नेपालमा कुम्भ मेलाको जग हालिएको आज ३५ वर्ष पूरा भयो । उक्त जगमा इटा थप्न थालिएको २२ वर्ष । यो अवधिलाई तिथिले २४ वर्ष पुर्यायो । र, दोस्रो पूर्ण महाकुम्भ वराहक्षेत्रको चतराधाममा २०८० चैत्र २७ गते मंगलबारदेखि सुरुवात भयो ।
कुम्भ मेलाको सुरुआत २०४५/४६ सालमा पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, पण्डित मेघराज शर्मा, कवि मान बज्राचार्यलगायतले गरेको तथ्य पाइन्छ । सो तथ्यलाई पूर्व प्रम रिजालकी बुहारी इन्दिरा रिजालले मंगलबार महाकुम्भ मेलाको उद्घाटन सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल र जगदगुरु बालसन्तकै अगाडि मन्चबाटै अभिव्यक्त गरिन् ।
यहाँ सन्दर्भ कुम्भ मेला कसले लगाउन सुरु गर्यो भन्ने होइन । यो बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाले के सन्देश दिन खोजेको हो ? भन्ने मूल विषय हो । कुम्भको पुनर्जागरण जगदगुरु बालसन्तले गरेका हुन् । जसले प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भका रुपमा निरन्तरता पाउँदै आएको छ । चर्चाको विषय कुम्भ मेला कस्तो हुनुपर्छ ? वा कुम्भको सन्देश के हो भन्ने विषय हो ।
कुम्भ मेला समुद्घाटनमा जे देखियो
बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला औपचारिक रुपमा हिजो मंगलबार चैत्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर समुद्घाटन गरे । त्यसको एक दिनअगाडि कुम्भ आयोजक समितिले जगदगुरु बालसन्तको नेतृत्वमा चतराबाट पिण्डेश्वर धरान हुँदै चतरासम्म कलश यात्रासहितको परिक्रमा गर्यो । कलश यात्रामा सहभागी हुन कुम्भका सहअध्यक्षसहित रहेका बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले सर्वसाधारणमा त आह्वान गरे, उनको आह्वान प्रभावकारी भएन । चतरा बजारका सर्वसाधारणसम्म पनि उनले बोलेको भिडियो पुगेन । उनले प्रत्येक घरमा एउटा गमला र कलश राख्न आह्वान गरेका थिए । तर जानकारीको अभावमा वा किन हो चतरावासीले कलश यात्राको शोभा बढाउने विषयमा जानकार हुन सकेनन् ।
कलश यात्रामा मात्र जगदगुरु बालसन्त पीठका केही भक्तजन, जनप्रतिनिधि र कुम्भ समितिका पदाधिकारी उपस्थित भए । यहाँका चतुष्सम्प्रदायसहितको सामूहिक कलश यात्रा देखिएन । यो कलश यात्राले कुम्भको रोनकलाई प्रतिबिम्बित गर्न सकेन ।
कुम्भको उद्घाटन सत्रमा मन्चमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला, जगदगुरु बालसन्त, मुख्यमन्त्री केदार कार्की र जगदगुरु बालसन्तको सम्प्रदाय 'निम्बार्कचार्य' का दुईतीन धर्मगुरु बाहेक कोही देखिएनन् । जनप्रतिनिधिहरु, सांसदहरु, नगरप्रमुखहरु, उच्चपदस्थ कर्मचारीहरु मञ्चभन्दा तल देखिए । मुख्य कार्यक्रम सञ्चालकले औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अघि नै उनीहरुलाई यथास्थानमै आसनग्रहण गराइएको थियो । मञ्चमा आसन ग्रहण गराउन नमिल्ने 'प्रोटोकल' को नाम दिइए पनि मुख्य कुरा चतराधामका 'निम्बार्कचार्य' सम्प्रदायका साधुसन्तबाहेक अन्यलाई आमन्त्रण नै गरिएको थिएन ।
कुम्भ मेलाको आयोजक र अध्यक्ष स्वयम् जगदगुरु बालसन्त हुन् । यही चतराधाममा उनैले स्थापना गर्न प्रोत्साहित गरेका अन्य सम्प्रदायका जगदगुरु, पीठाधीश, मठाधीश, महामण्डलेश्वरहरुलाई कुम्भ मेलामा आतिथ्यताका लागि होस् वा धार्मिक अनुष्ठान सन्चालनका लागि निम्ता होस्, आमन्त्रण गरिएन ।
रामानन्दाचार्य सम्प्रदायका जगदगुरु अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य यहीँ छन् । शङ्कराचार्य मठका ९१ वर्षीय श्री १०८ स्वामी रामेश्वर गिरीज्यू यहीँ छन् । अद्वैत संस्था संरक्षण मञ्च नेपालका वराहक्षेत्र र जनकपुरधामका पीठाधीश पुरुषोत्तमाचार्य महानन्द सरस्वती यहीँ छन् । औलिया बाबा चतरा गद्दीका कारोबारी महन्त विनायक पुरीसमेत कुम्भको औपचारिक कार्यक्रममा देखिएनन् ।
