सुनसरीको इटहरी उपमहानगरपालिकाले टेङग्रा खोलामा करिडोर निर्माण अभियानलाई तीव्रता दिएको अवस्था छ । गत मङ्गलबारदेखि सुरू भएको अभियानले एउटा रुप धारण गर्ने अनुमान गर्न थालिएको छ । यसक्रममा खोला क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य अगि बढाएको छ । यस क्रममा हालसम्म १९ वटा घरहरु भत्किएको समाचारहरु बाहिरिएका छन् । यसले कम्तीमा पनि करिडोरले मूर्तता पाउने आशा राख्न सकिन्छ । तर, जबसम्म टेङ्ग्रा खोला अतिक्रमण गरी निर्माण गरिएका अन्य भौतिक संरचना पूर्णरुपमा नष्ट गरिँदैन, तबसम्म विश्वास गरिहाल्ने आधार चाहिँ छैन । किनकि धेरै योजना तथा अभियानमा राजनीतिक दलहरु बाधक बनिँदै आएका छन् । खोलामा जुन हिसाबले डोजरहरु चलिरहेका छन्, त्यसले इटहरी भविष्यमा नमुना बन्छ भन्ने आधार तयार चाहिँ गरेको छ । खोला क्षेत्रलाई संरक्षण गरेर उक्त खोलालाई नै पर्यटनको आकर्षण बनाएर जाने हो भने इटहरीको भविष्य उज्यालो देखिन्छ । छोटो समयमा इटहरीले आफूलाई कोशी प्रदेशमा स्थापित गरेको छ । चौरास्ता भएको र ठूला राजमार्गहरुले छोएका कारणले पनि इटहरीले चाँडै नै मुहार फेरेको अवस्था छ । अहिले व्यापारिक हब, शिक्षाको हब बन्दै गइरहेको अवस्था छ ।
इटहरीका आदिवासी थारुहरुको ‘सहर’ हो । तर, अहिले यो सहर तीव्र बसाइँसराइका कारणले गर्दा अनेकन जातजातिको थातथलो बनेको अवस्था छ । थारु जातिको परम्परागत मूल्यमान्यताहरु विस्तारै शिथिल भएको अवस्था छ । त्यसलाई ब्यूँताउनका लागि नगर सरकारले प्रयास गर्नुपथ्र्यो तर त्यतातर्फ उति ध्यान गएको अवस्था छैन । अहिले करिडोर निर्माण गर्नका लागि इटहरी नगरप्रमुख हेमकर्ण पौडेलले जुन प्रयास गरिरहेका छन् त्यसले कालान्तरमा इटहरीलाई दीर्घकालीन फाइदा दिने निश्चित छ । करिडोरसँगै यसलाई पर्यटनको मुख्य आधार बनाउन सकिन्छ । त्यसका लागि गुरूयोजनाहरु तयार गर्न आवश्यक छ । अहिलेबाटै कस्तो मोडालिटीमा तयार गर्ने, पर्यटकहरुलाई कस्तो सेवासुविधा प्रदान गर्ने ? आदि जस्ता विषयलाई अहिलेबाटै सोच्न आवश्यक छ । एउटा मार्गचित्र निर्माण गरी काम गर्दा त्यसले दीर्घकालीन फाइदा मात्रै पु¥याउँदैन । भविष्यमा निर्वाचित भएर आउने जनप्रतिनिधिका लागि पनि आधार तयार हुन्छ । त्यसका लागि नगर सरकारको अभियानलाई सबै जनप्रतिनिधिहरुले साथ दिन आवश्यक छ । सत्कर्मका लागि सबैको साथसहयोग रहेमा मात्रै मूर्तता पाउँछ । त्यसले भविष्य निर्माण गर्नका लागि सहज हुन्छ ।
यस करिडोरमा निर्माण भएका भौतिक संरचनाहरु हटाउने प्रयास चाहिँ महत्वपूर्ण हो । किनकि खोलाको जग्गा अतिक्रमण गरी ७६ वटा पक्की संरचनाहरु निर्माण गरिएको देखिन्छ । जसमध्ये ६४ वटा संरचनाहरु नक्सा पासविनै निर्माण भएका छन् । नक्सा पास भएर निर्माण भएकाहरुले के कति आधारमा नक्सा पास लिए भन्ने विषय खोज्ने बेला आएको छ । किनकि खोला अतिक्रमण गरी निर्माण गरिएका संरचना नक्सा पास भए पनि अवैध रुपमा बनेको भवन नै मान्नुपर्ने हुन्छ । नक्सा पास हुनु र नहुनुसँग यसले सरोकार राख्दैन । सरोकारको विषय चाहिँ खोला अतिक्रमण गरिनु हो । यसकारण पनि खोला अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनालाई हटाएर इटहरीको भविष्य निर्माण गर्नु चाहिँ महŒवपूर्ण हो । करिब २० वर्षको जनप्रतिनिधिविहीन अवस्थामा धेरै नकामहरु भएका छन् । त्यस्ता नकामहरुलाई अहिलेका जनप्रतिनिधिहरुले खोजी गर्न आवश्यक छ । सार्वजनिक जग्गामा निर्माण भएका भौतिक संरचना, निजी भवनहरु वा अन्य प्रयोजनका लागि निर्माण भएका संरचनाहरुलाई खारेज गरेर जानुपर्छ । अन्यथा भोलिका अवस्थामा थप समस्या निम्तिन सक्छ । इटहरीले गर्न लागेको योजना एउटा नगरप्रमुखको योजना मात्रै होइन, त्यो नगरको योजना हो भनेर सबैले सम्झिदिने हो भने काम गर्न सजिलो हुन्छ । यसका लागि सबैले वातावरण बनाई एउटा स्पष्ट खाका कोर्न सबै इटहरीवासी लाग्नुपर्छ ।