गुरुङका जातीय पोसाक पाइन्छन्। उनीहरू आफैमा स्वरोजगार छैनन्। ११ जनालाई रोजगारी दिएकी छन्।

IMG_20240323_182925

‘गहना बनाउन तीन जना कालीगड छन्, त्यस्तै लुगा सिलाउन दुई जना छन्’ उनी भन्छिन्, ‘बाँकी छ जना यहाँ खटिन्छन्।’ भौतिक व्यापार मात्रै हैन, युग सुहाउँदो अनलाइन व्यापार पनि गरेका छन्। अनलाइनमा अर्डरअनुसारको सामग्री पठाउने गरेका छन्।

दानर्वु भन्छन्, ‘खट्न र गर्न सके नेपालमै धेरै रोजगारीको सम्भावना छ तर, नेपालीहरू नेपालमा बसेर केही हुँदैन भन्दै विदेश जान्छन् ।’ गीता थप्छिन्, ‘सामान्य लगानी गरेर आफ्नै देशमा काम गर्ने सोच बनाए विदेशमा लाखौँ रुपैयाँ डुबाउनु पर्दैन।’ उनले व्यापारबाट चाँडै मुनाफा खोज्ने नेपालीको संस्कारप्रति टिप्पणी गर्दै भन्छिन्, ‘चाँडै नाफा हुन नसके पनि निरन्तरता दिनसके विस्तारै आम्दानी हुन्छ । मेरो १३ वर्षको व्यापारबाट सिकेको अनुभव यही हो ।’ उनी थप्छिन्, ‘यहाँ विदेशको भन्दा कम छैन।’ उनको पसलबाट पूर्वका सहरसँगै युके, हङ्कङ, सिङ्गापुर, जापानसम्म सामग्री पुग्ने गरेको छ ।