भूवराह रामानुज, बैङ्कटेश्वर मन्दिर, अर्चना बाबा धामलगायतका मठाधीशलाई कुम्भ मेलामा निमन्त्रणा नै गरिएन । खासमा यो कुम्भ मेलाले सन्देश के दिन खोजेको हो । जानकार अचम्मित छन् ।
निष्प्रभावी समिति
कुम्भ मेला व्यवस्थापनका लागि मूल समितिले दुई दर्जन बढी समितिहरु निर्माण गर्यो । तर अधिकांश समिति बेकामे देखिए । उनीहरुले काम गर्न नसकेर होइन । मूल समितिको अव्यवस्थाका कारण तीनले काम पाएनन् । अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरका साधुसन्तको आमन्त्रणका लागि निर्माण भएको 'राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्त, महन्त स्वागत तथा आवास व्यवस्थापन समिति' ले के काम गर्यो, कसैलाई थाहा भएन । समितिको संयोजक भेषराज घिमिरेलाई तोकिएको थियो । उनी बेपत्ता बने ।
आर्थिक समितिका संयोजकले 'समितिले काम गर्न नसक्ने' भएपछि राजीनामा दिए । उनका स्थानमा नयाँ संयोजक तोकियो । त्यस्तै घिमिरे सम्पर्कविहीन भएपछि सन्त महन्त स्वागत समितिको जिम्मा मनोज पौडेलले लिए । ढिला गरी समितिको जिम्मा लिएका उनले आमन्त्रण गरिसकेका सन्त, महन्तको व्यवस्थापनमा लागे । ककसलाई आमन्त्रण गरियो/ गरिएन उनीसमेत बेखर छन् । सन्तहरुको आपसी विवाद र अनमेलको विषय 'कुम्भ' मा चर्चा गर्न बान्छनीय नहुने उनको ठहर छ । 'कुम्भ मेला' भन्ने बित्तिकै सबै सम्प्रदायको साधुसन्तहरुको उपस्थिति हुनुपर्नेमा उनी विश्वस्त छन् । तर काम भने त्यस्तो देखिएन ।
जगदगुरु बालसन्त बराबर वा उनीभन्दा माथिका अन्य सम्प्रदायका जगदगुरु, पीठाधीश, मठाधीशलाई किन आमन्त्रण गरिएन ? यद्यपि उनीहरु यहीँ चतराधाममा छन् ? यसको उत्तर 'समितिले जिम्मेवारी पूरा गरेन' भन्नुभन्दा अर्को कुनै उम्किने ठाउँ छैन । अथवा भन्नु पर्यो, कुम्भ मेलाको गरिमा राख्न सकिएन ।
के हो कुम्भ मेला ?
कुम्भलाई ज्ञान, वैराग्य र भक्तिको महापर्वका रूपमा लिइन्छ । यो सयौं शिविरबाट प्राप्त हुने, धार्मिक माहोलका बीच ग्रहण हुने अनुपम यज्ञ, मन्त्र, पौराणिक काव्य, प्रार्थना, साधुसन्तको उपदेश, भजन, कीर्तन, धार्मिक नृत्य–कृत्यले सुसज्जित र मनमोहक हुन्छ । अखाडाहरूको यात्रा, झाँकी, हात्तीघोडा, गीतसङ्गीत, वाद्यवादन, नागासन्तको उपस्थिति, शाहीस्नान, खेलकुद, दौड आदिले लाखौं भक्तहरूलाई आकर्षित गरिरहेको हुन्छ ।
यहाँ गरिब र असहायको भरणपोषण हुन्छ । धर्मसम्प्रदाय र अखाडा एकीकृत हुन्छन् । पवित्र मन र पुण्यको भावनाले भक्ति गर्न आएका भक्तहरूको आकर्षण, सङ्कट, पापमोचन, दान, गोप्यदान, पितृउद्धारलगायत पवित्रता प्राप्त गर्ने महापर्वका रूपमा रहन्छ ।
जसरी कुनै एउटा पसल वा दोकानलाई बजार भन्न सकिँदैन । त्यसरी नै एउटा सम्प्रदायको गतिविधि र उपस्थितिलाई मात्र 'कुम्भ' भनिंदैन/ भन्न हुँदैन । कुम्भ हुनलाई भारतमा कम्तिमा १ हजार बढी पन्थ/ सम्प्रदाय र नेपालमा न्युनत्तम १ सय बढी पन्थ/ सम्प्रदाय वा धार्मिक आस्थाहरुको उपस्थिति त हुनु पर्ला नि?
त्यसै पनि हाम्रो मुलुक र मुलुकवासी बहुआयामिक मान्यताको अनुसरण गर्दछौं । कर्मकाण्ड मात्र नभई हामी विभिन्न शक्ति उपासक, ध्यानी, योगी, उपकारक, उपचारक, धामी, झाँक्री, वैद्य, विजुवा, थानीलगायत १२५ बढी आदिवासी जनजातिको आआफ्नै मूल्यमान्यता, उपचार र उपकारका मौलिक पद्धति छन् । नेपालको कुम्भ मेला यी हाम्रा मौलिक पद्धतिसँग जोडिन आवश्यक छ । यी बहुआयामिक सम्प्रदाय र मान्यतालाई 'कुम्भ' ले जोड्न सकेन । हिन्दू धर्मसँग नजिकको सम्बन्ध रहेका बौद्ध र किरात धर्मकासमेत विविध धार्मिक, सांस्कृतिक मान्यता र चालचलन छन् । फरक देवता मान्नेहरुको फरक आस्था र सम्प्रदाय हुन्छ । त्यस्ता धार्मिक विधाहरुमा वैष्णव, शैव, शाक्त र स्मार्त पर्दछन् । यी सबै सम्प्रदाय र पन्थहरु एकीकृत हुन आवश्यक छ । यसरी कुम्भ एउटा सम्प्रदायमा खुम्चिने हो भने कुम्भको गरिमा मुलुकले राख्न सक्ला ? सच्चिने र सच्याउने समय घर्किएन र?