कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन्।
पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो।
सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही चैत ३ गते भएको आगलागीबाट २३ घर जलेर नष्ट भएका थिए। सन्थालहरु बस्दै आएको सो सुकुम्बासी बस्तीका नागरिकले दैनिकरुपमा ज्याला मजदुरी गरेर गुजारा गरिरहेका छन्।
पीडितसँगको भेटमा मुख्यमन्त्री कार्कीले सो समुदायका नागरिकलाई जग्गा उपलब्ध गराउने कामको अग्रसरता लिन स्थानीय तहलाई आग्रह पनि गरेका छन्। उनीहरुलाई जग्गा उपलब्ध गराउन सकिएमा सबैको सहयोग र समन्वयमा स्थायी बास निर्माण कार्य थालिने उनको भनाइ छ।